काठमाडाैँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ऊर्जामन्त्री खड्काले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा समेत आफू संलग्न रहेको भनेर समाचार प्रकाशन भएकोप्रति आपत्ति जनाउँदै आफ्नो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिने घोषणा गरेका हुन् । केही सञ्चारमाध्यमहरुले आफूले राम्रो काम गर्न लागेको देखेर भ्रम पैदा गर्न गलत समाचार प्रकाशन गरेको उनकाे जिकिर छ ।
उनले पित पत्रकारितामा रमाउन नहुने भन्दै यसले पुस्तौँसम्म असर पर्ने बताए । सत्यतथ्य भए तत्काल कारबाही अघि बढ्ने भन्दै गलत कुरा गरेर आफ्नो पेट पाल्नेतिर नलाग्न सञ्चारमाध्यमलाई आग्रह गरे ।
मन्त्री खड्काले भने, ‘काम गर्ने सिलसिलामा भर्खरै सञ्चारमाध्यममा राष्ट्रिय सञ्चारमाध्यममा पनि मेरो नाम जोडेर अत्यन्तै गलत साचार संप्रेषण गरेको पाइयो । काम गर्ने सिलसिलामा यस्तो हुने होला की साँच्चै हो ? यो पित पत्रकारितामा रमाउनु हुँदैन । म पत्रकारिता गर्ने साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु । सत्यतथ्य भए त उतिखेरै अगाडि बढ्न सकिहालिन्छ नि । त्यसका लागि त म पुरस्कारै दिन चाहन्छु । कसैले प्रमाणित गरिदिन्छ, सत्यतथ्य ल्याउन सक्छ भने म पुरस्कार पनि दिन चाहन्छु । यस्तो गलत कुरा गरेर पेट पाल्ने कुरातिर लाग्नु हुँदैन । यसले देशलाई नोक्शानी गर्दछ । तपाईं आफैँ पनि ठगीनुहुन्छ । एकछिन रमाएर हुँदैन । पुस्तौँलाई नोक्शानी गर्दछ । केही गर्नखोज्यो की गर्न खोज्ने मान्छेहरुकाप्रति यस्तो गरेर लुटामार चलिरहने, यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’