काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरु पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन् ।
मंगलवार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् । उनले वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरुका समस्या समाधान नगरेकाले सडक आन्दोलनमा जान बाध्य भएको बताए ।
पुस २७ गते निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्ने योजना रहेको जानकारी दिँदै उनले भेलामा ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरु रहने बताए ।
सिंहले भने, ‘वर्तमान परिवेशमा निर्माण क्षेत्र अत्यन्तै सकसमा छ । पौष २६ गते निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्नेछौँ । यो भेला निर्माण क्षेत्रको समस्या समाधानको लागि आन्दोलनको रुपमा लैजान पनि सकिन्छ । ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरुसहित भेला हुने छ । आन्दोलित भएर सडकमा जानुपर्ने अवस्था आएको छ । सरकारका सबै निकायहरु सबैलाई जानकारी दिएका छौँ । सिमेन्ट उद्योगीहरुले उत्पादनलाई कटौती गरेर कालोबजारी गरेर ५ सय रुपैयाँ रहेको सिमेन्टको मूल्य आज ७७० रुपैयाँसम्म पुर्याएको छ । त्यो विषयमा पनि आन्दोलित भएका छौं ।’
उनले सकसमा रहेको निर्माण क्षेत्र सिमेन्ट उद्योगीहरुले उत्पादनलाई कटौती गरेर मूल्यमा गरेको कालोबजारीले थप मारमा परेको बताए । सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य ५ सयबाट ७७० रुपैयाँसम्म पुर्याएको उनकाे भनाइ छ ।