बर्दिया । बर्दियामा पछिल्लो समय जंगली जनावरको चहलपहलसहित आक्रमण बढेको छ । दिनदहाडै सडकमै बाघ निस्कन थालेपछि स्थानीय त्रसित छन् । बर्दियाको मधुवन नगरपालिका १ मा पर्ने पत्थर भोजीगाउँ चारैतिरबाट जंगल र नदीले घेरिएका कारण यहाँका स्थानीयले सधै जंगली जनावरको त्रास भोगिरहेका हुन् ।
बर्दियामा बाघ लगायत जंगली जनावरको संख्या बढदै जाँदा जंगल आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीय सधै त्रासमा बाँच्न बाध्य छन् । एक सय ३६ परिवारका स्थानिय बसोबास गर्र्दै आई रहेको पत्थर भोजी गाउँ दक्षिणमा नेपाल भारत करिडोरसँग, पुर्वमा सामुदायिक बनसँग, पश्चिममा कर्णाली नदी र उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्जको बफरजोनसँग जोडिएको छ ।
चारै तिर जंगल पर्ने पत्थरभोजी गाउँमा सरकारले बाघ लगायत जंगली जनावरको संख्या बढाउँदा स्थानीय भने आफुहरु दिनरात त्रासमा बाच्नु परेको गुनासो गर्छन् । बाघ, चितुवा लगायतका बन्यजन्तुले स्थानीयले पालेका बाख्रा कुखुरा बंगुर लगायत खाएर समेत हैरान पार्ने गरेको छ ।
जंगली जनावरका कारण सबैभन्दा जोखिमपुर्ण गाउँको रुपमा रहेको पत्थरभोजीमा सुरक्षा दिन गाउँको किनारबाट ईलेक्ट्रीक तार जडान गरिएको छ । तर यतिले मात्रै जनावरको आतंक रोक्न पर्याप्त नभएको स्थानीयले बताए ।
जंगली जनावरबाहेक वर्षातको समयमा बाढी र डुबानको समस्याबाट पनि यहाँका स्थानीय पीडित छन् । बर्दियामा आर्थिक बर्ष २०८०\०८१ मा मात्र चितुवाको आक्रमणमा परि ३ र बाघको आक्रमणमा परि १ जना गरी ४ जनाले ज्यान गुमाएका थिए । त्यस्तै आर्थिक बर्ष २०८१\०८२ को ६ महिनामा हात्तीको आक्रमणमा परि १ जना र गैडाको आक्रमणमा २ जनाले ज्यान गुमाएका छन् ।
गत बर्षमात्र बर्दियामा करिब ८ विगाह जनिममा लगाएको अन्नबाली पनि जंगली जनावरले नष्ट पारेको डिभिजन बन कार्यालय बर्दियाले जनाएको छ । प्रदेश सरकार र संघिय सरकारले रकम उपलब्ध नगराएका कारण अहिलेसम्म किसानलाई क्षतिपुर्ति दिन नसकेको वन कार्यालयको भनाइ छ ।
जनावरको आक्रमणबाट भएको क्षतिले पत्थरभोजी गाउँका बासिन्दाको जनजीवन असुरक्षित मात्रै बनेको छैन वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्दै जाँदा जनावरको प्राकृतिक बासस्थान तथा मानवीय क्षतिका घटनाहरु पनि बर्सेनि बढ्दै गइरहेको छ ।