News 24 Television
सरकारले नसुनेको गगनको आवाज ! अपनत्वमा कांग्रेसको चुक !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक–पटक भनिरहेका छन, जनताले देखे सुनेका सबै भ्रष्टाचारका प्रकरणको अनुसन्धान गरौं । तर, सरकारले यस्ता विषयलाई प्राथमिकतामा भने राखेको देखिन्न । गगनले गर्ने यस्ता टिप्पणीलाई पार्टीले किन अपनत्व लिन चाहेको छैन त ? 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पहिलेदेखिनै सुशासनको पक्षमा आवाज उठाइरहेका छन् । उनले विभिन्न प्रकरणमा अनुसन्धानमा जोड दिनुपर्ने भनिरहेपनि उनको आवाजको सुनुवाई भने सरकारले गरेको देखिन्न । 

केहि समय पहिले नै उनले कांग्रेस एमालेका नेताहरुमाथि लागेको गम्भीर आरोपको छानविन गर्नुपर्ने बनेका थिए । त्यसमा थिए, कांग्रेस उसभापति धनराज गुरुङ र एमालेका सांसद ऋषिकेश पोखरेल । 

गगनले कांग्रेस होस वा अन्य जोसुकै नेता नै किन नहोस्, अनुसन्धान गर्नुपर्ने आवाज उठइरहेका छन् । सुशासनको प्रत्याभूति गराउन नसके देश नबन्ने दाबी गर्दै आएका उनले राजनीतिक प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिदै फेरि जनताले देखे सुनेका सबै प्रकरणको अनुसन्धान गर्दै सुशासनको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन् । 

कांग्रेस महामन्त्रीले यस्तो माग गरिरहेपनि सरकारले भने ध्यान दिएको छैन् । यता, एमालेले भने लोकप्रिय र जनताको पक्षमा काम गर्न थालेपछि घेराबन्दी शुरु भएको दाबी गर्दै गठबन्धनप्रतिको बफादारिता बढाउनुपर्नेमा जोड दिएको छ । 

गठबन्धनलाई टिकाउनुपर्ने र असफल हुने छुट नभएको दुबै दलका नेताहरुले भनिरहेका  छन् । तर, सरकारको काम प्रभावकारी हुन नसकेको पनि गुनासो व्याप्त छ । गठबन्धनलाई बलियो बनाउनुपर्ने आवाज बलियो बनेपनि कांग्रेस नेता मीनेन्द्र रिजाल भने फरक मत राख्छन् । 

उनले कांग्रेस एमालेको गठबन्धन बनेपनि जनतामा सकारात्मक सन्देश जान नसकेको भन्दै कसरी सत्तामा जाने भन्नेबाहेकको ध्यान जान नसकेको दाबी गरिरहेका छन् । 

यसरी अनेक फण्डा र विवाद चलेपनि सुशासनको पक्षमा काम गर्नुपर्ने आवाज समेत उठ्न थालेका छन् । जनतामा शंकाको रुपमा रहेका धेरै प्रकरणहरुको निष्पक्ष अनुसन्धान हुन नसक्दा जनतामा निराशा समेत छाएको छ । गगनले भनेजस्तै सबै प्रकरणको अनुसन्धानमा प्रहरीलाई प्रोत्साहित गर्दै हस्तक्षेपलाई शुन्यमा मात्रै झार्ने हो भनेपनि यसले धेरै विषयको समाधान भने निकाल्ने देखिन्छ । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update