News 24 Television
पश्चिम नेपालमा महाभूकम्पको जोखिम, पाँच सय वर्षदेखिको शक्ति सञ्चय

काठमाडौं । नेपाल–चीन सीमानजिकै हिमाली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहानको शक्तिशाली भूकम्पपछि पश्चिम नेपालतिर हेरेर भूकम्पविद्हरु चिन्तित बनेका छन् । 

भूकम्पको भविष्यवाणी गर्न सकिँदैन तर, पश्चिम नेपालको भूसतहमुनि भूकम्पीय शक्ति सञ्चय भइरहेकामा चासो र चिन्ता बढेको छ । नेपालमा २ म्याग्निट्यूड भन्दा बढीका झन्डै १० वटा भूकम्प दैनिक रूपमा जाने गरेका छन् । 
मंगलबार एकाबिहानै काठमाडौंसहित पूर्वी नेपालमा महसुस गरिएको भूकम्पको ठूलो झड्काले धेरैको सातो लियो । २०७२ सालको विनाशकारी भुकम्प भोगेकै कारण पनि अधिकांश काठमाडौंबासी आत्तिँदै सडकमा निस्किए । 

यति मात्रै होइन, स्नातक तहको परीक्षा पनि १५ मिनेटलाई स्थगित गर्नुप¥यो । शुरुमा नेपालकै कुनै जिल्ला केन्द्रबिन्दु बनाएर भुकम्प गएको अनुमान गरिएपनि यो भूकम्प चीनको स्वायत्त क्षेत्र तिब्बतको सिगात्से शहरलाई केन्द्रविन्दु बनाएर गएको थियो । उक्त तिब्बती शहरको दक्षिणमा नेपालको संखुवासभा र ताप्लेजुङ छन् भने दक्षिणपूर्वमा भारतको सिक्किम पर्छ । 

त्यसपछि पनि ४ म्याग्निच्युड भन्दा धेरै वा थोरै दुई सय भन्दा धेरै पराकम्पहरू गइसकेका छन् । पटकपटक कम्पनका कारण ठूलो भूकम्पको जोखिम रहेको भन्दै सर्वसाधारणमा त्रास पैदा भएको छ । तर, भूकम्पको भविष्यवाणी गर्न नमिल्ने भूकम्पविद्हरू बताउँछन् । पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

तर ठूलो भूकम्पको चिन्ता भने पश्चिम नेपालतिर रहेको भूकम्पविद्हरु बताउँछन् । पश्चिम नेपालमा ५ सय वर्षभन्दा लामो अवधिदेखि ठूला भूकम्प नगएको विज्ञहरूले बताउँदै आएका छन् । 

पश्चिम नेपालमा पछिल्लो पटक सन् १५०५ मा महाभूकम्प गएको थियो । पाँच शताब्दी पहिले गएको भूकम्पले कहाँ र कस्तो असर पारेको थियो भन्ने अभिलेख भने छैन । भारतीय उपमहाद्वीपको भूगर्भको चट्टानको तह उत्तरतिर सरेर यूरेशिएन प्लेटमा धसिइरहेका कारण सिङ्गो हिमालय क्षेत्र भूकम्पीय जोखिममा रहेको विज्ञहरूको भनाई छ । 

सन् २०२२ नेभेम्बरदेखि २०२५ जनावरी ५ सम्म कर्णाली र सुदुर पश्चिम प्रदेशमा मात्रै ३ हजार ६ सय बढि भूकम्प गएको छ । 

सर्वसाधारणले थाहा नपाएपनि ४ म्याग्नीच्युडभन्दा तलका १० भन्दा बढी भूकम्प दैनिक रुपमा जाने गरेका छन् । भूकम्पविद्हरका अनुसार यस्ता साना भूकम्पहरु जति बढी गयो उति नै सञ्चित शक्ति कम हुन्छ । 

त्यसैले साना भूकम्पबाट डराउनु नपर्ने तर ठूलो भूकम्पको सतर्कता भने अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । पश्चिम नेपालमा महाभूकम्प नै निम्त्याउन सक्ने शक्ति जमीनमुनि सञ्चय भएर बसिरहेकाले सिगात्से शहरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले थप चिन्तित बनाएको छ । 

त्यसैले यस्ता ठूला भूकम्पबाट क्षति हुन नदिनका लागि पूर्व सतर्कता अपनाउन जरुरी छ । जसका लागि सुरक्षित भवन र संरचना निर्माण, बसोबासलाई सुरक्षित बनाउनु बाहेक अर्को विकल्प छैन ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update