काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्यपालन गरेर अघि बढ्न खेलकुद संघहरुलाई निर्देशन दिएका छन् । मंगलवार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई दिँदै उनले उक्त निर्देशन दिएका हुन् ।
खेलकुदमा दर्ता भएका संघहरुले देशको ऐन, कानून नमान्ने र अदालतको आदेश नमानेकाे गुनासाे गर्दै मन्त्री चौधरीले अनुशासन र नियम पालना गर्नुपर्ने बताए । जित्नैपर्ने मानसिकताबाट मात्रै सफलता हात पार्न नसकिने भन्दै उनले देशको ऐन, कानून र नियमावलीअनुसार खेलकुद संघहरु चल्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रा संघहरु, खेलकुदमा दर्ता भएको संघहरु हाम्रो देशको ऐन नमान्ने, हाम्रो देशको कानून नमान्ने, अदालतको नियम, कानून नमान्ने । अनि त्यो संघहरु, त्यो संस्थाहरुलाई एग्रिसिप भएर जसरी पनि जित्नैपर्ने मानसिकताबाट त्यो सफलता प्राप्त गर्न सक्दैन । हाम्रो देशको ऐन, कानून छ । नियमावली छ, साथै अदालतको निर्देशन छ । फैसला छ । त्यसअनुसार गर्दिन मैले आग्रह गर्न चाहन्छु । जसरी खेलकुदमा नियम, अनुशासनले अघि बढ्छ, त्यसरी नै संघहरु पनि अनुशासन र आफ्नो कर्तव्य पालन गरेर अघि बढ्न आग्रह गर्न चाहन्छु ।’
बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एशियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरे । मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताए । उनले महिला फुटबल नेपालमा धेरै पुरानो खेल नभएको बताउँदै केही समय पहिलासम्म धेरै मन पराउने खेलमा फुटबल रहे पनि अहिले क्रिकेटले समेत त्यत्तिकै माहोल बनाइरहेको बताए ।