News 24 Television
विद्यार्थीले घरको काम गरे नम्बर पाइने ! कसरी हुन्छ कार्यान्वयन ?

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्र आगामी शैक्षिक सत्रदेखि बालबालिकाले घरमा गर्ने जुनसुकै कामलाई शिक्षासँग जोडेर मूल्यांकन गर्ने तयारीमा जुटेको छ । शिक्षालाई गरिखाने शिक्षा बनाउनुपर्छ भन्ने बहस चल्दै आएको बेला परिमार्जित पाठ्यक्रम बालबालिका केन्द्रित हुने सुन्दा सामान्य लाग्छ । तर, यसको कार्यान्वयन झन्झटिलो  हुने त होईन ? यो मुल विषय बनेको छ । 

पाठ्यक्रम विकास केन्द्र आगामी शैक्षिक सत्रदेखि बालबालिकाका लागि पाठ्यक्रम परिमार्जनको तयारी गरेसँगै यसबारे विभिन्न कोणबाट बहस, विमर्श शुरु भएका छन् । अब नयाँ पाठ्यक्रम अनुसार विद्यार्थीले खेतबारीमा काम गरे, घाँस काटे, खाना पकाए, लुगा धोए, सरसफाई गरे, खेतबारीमा काम गरे, भाईवहिनीको हेरचाह गरे, बजारमा किनमेल गर्न अभिभावकलाई सहयोग गरे पनि परीक्षामा नम्बर पाउने छन् । 

बालबालिकाले घरमा अभिभावकसँगै काम गर्दा सिकाइस्तरमा वृद्धि हुने र चौतर्फी विकासमा सकारात्मक प्रभाव पर्ने विभिन्न अध्ययनहरुले पनि देखाएका छन् । त्यसलाई पनि मध्यनजर गर्दै आन्तरिक मूल्यांकनको विधिलाई परिवर्तन गर्ने निर्णयमा सरकार पुगेको हो । परिमार्जित पाठ्यक्रम बालबालिका केन्द्रित हुने भएपनि यसको प्रभावकारी कार्यान्वयनमा भने शंका र प्रश्नहरू उठ्न थालेका छन् । तर, विद्यार्थीहरूले अनुभवबाट नै सिक्ने भएकाले उनीहरूले श्रमको सम्मान गर्ने शिक्षा क्षेत्रका जानकारहको बुझाई छ । 

कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुन्छ । कक्षा ९ देखि १२ सम्म २५ को आन्तरिक र ७५ को बाह्य परीक्षा हुन्छ । आन्तरिक मूल्याङ्कनमा केही अंक छुट्टाएर घरको कामलाई नम्बर दिन लागिएको केन्द्रले जनाएको छ । तर, यसको कार्यान्वयन पक्षमा चुनौती रहेको प्रधानाध्यापकहरूले पनि औल्याएका छन् । शिक्षकले विद्यार्थीको काम गरेको रेकर्ड राखेर मात्र हुँदैन, अभिभावकसँग पनि समन्वय गर्नुपर्छ । यसका लागी शिक्षकलाई नै प्रत्साहन गर्नुपर्नेमा प्रधानाध्यापकहरूको जोड छ । 

पाठ्यक्रम कार्यान्वयन गर्दा विद्यार्थीले नगरेको कामलाई पनि गरेको भन्ने सम्भावना धेरै हुने भएकाले उचित ढंगले मूल्यांकन हुनुपर्ने भने देखिन्छ । यद्दपी, पढेको मान्छेले घरको काम गर्नुहुँदैन भन्ने भाष्य निर्माण भएका बेला घरको कामलाई शिक्षासँग जोड्दा सकारात्म नतिजा ल्याउनेमा उनीहरू ढुक्क छन् । 

विद्यार्थीले पढ्ने भनेको किताब वरिपरिको मात्र हो भन्ने परिपाटी रहेका बेला नयाँ पाठ्यक्रमले श्रमलाई सम्मान गर्न र सिप विकास गर्नेमा दुईमत छैन । तर, यसको कार्यान्वयन फितलो भएका उनीहरूको मनोबल थप कमजोर बन्न सक्छ । यसतर्फ पनि सचेत रहन आवश्यक छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update