
काठमाडौँ । नेकपा एमालेको आठौं केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी नै रहेको छ । पार्टी भित्रको गुट, नेताहरुको कारबाही र माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुको व्यवस्थापनको विषयमा बैठकमा गरमागरम बहस चलिरहेको छ । पार्टी अध्यक्षदेखि अन्य पदाधिकारीले नै पार्टीमा गुटबन्दी गर्ने गरेकोदेखि पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन खोजिएको बिषय जोडतोडले उठेको छ ।
नेकपा एमालेको आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल–बहस चलिरहेको छ । छलफलमा भाग लिएका नेताहरुले पार्टी कार्यालय बनाउँदा विवादित व्यवसायीबाट जग्गा दान लिएको विषयदेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन लागिएको विषय जोडतोडले उठाइरहेका छन् । उनीहरुले विवादित ब्यापारीबाट जग्गा दान लिएको विरोध गर्ने नेताहरु माथिको कारबाहीले पार्टीलाई कमजोर बनाउने टिप्पणी गरेका छन् ।
पार्टी अध्यक्ष र पदाधिकारीहरुले बनाएको गुट संघ, प्रदेशदेखि स्थानीयतहको वडासम्म विस्तार भएको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरेका छन् । माओवादी केन्द्रबाट आएका नेताहरुको जिम्मेवारीका विषयमा केन्द्रीय सदस्यहरुले आवाज उठाएका छन् । बैठकमा पार्टीको नेतृत्वमाथि मात्रै नभएर अन्य नेताहरु माथि पनि गुटका आधारमा खुइल्याउने तथा कमजोर बनाउने गरेको, पार्टीमा गणेश प्रवृत्ति हावी भएको तथा कतिपयले कामको मूल्यांकन नभएको गुनासो पनि गरेका छन् । पार्टीमा मौलाएको अराजक प्रवृतिको मलजल उपल्लोतहबाटै भएको भन्दै त्यसको अन्त्य हुनुपर्नेमा बलियो मत देखिएको छ ।
एमालेमाथि चौतर्फी प्रहार भइरहेको बेला नेतृत्वले सकेसम्म विवादमा आउने खालका काम गर्न नहुने पनि केन्द्रीय सदस्यहरुको सुझाव छ । सरकारको नेतृत्व गर्दा जनअपेक्षा अनुसार काम गर्न नसकेको कुरा पार्टी अध्यक्षको प्रतिवेदनमा उल्लेख भएपनि त्यसलाई जनमैत्री बनाउनका लागि पार्टीबाटै ठोस योजना बनाउनु पर्ने सुझाव केन्द्रीय सदस्यहरुको छ । केहीले पार्टी कारबाहीमा परेका नेताहरुको कार्वाही फुकुवा गर्नुपर्नेमा पनि जोड दिएका छन्
एमालेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी तथा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन माओवादीको सक्रिय राजनीतिमा आउन खोजिरहेका छन् । पूर्व उपराष्ट्रपछि पुन माओवादी केन्द्रीय समितिको पछिल्लो बैठकमा उपस्थित नै भएका छन् । तर पूर्व राष्ट्रपति भण्डारी भने सक्रिय राजनीतिमा आउन खोजेको भनी भ्रमपूर्ण प्रचार गरिएको नेता भानुक्त ढकालको भनाई छ ।
बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले जनतामा पार्टीको छवि राम्रो नदेखिएको, पार्टीले नेता कार्यकर्ताको संरक्षण गर्न नसकेको, गुटका आधारमा चुनावको टिकट दिने गरिएकोबारेमा पनि केन्द्रीय सदस्यहरुले आलोचना गरेका छन् । सबै केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रम नसकिएकोले बैठक थप दुई दिन लम्बिने भएको छ ।