News 24 Television
रविलाई छुटाउन जोडतोड बहस, के–के भयो इजलासमा ? 

कास्की । संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी छ । सोमबारदेखि रवि लामिछानेको पक्षका कानून व्यवसायीहरूको बहस शुरु भएको हो । यसअघि, प्रतिवादी लीला पछाईं र छविलाल जोशी पक्षका कानूनी व्यवसायीहरूले बहस गरेका थिए । 

संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सोमबारदेखि शरु भएको छ । अन्य प्रतिवादीका हकमा शुक्रबारदेखि नै जिल्ला अदालत कास्कीमा थुनछेक बहस शुरु भएकोमा सोमबारदेखि रविको पालो आएको हो । रविकातर्फबाट सोमबार तीन जना वकिलले बहस गरेका छन् । दुईजना  पूर्वमहान्यायाधिवक्ताहरु  सुशिल पन्त र रमनकुमार श्रेष्ठले सोमबार रविको तर्फबाट बहस गरे । त्यसअघि रविकै तर्फबाट सुरेन्द्र थापाले पनि बहस गरेका थिए । उनीहरू तीनै जनाले रवि निर्दोष रहेको दाबी गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राख्न नमिल्ने जिकिर गरेका छन् । 

सुनुवाई जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा हेर्दाहेर्दैमा छ । सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानून व्यवसायीले यस मुद्दामा मंगलबारदेखि बहस गरेका थिए भने, प्रतिवादीतर्फका कानून व्यवसायीले शुक्रबारदेखि थुनछेक बहस गरेका थिए । थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।  

सभापति लामिछानेसहित यस मुद्दामा मुछिएका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । सोमबारदेखि सुरु भएको रवि लामिछानेको पक्षको बहस पैरवीमा मुख्यतया ४ वटा विषय उठेका छन् । मङ्गलबार पनि विभिन्न विषयमा बहस जारी रहने छ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको   छ । यता रवि लामिछाने विरुद्ध जाहेरी माथि जाहेरी दर्ता भएको, जुन उच्च सरकारी वकिलको कार्यालयबाट आदेश नआई अनाधिकृत रूपमा मुद्दा दर्ता भएको आरोप लामिछाने पक्षका कानुनी व्यवसायी सुरेश कुमार पोखरेलको छ ।

रास्वपा सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै, लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेसँगै अहिले उनी कास्की हिरासतमा छन् । 
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update