काठमाडाैँ । नेकपा (एमाले) को पार्टी केन्द्रिय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा अध्यक्ष ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको उल्लेख गर्दै अहिलेसम्म ५६ जना केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखेको बताए ।
बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अधिकांश केन्द्रिय सदस्यहरुले सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहेको बताए । उनका अनुसार पार्टीभित्रका कुनै पनि गुटबन्दीहरु पार्टीले सहन नहुने र त्यस्ता आशयका गतिविधिहरु भएको खण्डमा पार्टीले निगरानीमा राख्नुपर्नेमा केन्द्रिय सदस्यहरुले जोड दिएका छन् ।
उनले पार्टीलाई सवलिकरण गर्न तथा पार्टी र जनताको सम्बन्धलाई सुदृढ बनाउनका लागि वडा केन्द्रित संगठन अभियान सञ्चालन गर्न प्रश्तुत भएको कार्ययोजनालाई कार्यान्वयनका लागि केही समस्याहरु देखिएको पनि बताए ।
गौतमले भने, ‘बैठकमा आजपनि पार्टी अध्यक्ष्ज्युले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि नै छलफलको क्रम जारी छ । अहिलेसम्म ५६ जना नेताहरुले आफ्नो राय राख्नुभएको छ । मुलतः सरकारको प्रभावकारितार पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहनु भएको छ । दोस्रो कुरा, पार्टीभित्रका कुनैपनि गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कँही पनि गुटगत आशयका गतिविधिहरु भएभने त्यसलाई पार्टीले निगरानीमा राख्नुपर्छ । पार्टीमा विचारात्मक, सैद्धान्तिक कार्यक्रमको आधारमा कुनैपनि मत भिन्नता छैन । आफ्नो इन्ट्रेस्ट पुरा गर्नका निम्ति विभिन्न स्वार्थ समूहहरु बनाएर पार्टीको नेतृत्व खासगरि अगामि निर्वाचनका लागि वडा, पालिका र प्रदेशमा केही पदको लागि गुटबन्दी बनाइरहेको आभाष हुन्छ । तर विचारधारात्मक र संरचनात्मक रुपमा पार्टीमा कुनै गुट छैन । यस्तो चिजलाई निर्मुल बनाएर पार्टीलाई एकढिक्कामा बनाउनुपर्छ । यसका लागि पार्टी स्कुलिङमा जिल्ला तहसम्म जानुपर्छ भन्ने विषयमा विषेश जोड दिइरहनुभएको छ । तेस्रो विषय पार्टीलाई आधारभुत विषयमा सवलिकरण गर्न, पार्टी र जनताको सम्बन्धलाई सुदृढ बनाउनका लागि वडा केन्द्रित संगठन अभियान संचालन गर्न प्रश्तुत भएको कार्ययोजनालाई कार्यान्वयन गर्ने कुरामा हामी कहाँ नीति बनाउने कुरामा, कार्यक्रम बनाउने कुरामा भुमिका खेलेका छौं । तर कार्यान्वयनमा केही समस्याहरु छन् । त्यसको कार्यान्वयनका लागि जिल्ला र प्रदेशका पार्टी इन्जार्जहरुलाई निर्देशन गरेर त्यो कार्यान्वयनमा जोड दिने र पार्टीको नेतृत्वलाई दिइएको जिम्मेवारी पूरा भए नभएको अनुगमन गर्ने लगायतका सन्दर्भमा धारणाहरु आइरहेका छन् ।’
बैठकमा अधिकांश केन्द्रिय सदस्यहरुले पार्टी सुुदृढिकरणका लागि संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राखेको उनको भनाइ छ ।