News 24 Television
गगनको गेम फेरि ‘प्लेइङ’मा, सत्ता र प्रतिपक्षलाई नै छिर्के !

काठमाडौं । नेपाली राजनीतिमा युवा नेतृत्वप्रति आशा राखिएका नेतामा महामन्त्री गगन थापा पनि एक मानिन्छन् । तर उनको भूमिका र अभिव्यक्तिप्रति बेलाबखत काँग्रेसी कार्यकर्ता र अन्य दलकै नेताहरुबाट प्रश्न उठ्ने गरेको छ । बाह्य पार्टीहरुबाट टिप्पणी र आलोचना खेप्ने गरेपनि उनमा युवा पङ्तिको भरोसा भने अझै कायम छ । यद्यपि उनका कतिपय अभिव्यक्तिहरु मुल नेतृत्वको मर्मविपरित हुने गरेका देखिन्छन् ।

वर्तमान सत्ता गठबन्धन कायम हुँदै गर्दा गगनले सत्ता नेतृत्वमाथि ‘थ्रेट’ हुने अभिव्यक्ति दिने गरेका थिए । त्यो बेला प्रधानमन्त्री ओलीमाथि गगनले ढाडस दिनुको साटो आपत्तिका अभिव्यक्ति दिने गरेको पाइन्थ्यो । 

सार्वजनिक मञ्चमै गगन काँग्रेसकै भरोसामा सरकार ठडिएकोले प्रधानमन्त्री ओलीले आफूखुसी कदम चाल्न नसक्ने र सहयात्राका क्रममा काँग्रेस संसदको पहिलो ठूलो दल भएको भनेर विर्सन नहुने भन्दै चर्का अभिव्यक्ति दिने गर्दथे । तर बीचमा गगन पार्टीले नै लिएको रणनीतिलाई स्वीकार गर्न आइपुगे । र, सन्तुलित अभिव्यक्ति दिन थाले ।

लयमा आउँदा गगनका अभिव्यक्ति यस्तो 

 काँग्रेसको मूल नेतृत्वले नै सत्ता गठबन्धन निर्माण गरेपनि त्यसको सहजै स्वीकार नगरेका गगन केही महिनापछि भने पार्टीकै धारमा आएका थिए । सुरुका दिनमा प्रतिपक्षीकै आवाज  बोल्ने गगन काँग्रेस–एमाले समीकरणको केही महिनापछि भने गठबन्धनको पक्षपोषणमा लागे । र, संविधान संसोधनको संयन्त्र नै बनाउन लागेको घोषणा गरे । 

यतिमात्रै होइन, प्रधानमन्त्रीको चीन भ्रमणताका सत्तामै किचलो देखिएको बिआराई सम्झौताको विषयमा मझधारको रणनीति बनाउनमा गगन पनि सक्रिय भए । बिआराईको सम्बन्धमा एमालेसँग काँग्रेसको मत भिन्नता प्रष्ट औँल्याउने गगन गठबन्धनलाई सम्हाल्नका लागि प्रमुख भूमिकामा रहे । यसमा सत्ताको खटपट जोगाउ बिआरआईबारे साझा धारण बनाउन गगनै कस्सिए । 

जसले बीआरआईकै कारण गठबन्धनमा खटपट हुन पाएन । यसका अलावा निरन्तर सत्ता संरक्षणमा रहेका गगन सत्ता भत्काउन अनेक प्रयत्न भएपनि आफूहरु वर्तमान समीकरणकै पक्षमा रहेको जिकिर गर्दै आएका छन् । 

यद्यपि पछिल्लो समय भने  गगनले सत्ता र प्रतिपक्ष दुवैलाई छिर्के हान्ने अभिव्यक्ति दिन थालेका छन् । पछिल्लो समय मुलुकमा भ्रष्टाचारका काण्ड र यसमाथिको अनुसन्धानको विषयमा बाक्लै छलफल र बहस हुने गरेको छ । यो अवस्थमा गगनले भने मझधारको अभिव्यक्ति दिने गरेका छन् । 

उनका पछिल्ला अभिव्यक्तिहरु सत्तारुढ दलहरु काँग्रेस–एमाले र प्रतिपक्षी दल माओवादीप्रति पनि निशाना नै देखिन्छ । गगनले पछिल्ला केही कार्यक्रमहरुमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरुबारे छलफल गर्न नै प्रस्ताव अघि सारे । 

सिधा आर्थमा गगनले माओवादी अध्यक्ष प्रचण्डको नाम जोडिएका क्यान्टोनमेन प्रकरणदेखि प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेसकै नेतृत्व मुछिनसक्ने ललिता निवास जग्गा तथा गिरिबन्धु टि स्टेटको जग्गा प्रकरणसम्मका सबै भ्रष्टाचारका काण्डहरुको फाइल खोल्नुपर्ने धारणा राख्दै आएका छन् । 

गगनका अनियमित अभिव्यक्ति किन ?

गगन पछिल्लो समय सुशासन स्थापनासँगै स्थायित्वका लागि संविधानको बाधाहरु फुकाउनुपर्ने विषयलाई सार्वजनिक बहसको रुपमा अघि ल्याउनुपर्ने लाइनमा छन् । साथै पार्टीको आन्तरिक विषयमा पनि गम्भीर छलफल गरिनुपर्ने तर त्यो पनि हुन नसकेको गगनको निश्कर्ष छ । यही बीच गगन पार्टीको ‘स्ट्रेन्थ’ काँग्रेसीहरुले नै बुझ्न नसकेको निश्कर्ष पनि दिने गरेका छन् । 

हुनत काँग्रेस केन्द्रीय कार्यसमितिको कार्यकाल सकिनै लागेको अवस्था छ । यो अवस्थामा काँग्रेसको आगामी नेतृत्व कस्ले लिने ? भन्नेमा पनि अन्योल नै छ । गगन पनि  आउँदो महाधिवेशनबाट नेतृत्वमा पुग्ने आकांक्षा बोकेका नेतामै पर्छन् । 

सुरुका दिनमा गठबन्धनको मर्म विपरित अभिव्यक्ति दिएपनि सभापति शेरबहादुर देउवाको समर्थन पाउने अपेक्षामा गगनले बीचमा सरकार र सत्ता गठबन्धनकै बचाउ गरेका थिए । यद्यपि पछिल्लो समय महाविवेशनको अनिश्चितता र देउवाबाट अपेक्षित समर्थन नपाउँने संकेतका कारण पनि गगनले पुनः अभिव्यक्ति परिवर्तन गरेको हुनसक्ने आशंका गर्न सकिन्छ । जसका कारण गगन सत्ता नेतृत्व र सिंगो गठबन्धनप्रति नै निशाना साँध्न थालिसेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update