News 24 Television
प्रविधिबाट ठगी बढेपछि साइबर ब्यूरोलाई चिन्ता

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन ठगीका घटनाहरू पनि तीव्र रूपमा बढिरहेका छन् । विभिन्न प्रलोभन, नक्कली अफर र भ्रामक सन्देशमार्फत सर्वसाधारणलाई फसाउने गरिएको छ ।  

बैंकको नाममा फोन वा इमेल गरेर व्यक्तिगत विवरण माग्ने, नकली अनलाइन सपिङ साइटमार्फत पैसा ठग्ने वा सामाजिक सञ्जालमार्फत मित्रता कायम गरी आर्थिक सहयोग माग्ने घटनाहरू सामान्य बनेका छन् । 

अनलाइन सुविधासँगै जोखिमको केन्द्र पनि बन्दै गएको छ । मानिसहरू घरमै बसेर बैंकिङ, किनमेल र मनोरञ्जन गर्ने प्रविधिमा रमाइरहँदा ठगहरू भने सामाजिक सञ्जाललाई फसाउने जालको रूपमा प्रयोग गरिरहेका छन् । 

नक्कली अफर, आकर्षक लटरीको बाहाना, र तुरुन्त पैसा कमाउने योजना मार्फत ठगी गर्नेहरू दिनहुँ थप चतुर बन्दैछन् । सामाजिक सञ्जालमा दोस्ती गरेर विश्वास जित्ने वा नक्कली वेबसाइटमार्फत बैंकिङ विवरण माग्नेजस्ता क्रियाकलाप अब नयाँ कुरा रहेन । 

यसको पुष्टि साइबर ब्यूरोको तथ्यांकले नै गरेको छ । साउनयता मात्रै साइबर अपराधका ३ हजार ६ सय १ उजुरी परेको छ भने ५० करोड रुपैयाँ ठगी भएको छ । 

गत आर्थिक बर्ष २०८०\८१ मा ३४ करोड ७२ लाख १५ हजार रुपियाँको अनलाइन ठगी भएको थियो । अनलाइन माध्यमको बढ्दो प्रयोगसँगै सुरक्षा सतर्कतामा ध्यान कम हुँदा ठगीका घटना बढ्दै गएको पाइएको छ । 

त्यसमा पनि शिक्षित व्यक्तिहरू नै सामाजिक सञ्जालमार्फत ठगिने हुँदा अनलाइन ठगी थप जटिल बन्दै गएको प्रहरीको भनाई छ ।

अझ, केही दिनयता विभिन्न सामाजिक सञ्जालहरू, डिजिटल वालेट कम्पनी, बैंक तथा वित्तीय संस्थाबाट बोलेको भन्दै अपरिचित नम्बरबाट फोन र म्यासेज गरी प्रलोभनमा पारेर ठगी गर्ने काम भैरहेका भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनलाइन ठगीबाट जोगिन सबैलाई सचेत गराएको छ । 

यस्ता कार्यमा हालसम्म ५ सय भन्दा बढी फोन नम्बरहरु सक्रिय भएको हुँदा अपरिचित नम्बरहरुबाट आएका फोन तथा मेसेजहरु नउठाउन तथा रिप्लाई नगर्न पनि सिआइबीले सचेत गराएको हो । 

पछिल्लो समय पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको पाँच लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौँ रकम ठगी भएको विषयमा अनुसन्धान गरिरहेको सिआइबीले जनाएको छ । अनलाइनमार्फत हुने ठगी न्यूनीकरण गर्न सामाजिक सञ्जालको प्रयोगमासमेत व्यक्ति स्वयं चनाखो हुनुपर्ने देखिएको छ । 

अनलाइन अफरको सत्यता जाँच्ने, निजी जानकारी गोप्य राख्ने र शंकास्पद लिङ्क वा सन्देशबाट टाढा रहनुका साथै स्रोत विश्वसनीय हो वा होइन त्यसमा पनि सजग रहन आवश्यक छ । यस्ता ठगीहरूबाट जोगिन सजगता अनिवार्य छ । नागरिक स्वयम् सजग र सचेत रहन सकेसजिलै अनलाइन ठगीको जालबाट मुक्त रहन सकिन्छ ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update