काठमाडौं । अन्तराष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिती र कुटनीतिको अवस्था कमजोर बनिरहेको छ । विगतमा नेपालको अन्तराष्ट्रिय कुटनीति यति बलियो थियो कि सार्क राष्ट्रको स्थापना गर्नेदेखि विना सर्त नेपालमा विभिन्न देशबाट परियोजनाहरु सञ्चालन समेत भएका थिए ।
राष्ट्रप्रमुखको भ्रमणमा सम्बन्धित देशकै राष्ट्र प्रमुख स्वागत गर्न विमानस्थलमा आउथे भने, भ्रमण अवधिभर के गर्ने को भट्ने भन्ने सबै पूर्व तयारी हुन्थ्यो । तर अहिले परियोजना नेपालमा ल्याउँदा विवाददेखि छिमेकी मुलुकहरुसंग नै सम्बन्ध नै विग्रने सम्मको अवस्था सिर्जना भएको छ ।
२०२७ सालसम्म चीनसंग सीमा जोडिएका २७ नाकामा भारतीय फौज राखिएको थियो । ती नाकामध्ये कालापानी र लिपुलेकबाहेकका नाकाबाट राजा महेन्द्रले भारतीय फौजलाई हटाए ।
कुनैबेला भारतीय प्रतिनिधि मन्त्रिपरिषद्को बैठकमा नै बस्थे । त्यो पनि हट्यो । विस्तारै विदेशी कुटनीतिक सम्बन्ध राम्रो बन्दै गएको थियो । ठूला परियोजनादेखि पूर्वाधार निर्माणमा विदेशी दातृ निकायको सहयोग प्रशस्तै रह्यो ।
कुन कुन देशले के के बनाए ?
अमेरिकाको सहयोगमा हेटौंडा–काठमाडौं रोपवे, धनगढी–डडेलधुरा मार्ग, त्रिभुवन विश्वविद्यालयको सिनास र सेडाको भवन लगायत विभिन्न पूर्वाधार बने ।
चीनको सहयोगमा पृथ्वी राजमार्ग, गोरखा–नारायणघाट राजमार्ग, काठमाडौंको चक्रपथ, हेटौंडा कपडा उद्योग, काठमाडौं–भक्तपुर ट्रली बस, बाँसबारी छाला उद्योग, भृकुटी कागज कारखानासहितका परियोजना निर्माण भए ।
तत्कालीन सोभियत संघको सहयोगमा पथलैयादेखि ढल्केवर खण्ड, कृषि औजार कारखाना, वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना लगायतका परियोजनाहरु निर्माण भए । जापानले कुलेखानी–उदयपुर सिमेन्ट उद्योग, बेलायतले बुटवल नारायणगढ र धरान धनकुटाको बाटो निर्माण गर्न सहयोग गरे ।
त्यो समयमा अमेरीका, चीन, सोभियत संघ, जापान, बेलायतको एक अर्कासंगको सम्बन्ध पनि राम्रो थिएन । तर नेपालले सबै राष्ट्रहरुलाई खुसी बनाउँदै परियोजना अगाडि बढाएर समपन्न पनि गर्याे ।
नेपालबाट विदेशमा सरकारका प्रमुखको भ्रमण हुँदा र उच्च पदस्थ अधिकारीहरुको भ्रमण हुदाँ भ्रमणको तयारी ६ महिनादेखि वर्ष दिन अगाडिबाटै हुन्थ्यो । के कुरामा सम्झौता गर्ने, स्वागत र सम्मान कस्तो हुने सबै बिषयमा छलफल र निर्णयपछि मात्रै भ्रमणतालिका स्विकृत हुन्थ्यो । तर अहिलेको परिस्थिति भने फरक छ ।
विदेशी प्रतिनिधिको उपस्थिति मन्त्रिपरिषद्मै नभए पनि भूराजनीति प्रभाव प्रत्यक्ष रुपमा नै हुने गरेको छ । अन्तर्राष्ट्रिय कुटनीतिमा पनि नेपालको कमजोर भुमिका देखिएको विज्ञहरु बताउँछन् ।
नेताहरुको कार्यकुशलता कमजोर भएकै कारण नेपालको कुटनीतिक क्षेत्र कमजोर बनेको छ भने राजदुत नियुक्ति गर्दा पनि क्षमतावान् व्यक्ति भन्दा पनि दलीय भागबण्डादेखि आर्थिक चलखेल प्रमुख कारक बन्ने गरेको छ ।
जसले गर्दा अन्तराष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति कमजोर बन्दै गएको छ । यस्तै, भारतको अरुचीका कारसन् २०१४ देखि हुन नसकेको सार्क शिखर सम्मेलन सम्पन्न गराउन नेपालले नेतृत्वदायी भूमिक खेल्न सकेको छैन ।
विज्ञहरुले नेपालको अन्तराष्ट्रिय क्षेत्रमा कुटनीतिक सम्बन्ध कमजोर बन्दै गएको विश्लेषण गरीरहदाँ कतिपय राजनीति दलका नेताहरु भने त्यो कुरा स्वीकार्न तयार छैनन् । बाहिर चर्चा भएजस्तो नेपालको कुटनीतिक सम्बन्ध कमजोर नभएको सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे दाबी गर्छन् ।
कुटनीतिक असफलताकै कारण नेपालमा भू–राजनीतिक प्रभाव बढ्दै गएको छ । त्यसैले दुई छिमेकी मुलुकदेखि अन्य विदेशी दातृ निकायहरुसँगको सम्बन्ध बलियो बनाई नेपालको समृद्धिका लागि पहलकद्मी लिन जरुरी छ ।