News 24 Television
सँगसँगै दीक्षित भएका आमा–छोरी 'ललिता र दीक्षा' !

काठमाडौं । सँधै खेल चलिरहने काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गएको शनिबार पनि कुनै खेल नै चलिरहेको हो भनेर धेरै झुक्किए । खेल हेर्न खचाखच हुने रंगशालामा दर्शक आँटीनआँटी थिए । साफ वुमन्स च्याम्पियनसिपमा ओइरिएको दर्शकझैँ, कीर्तिपुरको डाँडामा एनपीएल हेर्न झुम्मिएको दर्शकझैँ । तर, उक्त उपस्थित भीड कुनै खेल हेर्न उपस्थित भएका दर्शक थिएन । त्यो भीड त, गाउन र टोपी लगाएर वर्षाैँ पहिलादेखि तपस्याको फल प्राप्त गर्न चाहेका विद्यार्थीको संख्या थियो ।

हो, रंगशालामा खेल होइन त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह चलिरहेको थियो । १४ हजार ३ सय आठजना विद्यार्थी एकसाथ दिक्षित हुँदै थिए । सबैको मुहारमा खुसीको एउटै चमक थियो– ‘बल्ल सफलताको खुड्किलो पार गरियो ।’ 

सन्तानको त्यो सफलतमा अभिभावक (आमा–बुवा) पनि एकसाथ नहुने कुरै भएन । उनीहरु सन्तानसँग खुसीको अनुहारमा तस्वीर खिचाइरहेका देखिन्थे । 

सन्तानको सफलताको खुसीमा तस्वीर खिच्नु त्यति अनौठो होइन, तर अनौँठो तब भइदिन्छ जब कुनै अभिभावक (आमा) आफ्नै सन्तानसँग सँगै ग्र्याजुएट हुन्छ । सोही भीडमा थिए काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी निवासी ५१ वर्षीया ललिता उप्रेती रिजाल र उनकी छोरी दीक्षा रिजाल । 

अहिले आमा छोरीसँगै दिक्षित भएको तस्वीर र खबर सामाजिक सञ्जालमा भाइरल हुने क्रम जारी छ । यो खबर भाइरल हुनु कुनै आश्चर्य होइन, यो त जो कोहीलाई नयाँ प्रेरणा र पाठ पो हो ! नेपालीमा उखान छ नि– खाने मुखलाई जुंगाले छेक्दैन । 

हो, सम्बन्धले आमा छोरी हुनु एउटा पाटो होला, तर शिक्षाको ज्योतिले त्यो भन्दैन । शिक्षा अविच्छिन्न छ, सिक्ने जाँगर, हुटहुटी र संकल्प चाहियो । मतलब शिक्षाले आमा छोरी भन्दैन । यहिँ संकल्पको एउटा उदाहरण हो, रिजाल परिवार । ललिता गोकर्णेश्वर नगरपालिका ५ मा सञ्चालनरत रहेको टाइम लाइन स्कुलको सञ्चालकसमेत हुन् । उनले त्रिविबाट राजनीतिशास्त्रमा स्नातक गरेकी हुन् भने छोरी दीक्षाले ट्राभल एन्ड टुरिजममा स्नातक गरेकी छिन् । दीक्षाले एनसीटीटीएम कलेजबाट स्नातक तह उत्तीर्ण गरेकी हुन् । हाल दीक्षा एयर इन्डियामा कार्यरत छिन् ।

‘कसरी सामाजिक सञ्जालमा तस्वीर भाइरल भयो, अचम्म लागिरहेछ । पछि विभिन्न सोसल मिडियामा पनि समाचार पढेपछि आश्चर्यमा पर्यौँ,’ ललिता भन्छिन्, ‘जताततै भाइरल हुँदा खुसीसँगै हल्का लाज पनि लाग्यो । म त वर्षौँदेखिको सपना पूरा भएकोमा असीमित खुसी थिएँ । कोरोना नआइदिएको भए चाँडै दिक्षित हुनेरहेछु (हाँस्दै) ।’ 

अलि ठट्यौँली, अनि थोरै भावुकताका साथ ललितालाई प्रश्न– ‘छोरीसँगै ग्र्याजुएट हुँदा कस्तो अनुभव भइरहेको छ नि ?’

हाँस्दै ललिता आफनो अनुभव सुनाउँछिन्, ‘सुरुमा त कति खुसी खुसी नि । दिक्षान्तमा अरुले आमा छोरी भएको थाहा पाउँदा पनि खुसी लाग्यो । सामाजिक सञ्जालमा भाइरल भइन्छ भन्ने थाहै थिएन । छोरीलाई सँगै दिक्षित हुनुपर्छ है भनेकी थिएँ । छोरी पनि मसँगै दिक्षित हुन पाउँदा औँधी खुसी थिइन् । र, ठ्याक्कै भनेजस्तै नै भयो ।’ 

शिक्षामा महिलाको सहभागिता खै भन्ने तथ्यांक अब बद्लिएको छ । ललिताजस्ता आत्मविश्वासी, पढ्न उमेर होइन संकल्प चाहिन्छ भन्नेहरुको जमातले नै त्यो प्रश्नको गतिलो उत्तर दिएको छ ।  त्यसो त गोल्ड मेडल प्राप्त गर्नेमा छात्रभन्दा छात्रा धेरै रहेका छन् । २२ गोल्ड मेडालिस्टमध्ये १७ छात्रा र पाँच मात्रै छात्र छन् । अब, यो तथ्यांकले भन्छ–‘दिक्षान्तमा पुरुष गोल्डमेडालिस्ट खैँ ?’ कुनै जमाना महिलाले पढ्दा हेय दृष्टिले हेर्ने नेपाली समाजमा अहिले महिला नै टपर भएर उदाहरणीय बन्न पुगेका छन् । 

गोल्ड मेडालिस्ट हुनुको गौरव आफ्नै महत्व र खुसी छ । तर, ललिताका लागि दिक्षित हुनु नै गोल्ड मेडालिस्ट बन्नु हो । ‘१४ हजार ३ सयको माझमा उभिन पाउनु नै गोल्ड मेडालिस्ट भएको महसुस गरेँ । 

दिक्षित भएर भित्तामा गाउन र टोपी लगाएर खिचेको तस्वीर झुण्ड्याउनु नै मेरो संकल्प थियो । दिक्षित हुने दिन त खुसीको सीमा नै थिएन,’ यसअघि उनी भन्छिन्, ‘बिहानैदेखि आमा छोरी यति एक्साइटेड थियौँ कि कतिखेर पुगेर गाउन र ह्याट लगाउन पाइन्छ ?’ आमा छोरीको सफलतामा श्रीमान र छोरा खुसी नहुने कुरै थिएन । 

ललिताका लागि शिक्षा नै जीवनको आधार हो । शिक्षाबिना जीवनको आधार नै कल्पना गर्न नसकिने ललिताको अनुभवले भन्छ । ‘त्यतिबेला घर सम्हाल्दै खुरुखुरु अध्ययन गर्नुपथ्र्याै, तर विवाहपछि सोचेको कुरा नपाइने रहेछ । कृषि कर्ममा पनि होमिए । आफूले पढ्न नपाएको क्षणलाई सम्झिएर छोराछोरीलाई सक्दो पढाउन चाहन्थेँ । उनीहरुले पढे पनि, र निरन्तर पढिरहेका पनि छन् ।’ 

लिम्बू समुदायमा जन्मेर हुर्केकी ललिता ०४७ सालमा तेह्रथुम, आठराई (हाल गाउँपालिका) चुहानडाँडाबाट आइए पढ्न ०४८ को अन्तिममा काठमाडौं आइन् । सपनानगरी काठमाडौं आएपछि आइए अध्ययनका लागि बागबजारस्थित पिके कलेजमा भर्ना भइन् । त्यसपछि ०५४ मा स्नातक भर्ना । ०५५ मा प्रथम वर्ष अध्ययनकै क्रममा प्रेम विवाह । ०५६ सालमा छोरी दिक्षाको जन्म । र, आज उनै दिक्षासँगै ललिताको ग्र्याजुएट । सपनाजस्तै लाग्ने आमा छोरीको यो एउटा मीठो सफलताको कथा हो । 

नेपालीमा उखान छ नि– छोरीभन्दा आमा कान्छी (तरुनी) । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जिस्केर कुन आमा, कुन छोरी ? छोरीभन्दा आमा कान्छी भन्दा ललिता साँच्चै दिक्षित हुँदा त्यस्तै ‘फिल’ भएको अनुभव सुनाउँछिन् । अन्तमा उनलाई प्रश्न थियो– ‘दिक्षितपछि अब थप अध्ययन के गर्नुहुन्छ ?’ 

पढ्ने मनलाई केहीले नरोक्ने सुनाउँदै उनी भन्छिन्, ‘सम्भवतः स्नातकोत्तर अध्ययन गर्ने सोचमा छु । श्रीमानले जे गरे नि खुसी भन्नुभएको छ । छोराछोरीले त रोकटोक गर्ने कुरै भएन । झन् पढ्ने ऊर्जा थपिरहेका छन् ।’ ललिताका अनुसार पढ्ने नपढ्ने अब आफैँमा भर पर्छ ।

ललिता श्रीमानको अथक साथ नै सफलताको सिढी सुनाउँछिन् । यदि, श्रीमान् (नवराज रिजाल) नहुँदा हुन् त यो सफलता असम्भव हुन्थ्यो । उनी ती कठीन दिन स्मरण गर्छिन्, ‘बुढ्यौली उमेरमा पढ्ने हुटहुटी भएपनि शारीरिक हिसाबले निकै नै पनि अप्ठ्यारो हुने रहेछ । तर, श्रीमानले मलाई हर कदममा साथ दिनुभो । यदि, उहाँ नभएको भए यहाँसम्म आउन त सम्भव नै थिएन ।’ हुन पनि श्रीमान् होस् या श्रीमती, सफलताको पछाडि श्रीमती र श्रीमानको हात अनि साथ हुन्छ नै । 

व्यक्ति बन्नमा परिवारका हरेक सदस्यको हात हुन्छ । दीक्षा ललिताका लागि छोरी मात्र होइन शिक्षिका पनि बनिन् । ललिता मुस्कुराउँदै भन्छिन्, ‘उनी नै मेरो शिक्षक थिइन् । परीक्षा पनि उत्तीर्ण गराइन् । सम्बन्धले आमा छोरी तर, अध्ययनमा साथी ।’ छोरा दिवस अहिले स्नातकोत्तररत छन् भने गरिरहेको छन् भने दीक्षा अब स्नातक उत्तीर्णसँगै थप अध्ययनका लागि दुबई जाने तयारीमा छन् । दुबईबाट एक वर्षे कोर्ष पूरा गरेर दिक्षा नेपाल फर्केर आफूले सिकेको कुरालाई सदुपयोग गर्न चाहन्छिन् ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update