News 24 Television
ओलीलाई पाखा लगाउने रणनीतिमा माओवादी कांग्रेस : के गर्लिन विद्यादेवी ?

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अन्तरंग वार्ता गरेका छन् । पार्टी बैठकलाई छोटो बनाउदै वालुवाटार हिड्छु भनेका ओली बुढानिलकण्ठ पुगेपछि विभिन्न चर्चा शुरु भएको छ । 

एमाले अध्यक्ष केपी ओली आगामी महाधिवेशनमा पनि अध्यक्षमा दोहोरिन चाहन्छन् । पार्टी नेतृत्वमा रहने चाहनामा तलमाथि नहुँदा विधान संशोधन समत गरिसकेका छन् ।

एमालेका रहेको ७० वर्ष उमेरहदको विधानलाई ओलीले संशोधन गरेपछि अबको अध्यक्ष पनि ओली नै हुनेमा एमाले नेताहरुले आंकलन गरिरहेका छन् । तर, पार्टीभित्र आफ्नो निर्णय लागू गराउन जस्तोसुकै स्थितिमा पुग्ने ओलीको प्रवृत्तिविरुद्ध उनीसँग लामो समयदेखि काम गरेका नेताहरु नै दिक्दारी पोख्न थालेका छन् । 

यस्तोमा ओलीको विकल्पको रुपमा एमालेका उच्चतहका नेताहरुले नै राष्ट्रपतिको दुई कार्यकाल सकेर घरमै रहेकी विद्यादेवी भण्डारीलाई अघि सार्ने रणनीतिमा जुटेका छन् । 

दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि भण्डारीले अहिले सरकारी सेवा सुविधा लिएकी छैनन् । उनले आफ्नै निजी निवासबाट राजनीतिक माहोललाई नियालीरहेकी छन् । यस्तोमा भण्डारीको पक्षमा नेताहरुले सक्रियता देखाउन थालेपछि ओलीले पा्रटी बैठकमै कड्किदै यस्ता काम नगर्न चेतावनी नै दिएको भनिन्छ । 

ओलीले भण्डारीलाई राजनीतिमा ल्याउने भएमा पार्टीले नै सल्लाह र निर्णय गर्ने भनिरहेका छन् । तर, एमालेका केहि नेताहरु भने सक्रिय राजनीतिमा भण्डारीलाई ल्याएर ओलीलाई साइजमा ल्याउने रणनीति अख्तियार गर्न जुटेका छन् । 

ओलीविरुद्ध भण्डारी कार्ड

केपी ओलीले गएको महाधिवेशनमा निर्वाचन नै गराएनन् । आफुले चाहेका व्यक्तिलाई विभिन्न पद हस्तान्त्रण गरे । त्यसमा उम्मेदवारी दिने भीम रावल र घनश्याम भुसालजस्ता नेताहरु पाखा लागिसकेका छन् ।

एमालेमा उनीहरुलाई स्पेस नदिनेदेखि अपमानका श्रृङ्खला नै चलाएको भनिन्छ । यस्तोमा ओलीले आगामी महाधिवेशनमा पनि निर्वाचन नगराउने र आफूले चाहेका नेताहरुलाई पदस्थापन गर्ने स्थिति वन्दा एमालेभित्रको आन्तरिक निर्वाचनको पद्धति नै सकिने र पार्टी अस्तव्यव्यस्त बन्नेमा धेरै नेताहरुको चिन्ता देखिन्छ । यहि कारण पनि ओलीविरुद्ध भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने गरि नेताहरुले दौडधुप बढाएका छन् । 

ओलीको रणनीतिक भेट

पार्टी बैठकमा वालुवाटारमा काम छ भन्दै निस्किएका केपी ओली बुढानिलकण्ठ हानिए । भण्डारीको निवासमा पुगेर उनले २ घण्टा लामो गफगाफ गरे । त्यो गफगाफ राजनीति केन्द्रित रहेको बताइन्छ । तर, दुबै पक्षले यसबारे सार्वजनिक रुपमा केहि बोलेका छैनन् ।

ओलीले पार्टीका नेताहरुमा मनोवैज्ञानिक दबाब सिर्जना गर्नका लागि त्यहाँ पुगेको बताइन्छ । भण्डारीसँग सम्बन्ध ताजा छ । 

सक्रिय राजनीतिमा आउने गरि भण्डारीलाई नउचाल भन्ने सन्देश दिन ओली बुढानिलकण्ठमा २ घण्टा समय खर्चिन बाध्य बनेका हुन् । तर, ओलीले रोकेर विद्या रोकिएलीन भन्ने प्रश्न भने जिवितै छ । 

माओवादीको अर्को प्रयोग

माओवादी केन्द्र पनि विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन पूर्वउपराष्ट्रति नन्दकिशोर पुन पासाङलाई सक्रिय राजनीतिमा ल्याउने गरि अघि बढेको छ । 

पासाङ सक्रिय राजनीतिमा फर्किए भण्डारीलाई पनि बाटो खुला हुने ठानेको माओवादी केन्द्रले ओलीविरुद्ध एमालेमा आगो सल्काउने काम गरिरहेको छ । भने माओवादीले ओली रहुन्जेल वामन्थी एकता हुन्न भन्ने ठानेको बताइन्छ । 

यस्तोमा भण्डारी नेतृत्वमा आए फेरि वामपन्थी एकता हुने र समाजवादी कार्यक्रममा जानलाई मदन भण्डारीको जबजलाई क्रस गर्ने माध्यम नै विद्यादेवी हुने विश्लेषण गर्न थालिएको बताइन्छ । 

कांग्रेस तर्सियो

विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चाकाबीच कांग्रेस भने रोक्ने प्रयासमा देखिन्छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपतिले सक्रिय राजनीति गर्न नहुने भन्दै सामाजिक रुपमा देशको नेतृत्व गर्नुपर्ने चर्चा गरेका छन् । 

कांग्रेसले भण्डारीलाई रोक्दामात्रै पनि एमालेमा ओलीका कारण धेरै नेताहरु निष्क्रिय हुने र त्यसको लाभ उठाउन पाइने स्वार्थमा छ । 

कांग्रेसबाट राष्ट्रपति बनेका रामवरण यादवले पार्टीको नेतृत्व गर्न सक्ने स्थिति छैन भने रामचन्द्र पौडेल रिटायर्ड जीवनपछि सक्रिय राजनीतिमा आउने सम्भावना कम छ । 

यस्तोमा भण्डारीले पार्टी नेतृत्व लिएमा वामपन्थी भनिएका दलहरु एकीकृत हुने र ०७४ को जस्तो स्थितिमा पु¥याउने खतरा पनि हुने भएकाले कांग्रेस सकेसम्म भण्डारीलाई रोक्नमै केन्द्रित हुने विश्लेषण चलिरहेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update