News 24 Television
संकटमा फसेका पासाङलाई प्रचण्डको भरथेग, शक्ति संघर्षमा को चेपिएलान ?

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्रको शक्ति संघर्ष पेचिलो बनिरहेको छ । नेताहरुबीच चलेको संघर्षलाई पार लगाउन प्रचण्डले अनेक जुक्तिको बाटो अबलम्वनको प्रयास गरेपनि त्यो सम्भव होला ? धेरैले शंकाको दृष्टीले नै हेरेका छन् ।

नेकपा माओवादी केन्द्रभित्रको आन्तरिक राजनीतिमा शक्ति संघर्ष पेचिलो बनिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि तल्लो तहका नेताहरुले अनेक प्रश्न गर्ने र नेतृत्वले स्वेच्छाचारी ढंगले निर्णय लाद्ने गरेको भन्दै आक्रोश पोख्न थालेका छन् । 

लामो समयदेखि नेतृत्वमा रहदै आएका प्रचण्डले अहिले पनि पार्टी नेतृत्व गर्ने गरि नेताहरु तयार भईनसकेको बताउने गरेका छन् । सार्वजनिक कार्यक्रममा नै उनले नेताहरुको पंक्ति नेतृत्वका लागि तयार नहुन्जेल आफैले पार्टीको नेतृत्व गर्ने भनिरहेका छन भने एक पटक सरकारका गएर फेरि नयाँ जोशका साथ काम गर्ने भनिरहेका छन् ।

प्रचण्डपछिको नेतृत्व को ? भन्ने विषयमा प्रचण्डले विभिन्न नेताहरुलाई जुधाउदै राज गर्ने परिपाटीको विकास गरेपछि नेताहरुले शक्ति संघर्ष चर्काएका छन् । 

प्रचण्डले पछिल्लो समय उपराष्ट्रपतिको दुई कार्यकाल सक्काएर घरमा आराम गरिरहेका नन्दकिशोर पुन ’पासाङ’लाई अघि सारेका छन् । उपराष्ट्रपतिको पदमा रहँदा नैतिक कसीलाई बलियो पार्न नसकेका पासाङ पनि राजनीतिक शक्तिको पर्खाईमा छन् । 

त्यसैले पनि उनी माओवादी केन्द्रको बैठकमा सगौरव उपस्थित भइरहेका छन् । पासाङ आफू जस्तो भएपनि छोरा दिपेश पुनलाई सहकारी ठगीमा प्रतिवादी करार गरिएको छ ।

सहकारी ठगीदेखि सुन तस्करीसम्म नाम जोडिदा दिपेशले विद्यार्थीको नेतृत्व नै ताकिरहेका थिए । यसरी राजनीतिक फेरो समात्न सकिएन भने संकट आइपर्छ भन्ने ठानेका पासाङलाई माओवादीको टेको चाहिएको छ भने प्रचण्डलाई शक्ति संघर्ष चर्काउने नेताहरु ठेगान लगाउन नेता चाहिएको छ । 

स्वार्थको जठजोड

प्रचण्डविरुद्ध वर्षमान पुन र जनार्दन शर्मा पछिल्लो समय मोर्चाबन्दी नै गरेर कस्सिएका छन् । विद्यार्थीमा उमेरहदबारे भएको निर्वाचनमा जनार्दन पक्षले उमेरहद लगाउने निर्णयमा बाजी मारेपनि वर्षमान र जनार्दनहरु मिलेर जाने तयारीमा छन् । तर, प्रचण्डले आफ्नो पक्षबाट समेत विद्यार्थीमा अध्यक्षको उम्मेदवार तयार पारिसकेको बताइन्छ । 

यस्तोमा वर्षमान जनार्दनबीच फाटो ल्याएर अघि बढ्ने मानसिकतामा सफल नहुने देखिएपछि नेकपाको नेतृत्व गरिरहेका विप्लवलाई ल्याउदा पनि तनाव कम हुने देखिन्न । यहि मेसोमा राजनीतिक संकटमा फसेका पूर्वउपराष्ट्रपति पासाङ भेटिएका हुन् । 

पासाङ पनि छोरा दिपेश पुनका कारण तनावमा छन् । भने उपराष्ट्रपतिले निर्माण गरेको बंगला सर्वहारा वर्गले उपभोग गर्ने किसिमको नभएको भन्ने चर्चा चल्दा पनि संकट स्वभाविक बनेको छ । 

यसको एउटै औषधिको रुपमा माओवादी केन्द्र र शक्ति संघर्षमा हेलिदै प्रचण्डको लामो समय समर्थन पाउने विषय पासाङका लागि हितकर हुने देखिन्छ । यहि कारण पनि प्रचण्डले शक्ति संघर्षमा पासाङलाई उतारेका छन् । तर, उनीबाट संघर्ष झेल्न कति सहज हुन्छ भन्ने विषय भने अन्योलमै छ । 

बैठकमा उठ्दै प्रश्न

उपराष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुनेमा माओवादी केन्द्रभित्र बहस चलिरहेको छ । केहि नेताहरुले त विरोध नै गरेको बताइन्छ । तर, प्रचण्डको चाहनामा पासाङले बैठकमा उपस्थिति नै जनाउन थालेपछि भने जिम्मेवारी दिने स्थिति बन्दै गएको छ । पासाङ सम्मानित रुपमै बस्नुपर्ने र सक्रिय राजनीतिमा आउन नहुने सुझाव भने नेताहरुले बैठकमै दिएको बताइन्छ । 

नेतृत्वविरुद्ध जनार्दनको फायर

प्रचण्डचचिरुद्ध जनार्दन शर्माले विभिन्न कोणबाट प्रहार गरिरहेका छन् । पार्टीमा प्रचण्डले एकलौटी गर्न खोजेको, विधान महाधविवेशनबाट पारित विधानको पालना नगरेको जस्ता तमाम आरोप सार्वजनिक रुपमै लगाएका जनार्दनले प्रचण्डमाथि खनिन अनेक उपाय खोजिरहेका छन् । 

पार्टी सत्तामा समेत विद्यार्थीदेखि अन्य जनवर्गिय संगठनमा बलियो उपस्थिति बनाएका उनले सांसदहरु पनि जम्मा गरेको बताइन्छ । विद्यार्थीको उमेरहदबारेको निर्वाचनको पक्षमा मतदानको अपिल गर्दै नेता तथा सांसदहरुले गरेको अपिलले पनि माओवादीमा प्रचण्डविरुद्ध जनार्दन खुलेरै लागेको देखिन्छ । तर, जनार्दनमाथि प्रचण्ड पक्षका नेताहरुले भने उनको विदद्रोह विचार, संगठन र सिद्धान्त केन्द्रित नभई स्वार्थ केन्द्रित रहेको भन्ने गरेका छन् । तर, प्रचण्डलाई खुलेआम चुनौति दिदै जानर्दनले शक्ति संघर्षलाई थप पेचिलो बनाउदै लगेका छन् । 

माओवादीको तयारी

शक्ति संघर्षमा फसेको माओवादी केन्द्रले सरकारमाथिका प्रहारलाई समेत तीब्र पारिरहेको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारले संसद बोलाउन नखोज्नुको कारण दल विभाजनसम्बन्धिको अध्यादेश रहेको आरोप पनि लगाइरहेको छ । 

माओवादीले पार्टीभित्रको शक्ति संघर्ष र आन्तरिक विषयमा खास टिप्पणी नगरेपनि उनले प्रतिपक्षमा रहेको स्थितिलाई भने बलियो बनाउने गरि अघि बढिरहेको छ । सरकारमाथिका प्रश्नलाई दोहो¥याई तेह¥याई गरिरहेको माओवादी केन्द्रले अन्य दलसँगको सम्बाद र सहकार्यमा समेत जोड दिन थालेको छ । 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update