News 24 Television
भीम रावल कारवाही काण्डमा ‘धुरिदै’ माओवादी, ‘प्रचण्ड–भीम’का उस्तै बोली !

काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष समेत रहेका भीम रावललाई संगठीत सदस्यसमेत नरहनेगरी कारवाही गरेपछि अहिले मुलुकको राजनीति नै तरङ्गीत बनेको छ । यस प्रकरणले एमालेमा मात्रै होइन, अन्य दलहरुमा पनि खैला–बैला मच्चिरहेको स्थिति छ । 

नेकपा एमालेकोे पुष १० गते बसेको सचिवालय बैठकले नेता रावललाई कारवाही गर्ने निर्णय गरेको थियो । मुख्यतः रावलले सल्लाहकारको भूमिका ननिभाएको र उनले दिएका अभिव्यक्तिले पार्टीलाई कमजोर बनाएको एमालेको ठम्याइ थियो । जसैका कारण भीम रावल एमालेबाट संगठीत सदस्यसमेत नरहनेगरी कारवाहीमा परेका थिए । 

कारवाहीको बिन्दू जग्गादान प्रकरण 

नेकपा एमालेमा अध्यक्ष ओलीका कडा आलोचक रहेका भीम रावलको कारवाहीको पछिल्लो विन्दू भने मिनबहादुर गुरुङबाट दान लिएको जग्गा प्रकरण बन्न पुग्यो । एमाले बाट उपप्रधान तथा गृहमन्त्री समेत बनिसकेका रावलले पार्टीको केन्द्रिय कार्यालय बनाउन मिनबहादुर गुरुङबाट दान लिएको विषयमाथि आलोचना गरेका थिए । यसै कारण रावल पार्टी कारवाहीमा परेका हुन् ।   

       
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रावलको टकराव नयाँ थिएन । चितवनमा सम्पन्न पार्टीको १०औँ महाधिवेशनमा रावलले ओलीलाई चुनौति दिँदै अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर त्यहाँ हार व्यहोरेपछि रावल पार्टीमा निश्क्रिय रहे । 

त्यसपछि पनि निरन्तर पार्टी गतिविधिविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका रावललाई एमालेले कारवाही गरिसकेको छ । 

नयाँ पार्टी गठनको तयारीमा रहेका रालले कारवाही पछि पनि आफू एमालेमा नहुनु केपी ओलीको द्वेष, पूर्वाग्रह र निषेधात्मक चरित्रको प्रतिविम्व भएको आरोप लाइरहेका छन् । यतिमात्रै होइन, रावलले एमाले चरम भ्रष्टाचारमा लिप्त रहेको समेत गम्भीर ओरोप लगाइरहेका छन् । 

रावलको कारवाहीपछि अन्य राजनीतिक दलहरुमा पनि तरङ्ग पैदा भइरहेको छ । र, एमालेको कदमप्रति अन्य दलहरुले पनि प्रतिकृया दिइरहेका छन् । बिहीबार बसेको माओवादी केन्द्रको बैठकले एमालेले बोली बन्द गरेर तानाशाही रुपले शासन गर्न लागेको निश्कर्ष निकालेको छ । 

त्यस्तै गठबन्धन सरकारमा पनि लोकतन्त्र समाप्त भएको माओवादीको ठम्याइ छ । माओवादी केन्द्रले व्यापारीबाट दान लिएर पार्टी कार्यालय बनाउने विषयमा बोलेबापत भीम रावललाई पार्टीबाट निष्कासन नै गरेको भन्दै यो व्यवहार हदैसम्मको निरंकुश र तानाशाही भएको निचोड निकालेको हो ।

रावल प्रचण्डकरण भएको एमाले आरोप 

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलहरुबीच भ्रष्टाचार र बेथितिका सवालमा दोहोरी चल्नेक्रम जारी छ । वर्तमान सरकालाई नै माओवादीले भ्रष्ट र विचौलिया निर्मित भन्दै आएको छ । तर यस्तैबीचमा एमालेलेको कारवाही भोगेका भीम रावलले पनि पत्रकार सम्मेलन गरेर एमालेविरुद्ध आरोप नै आरोप भिराए । 

जसमा एमाले भ्रष्ट्राचारमा लिप्त रहेको र भ्रष्टाचारी जोगाउनसम्म लागि परेको आरोप लगाएका छन् । यसैलाई खण्डन गर्दै नेकपा एमालेले भने भीम रावलको अभिव्यक्ति प्रचण्डकै कपिपेष्ट भएको जवाफ दिएको छ । 

हुनतः रावलले एमालविरुद्ध गरेका टिप्पणीहरु प्रमुख प्रतिपक्षी दलले लगाएका आरोपहरुसँग मिल्दाजुल्दा नै छन् । यही आरोप र रावल कारवाहीमा परेको विषयले पनि दलहरुबीच थप मतभेद चुलिएको छ । 

रावलको आरोप प्रचण्डसँग मिल्ने र एमालेले पनि रावल प्रचण्डकरण भएको आरोप लाइरहँदा रावलले प्रतिपक्षी दलहरुमध्ये कुनै दल रोजेर पार्टी प्रवेश गर्छन वा उनले नै दावी गरेजस्तो अरु कुनै नयाँ शक्ति निर्माणतर्फ लाग्छन््, त्यो भने हेर्न बाँकी छ । 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update