News 24 Television
बैंकहरूको आम्दानी स्रोत सीमित हुँदा नाफामा दबाब, खराब कर्जा डरलाग्दो !

काठमाडाैँ । बैंकहरुको आम्दानीको स्रोत सिमित हुँदा बैंकहरुको मुनाफामा दबाब सिर्जना भएको सरोकारवालाहरुले बताएका छन् । नेपालको बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीको स्रोत सिमित हुँदा पछिल्लो समय मुनाफा घट्दै गएको उनीहरुको दाबी छ ।

बैंकहरुको ८० प्रतिशत आम्दानी कर्जा लगानीको ब्याजमा नै निर्भर रहेको छ । पछिल्लो समय बैंकहरुले निजी क्षेत्रमा कर्जा प्रवाह गर्न सकेका छैन । त्यसले पनि आम्दानीमा कमी देखिएको छ । बैंकर्सहरुकाअनुसार बैंकहरुको कर्जा लगानीको ब्याज तथा सावाँ समेत संकलन गर्न मुस्किल देखिएकाले आम्दानीमा मात्रै नभएर सम्पती गुणस्तरमा समेत कमजोर बन्दै गएको देखिन्छ ।

बैंकको सम्पती कर्जाको धितो नै ८० प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको पछिल्लो समय खराब कर्जा समेत उल्लेख्य मात्रामा बढ्दै गएको छ । यसले बैंक तथा वित्तीय संस्था समस्या र चुनौतिपूर्ण अवस्थामा पुर्याउन सक्ने अवस्था देखिएको उनीहरुको भनाई छ । बैंक तथा वित्तीय संस्थामा पर्ने असरले समग्र मुलुकको अर्थतन्त्रमा समेत चुनौति देखिने सरोकारवालाहरुको भनाई छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा तीन प्रमुख अन्तरबिरोध रहेको बताए । उनले मुलुकको अर्थतन्त्रमा मुख्य गरी बैंकिङ र वित्तीय क्षेत्रमा देखिएका समस्यासँगै आन्तरिक र वाह्य क्षेत्रको सन्तुलनमा चुनौती रहेको बताए । बैंक तथा वित्तीय क्षेत्रको नियमन प्रभावकारी भए पनि बैंकहरुको सम्पत्तिको गुणस्तर घट्दो अवस्थामा रहेको उनले बताए । साथै  खराब सम्पतिको देखिने आकार मात्रै घट्दै गएको देखिए पनि नदेखिने आँकडा कहालीलाग्दो अवस्थामा रहेको उनकाे भनाइ छ  ।

Rameshwar-1735908992.jpg
 

प्रभावकारी नियमन भए पनि बैंकको सम्पत्ति गुणस्तर नहुँदा चाहेको क्षेत्रमा लगानी प्रवाह हुन नसकेको उनकाे भन्दै खनालले बैंक तथा वित्तीय संस्था र रियल क्षेत्रबीचको सम्बन्ध प्रभावकारी नभएको बताए । उनले अहिले बजारमा ७ सय अर्ब बढी तरलता भए पनि व्यक्तिको हातमा तरलता नभएको बताए । बजारमा गएको तरलता व्यक्तिको हातमा पुग्ने संयन्त्र कुण्ठित भएको र उद्योगी व्यवसायीहरुमा धेरै कर्जाको भार भएकाले अहिले थप कर्जा लिनसक्ने अवस्था नभएको उनकाे भनाइ छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंकहरूको आम्दानी स्रोत सीमित हुँदा नाफामा दबाब देखिएको बताए । उनले अहिले औषतमा बैंकहरुको खराब कर्जा ४.४२ प्रतिशत पुगेको भन्दै अझै थपिने अवस्था देखिएकाे बताए । बैंकहरुको ८० प्रतिशत आम्दानी ब्याजमा नै निर्भर रहेको दाबी गर्दै उनले  बैंकको सम्पत्ति लोनको धितो नै ८० प्रतिशत रहेको बताए । बैंकको आम्दानी स्रोत एकै किसिमको मात्रै रहेकोले समस्या देखिएकाे उनकाे भनाइ थियाे ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुरेन्द्र रेग्मीले बैंकहरुको आरोही घट्दै गएको बताए । उनले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या र चुनौती समाधान गर्नका लागि एकजुट हुनुपर्नेमा जोड दिँदै बैंकहरुको खराब कर्जा बढेर गएको बताए । बैंक विरुद्ध विभिन्न खालका नकारात्मक गतिविधिहरु हुने गरेको र देशमा बैंक तथा वित्तीय संस्थाको विकास हुन नसके मुलुकको आर्थिक विकास पनि हुन नसक्ने उनले बताए ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले भने बैंकहरुले सम्भावना भएको क्षेत्रमा लगानी गर्दै आएको बताए । उनले ऊर्जाको क्षेत्रमा बैंकहरुको लगानी उच्च रुपमा भएको र साेही कारण विद्युत उत्पादन गरी निर्यातमा थालनी भएको बताए । सिमेन्ट पनि भारत निर्यात गर्ने अवस्थामा पुगेको भन्दै उनले स्टिल, सिमेन्ट लगायत अन्य उद्योगमा लिएको सफलता बैंकहरुको लगानीकै कारण भएको दाबी गरे । 

 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update