काठमाडौं । नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाटै निस्कासित गरेपछि पहिलो पटक केन्द्रीय समितिको बैठक बस्दैछ ।
पार्टीबाट निकालिएको एक सातापछि पत्रकार सम्मेलन गरी रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूप्रति प्रतिशोध साँधेको आरोप लगाएका थिए । तर विहीबार बसेको एमाले सचिवालय बैठकले भने रावलको कारबाही सहि भएको निश्कर्ष निकालेको छ ।
लामो समय एमालेमा राजनीति गरि थुप्रै पटक लाभको पद लिएका नेता हुन् भीम रावल । उनी एमालेबाटै उपप्रधानमन्त्रीदेखि रक्षामन्त्री हुँदै गृहमन्त्रीसमेत भए ।
उपप्रधानमन्त्री भइसकेका रावलले मन्त्री पदमा हुँदा पनि जनताको पक्षमा उल्लेखनीय कामहरु गरेनन् । न त उनले सुदूरपश्चिमेली जनता खुशी हुने गरी काम गरेका थिए । तत्कालिन नेकपा विघटनपछि एमालेभित्र अन्तरसंघर्ष चर्काउने मामिलामा पनि उनी अग्रपंक्तिमा थिए ।
एमालेको दशौं महाधिवेशनमा रावलले पार्टी नेतृत्वका लागि दाबी मात्रै गरेनन्, केपी ओलीविरुद्ध उम्मेदवारी नै दिए ।
ओलीका सामु रावलको केही लागेन, नराम्रोसँग पराजित भए । अध्यक्षमा पराजित भएपछि पार्टीमा निश्क्रियजस्तै बनेका उनी सधैं नै पार्टीको आलोचना गरि रहेका थिए । पछिल्लो समय ब्यापारी मीनबहादुर गुरुङको जग्गा दान प्रकरणमा पनि खुलेरै विरोधमा उत्रिएपछि एमालेले रावललाई पार्टीबाटै निकालि दियो ।
पार्टीबाट निकालिएपछि बुधबार पत्रकार सम्मेलन गरी झण्डै तीन घण्टा लामो लिखित भाषण ओलीविरुद्धको विष वमनमै खर्चिएका थिए । रावलको निश्कासनले एमालेमा क्षति पुग्ने आंकलन एमालेभित्रै भइरहँदा विहीबार बसेको एमाले सचिवालय बैठकले कारबाही सहि भएको निश्कर्ष निकालेको छ ।
रावलको कारबाहीसँगै जग्गा दान प्रकरणविरुद्ध अभिब्यक्ति दिएको भन्दै डा. विन्दा पाण्डे र उषाकिरण तिमिल्सिना पनि ६ महिनाका लागि पार्टी निलम्बनमा परेका छन् ।
रावलको निश्कासन र दुई नेताको कारबाहीपछि एमालेको केन्द्रीय समितिको बैठक पुस २१ र २२ गते बस्दैछ । केन्द्रीय समिति बैठकमा लागि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तयार गरिसकेका छन् ।
ओलीले आफ्नो प्रतिवेदनमा कांग्रेससँगको सत्ता सहकार्यको औचित्यदेखि सरकारको सफलताको चर्चा गरेका छन् । यद्यपि ओली नेतृत्व सरकारको ६ महिनाको अवधि उपलब्धीपूर्ण भए पनि पर्याप्त नरहेको कुरा पनि प्रतिवेदनमा उल्लेख भएको ज्ञवालीको भनाई छ ।
यसअघि सरकारको नेतृत्व गर्दा भारतीय नाकाबन्दीको सामना गरेको भन्दै प्रशंसा बटुलेका ओलीको यसपाली भने आक्रोश चुलिएको छ । राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत ओलीको कुटनीति असफलताले एमालेलाई ठूलो क्षति पु¥याएको छ ।
एमालेबाट निकालिएका रावलले ओलीमाथि लगाएका गम्भीर आरोपहरुले पनि पार्टीलाई केही न केही क्षति पु¥याउने देखिन्छ । तर रावलले लगाएको आरोपलाई तत्कालिन नेकपा कालमा प्रचण्डल लगाएको आरोप प्रचण्डकै कपिपेष्टका रुपमा मात्रै ओलीले लिएका छन् ।
पछिल्लो समय पार्टी नेतृत्व तानाशाही बन्दै गएको भन्दै एमाले नेता कार्यकर्ताले सामाजिक सञ्जालमै लेख्न थालेका छन् । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कर्णबहादुर थापाले पार्टीको स्वच्छ बहसलाई बन्देज लगाउन नहुने भनी विहीबार मात्रै समाजिक सञ्जालमा लेखेका छन् । पार्टी नेता कार्यकर्ताको आलोचना सहनै नसक्ने एमाले अध्यक्ष ओलीकै कारण एमालेले विगतमा पटक पटक क्षति ब्यहोरेको छ ।
यस्तो अवस्थामा आगामी पुस २१ र २२ गते हुने भनिएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरु कसरी प्रस्तुत हुन्छन्, हेर्न बाँकी छ ।