News 24 Television
पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रीय समिति बैठकमा, उपाध्यक्षको चर्चा 

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कन एमालेका विभिन्न औपचारिक अनौपचारिक कार्यक्रमहरुमा सहभागि भइरहेकी छन् । 

यता, सक्रिय राजनीतिमा फर्कन दौडधुप गरिरहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ भने बिहिवार माओवादी केन्द्रीय कार्यालय पेरिस डाडाँमा शुरु भएको स्थायी समिति बैठकमै सहभागि भएका छन् । पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र रहेका पुनलाई उपाध्यक्ष बनाउने चर्चा समेत चलेको छ । 

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सक्रिय राजनीतिमा फर्कनका लागि तीव्र तयारीमा छन् । उनी सक्रिय राजनीतिमा फर्किन लागेको चर्चाका बीच माओवादी केन्द्रीय कार्यालय  पेरिसडाँडामा बिहिवारदेखि शुरु भएको स्थायी समिति बैठकमा समेत सहभागि भएका छन् । पासाङसँगै केही समयदेखि निष्क्रिय रहँदै आएका पूर्वसभामुख तथा उपाध्यक्ष कृष्णबहादुर महरा पनि बैठकमा सहभागि भएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई उपाध्यक्ष बनाएर महत्वपूर्ण जिम्मेवारीसहित पार्टीमा फर्काउन लागेको चर्चाले माओवादी तरंगित छ । 

पूर्वराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउन माओवादीले विधान संशोधनका लागि कार्यदलसमेत गठन गरिसकेको छ । पुस २१ गतेदेखि शुरु हुने केन्द्रीय समिति बैठकमा कार्यदलको प्रस्ताव पेश गर्ने तयारी छ । पुन आफैले पनि आफु अब सक्रिय राजनीतिमा आउने र त्यसबारे अनावश्यक बहस नगर्न भनिसकेका छन् । 

जनार्दनलाई काउन्टर दिन पासाङ

पछिल्लो समय प्रचण्डलाई पार्टीभित्रैबाट उपमहासचिव जनार्दन शर्माले राम्रै काउन्टर दिए । प्रचण्डले नेत्तृत्व छोड्नु पर्न भन्ने दबाब बढिरहँदा त्यसको नेत्तृत्व शर्माले नै लिएको बताइन्छ । शर्माले गत साउन २७ गते माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व हस्तान्तरण गरेर दाहाल संरक्षकको भूमिकामा रहनुपर्ने प्रस्ताव पेस गरेका थिए । यसकारण पनि पार्टीभित्र प्रचण्ड कमजोर बन्दै गइरहेका थिए । 

पार्टीभित्र शर्माको प्रस्तावको समर्थक बढ्दै जाँदा खतरा महशुष गरेका प्रचण्ड तत्कालै देश दौडाहामा निस्किएका थिए । र, फर्किएपछि जनताले माओवादीमा आफ्नै नेत्तृत्वमा सुशासन र आर्थिक विकासको अपेक्षा राखेको अभिव्यक्ति दिए । 

पार्टीभित्र आफु धरापमा परेको महशुष गरेपछि नै प्रचण्डले नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा फर्कन उक्साएको माओवादी वृत्तमा चर्चा छ । 

पुनलाई पार्टीमा सक्रिय बनाउँदा आफु बलियो हुनेपछि नै उनलाई जिम्मेवारीसहित ल्याउन खोजिएको बताइन्छ । दुई कार्यकाल उपराष्ट्रपति भइसकेका पुन पछिल्लो समय माओवादी केन्द्रको पदाधिकारी बैठकहरुमा बाक्लै सहभागि भइरहेका छन् । 

नैतिकताको प्रश्न !

त्यसो त पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय राजनीतिमा आउन आतुर छन् । तर राज्यकोषबाट सेवासुविधा लिएर नैतिक मर्यादाविपरीत राजनीतिमा सक्रियता बढाउन थालेका पूर्वराष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनको आलोचना भइरहेको छ । 

पार्टीभित्र सक्रिय भूमिका बढाउँदै जान थालेपनि उनीहरुले राज्यबाट पाइरहेका सेवा सुविधा खोस्नु पर्ने माग समेत बढ्न थालेको छ । 

दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारीमा रहेकी भण्डारी सरकारी सेवासुविधा भोग गर्दै पार्टीका विभिन्न औपचारिक अनौपचारिक कार्यक्रममा सक्रिय छिन् भने उपराष्ट्रपति पुन पार्टीको उपाध्यक्ष पदको लविइङमा छन् । हुन त राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिलाई पुनः सक्रिय राजनीतिमा फर्कन कानूनी अड्चन छैन । तर राज्यको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्कनु नैतिकरुपले उचित मानिदैन । 

यदि सक्रिय राजनीतिमै लाग्ने सोच भएको भए पहिला नै संवैधानिक पदीय जिम्मेवारीमा आउनै नहुने विश्लेषकहरुको टिप्पणी छ । तर देशको पहिलो राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा भने सक्रिय राजनीतिबाट टाढा छन् । 

यादवले अवकाशयताको दिनचर्या ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा र झाले सप्तरीस्थित आफ्नै निवासमा व्यतित गरिहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update