
बर्दिया । पछिल्लो चार दिनदेखि तराईका जिल्लाहरुमा अत्यधिक चिसो बढेको छ । चिसो हावासँगै दिनहुँ बढ्दै गएको जाडोले जनजीवन प्रभावित बनेको छ । पश्चिम तराईको बाँके, बर्दिया कैलाली र कञ्चनपुर लगायतका जिल्लामा केही दिन यतादेखि घाम देखिन छाडेको छ । चिसोकै कारण कृषकले लगाएको अन्नबालीमा समेत नोक्सानी हुदै गएको छ भने बिहान र बेलुकी चल्ने शीतलहरले विद्यालय जाने बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
सिरेटो हावा र बाक्लो हुस्सुले पश्चिम तराइका बर्दिया ,कैलाली र कञ्चनपुर लगायतका जिल्लामा जाडो बढेको छ । चिसोका कारण मानिसहरु घरबाट निस्कन समेत कठिनाई भएको छ भने बर्दियाका सडकहरु समेत सुनसान देखिन्छन् । चिसोका कारण ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरु अहिले किनमेलका लागी सदरमुकाम आउँन नसक्दा व्यापार व्यवसाय ठप्प छ ।
पछिल्लो समय बर्दियामा चिसो बढेसँगै जेष्ठ नागरिक र बालबालिकालाई समेत असर परेको देखिन्छ । बालबालिकालाई बिद्यालय जान कठिनाई भएको छ । चिसोका कारण कृषकले लगाएको हिउदै बाली गहँु ,तोरी, मसुरो लगायतका अन्नबालीमा समेत क्षति पुगेको छ । यस्तै चिसो बढ्दै जाने हो भने तोरी लगायतका अन्नबाली सवै नष्ट हुने भन्दै कृषक चिन्तित छन् ।
चिसोका कारण बिरामी भई बर्दियाको गुलरियामा सञ्चालित क्लिनिक तथा अस्पतालमा समेत अहिले विरामीहरुको चाप बढेको छ । बर्दिया अस्पतालमा दैनिक २ सयको हाराहारीमा बृद्धबुद्धा र बालबालिका उपचारमा आउने गरेका छन् । त्यस्तै क्लीनीकमा दैनिक ५० जनाभन्दा बढि चिसोबाट प्रभावित विरामी आउने गरेका छन् । यतिबेला चिसोका कारण १ वर्षभन्दा मुनिका बालबालिकामा धेरै समस्या देखिएको बर्दिया अस्पतालका बालरोग बिशेषज्ञ बिश्वनाथ कुमार शाहले बताए ।
चिसो अत्याधिक बढेपनि स्थानीय प्रशासन र पालिकाहरुले अहिलेसम्म बचाउसम्बन्धी कुनै किसिमको कार्यक्रम सुरु गरेका छैनन् । बर्दिया जिल्लामा चिसो बढेसँगै जिल्ला प्रशासन कार्यालय बर्दियाले चाँहि सार्वजनिक सूचना जारी गर्दै ज्येष्ठ नागरिक र बालबालिकालाई चिसोबाट बचाउँन अनुरोध गरेको छ ।
चिसोकै कारण धेरै व्यवसायमा असर पुग्दा ग्रामीण क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन पनि सकस भइरहेको छ । तराईमा बर्सेनि शितलहरका कारण कतिपय निम्न आय भएका मानिसहरुले न्यानो आवास र लत्ताकपडाको अभावमा ज्यान नै गुमाउने गरेका छन् । वर्षौदेखि विद्यमान यो समस्या निराकरणमा भने तीनै तहका सरकारले खासै चासो दिएका छैनन् ।