News 24 Television
विमानस्थल स्तरोन्नतीमा उत्साहजनक काम, ३४ प्रतिशत काम तमाम 

काठमाडौं । दैनिक १० घण्टा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम धमाधम भइरहेको छ । विमानस्थल अन्तर्गत समानान्तर ट्याक्सी वे, इन्टरनेशनल एप्रोन ह्याङ्गर लगायतका क्षेत्रमा स्तरोन्नति भइरहेकोमा यसको गति सन्तोषजनक रूपमा अघि बढेको देखिएको हो । 

कात्तिक २३ गतेदेखि सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम ३४ प्रतिशत सकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बिहीबार प्रस्तुत गरेको तथ्यांकअनुसार समग्रमा मंसिरसम्म ३४.३३ प्रतिशत काम सकिएको हो । 

मन्त्रालयका अनुसार पार्किङ एप्रोनको ४८ प्रतिशत निर्माण सकिएको छ । यस्तै, ट्याक्सी वेको निर्माण ३२ प्रतिशत सकिएको छ । ह्याङ्गर एप्रोनको निर्माण २३ प्रतिशत सकिएको छ । हाल ३३ सय मिटरको धावनमार्ग रहे पनि ट्याक्सी वे १९ सय मिटर मात्र छ । 

त्यस्तै अहिलेको ट्याक्सी–वे धावनमार्गबाट एक सय ७२ दशमलब पाँच मिटरको दूरीमा निर्माण गरिने छ भने ट्याक्सी–वेलाई पनि बढाएर ३३ सय मिटरकै पु¥याइनेछ । त्यस्तै अन्तर्राष्ट्रिय यात्रुका लागि नयाँ टर्मिनल भवन, हृयाङ्गर र एप्रोन निर्माण हुने छन् भने फ्युल स्टेशन पनि सारेर अत्याधुनिक प्रविधिमा निर्माण गरिने छ  । 

केहीदिन अघि निर्माण भइरहेको विमानस्थलको रनवे र ट्याक्सी वेको स्थलगत अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले हरेक परियोजनामा समयमै काम नहुने, ठेक्का तोडिने र सडक भवन अलपत्र हुने अवस्था रहेको भन्दै कम्तिमा विमानस्थलमा भइरहेको निर्माणको कामले तोकिएकै समयमा काम गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरेका थिए । 

कात्तिक २३ गतेदेखि सुरु भएको निर्माण राति १० बजेदेखि भोलिपल्ट बिहान ८ बजेसम्म हुने गरेको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले माघको मध्यबाट विमानस्थल निर्माणलाई आठ घण्टामा घटाउने तयारीमा छ । 

चैत १८ गतेसम्म सक्ने लक्ष्य राखेर १५ अर्बको लागतमा समानान्तर ट्याक्सी–वे, हृयाङ्गर र अन्तर्राष्ट्रिय जहाजका लागि एप्रोन निर्माण भइरहेको हो । 

अहिले दुई सय हाराहारीमा कामदार र ६० भन्दा बढी टिपर र एक्सकाभेटर निर्माण कार्यमा परिचालित छन् । विमानस्थलभित्रै तीन फरक–फरक ठाउँमा काम भैरहेको छ । विमानस्थल स्तरोन्नति गुरुयोजना अन्तर्गत निर्माण भइरहेको हो । 

एक वर्षदेखि सञ्चालनमा रहेको गुरुयोजना आगामी दुई वर्षमा सम्पन्न हुनेछ । जसबाट विमानस्थलको क्षमता २५ देखि ३० प्रतिशत बढ्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसले विमानस्थलको क्षमता वृद्धि हुनुका साथै सुरक्षा पनि बढ्ने छ । देशको पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update