News 24 Television
बाबुराममा राजनीतिक विचलन, दलिय अस्थिरताको गोलचक्रमा !

काठमाडौं । राजनीतिक विचलनमा रहेका पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई अझै नयाँ वैकल्पिक शक्ति निर्माणकै खोजीमा छन् । डा. भट्टराईले नेकपा माओवादीमै हुँदा वैकल्पिक धार खोज्ने भन्दै पार्टी त्याग गरे । 

माओवादी छोडेपछि पनि वैकल्पिक राजनीतिक दल निर्माणर्को प्रयासमा रहेका भट्टराईले अझैसम्म आफ्नो संगठनलाई वैकल्पिक शक्ति प्रमाणित गर्न सकेका छैनन् । दशवर्षे जनयुद्ध हुँदै माओवादीबाटै प्रधानमन्त्रीसमेत बनेका डा. बाबुराम भट्टराईले २०७२ असोजमा पार्टी परित्याग गरे । 

त्यसपछि २०७३ सालमा नयाँशक्ति पार्टी गठन गरेका थिए । छुट्टै दल स्थापित गरेर २०७४ सालको आम निर्वाचनमा होमिएको तत्कालीन नयाँ शक्ति पार्टीबाट अध्यक्ष भट्टराई स्वयम गोरखाबाट जित्ने एक मात्रै सांसद बने । 

बाबुरामको अस्थिर राजनीति 

नयाँशक्ति गठन गरेको केही वर्षमै २०७६ सालमा बाबुरामले मधेस केन्द्रीत दल संघीय समाजवादी फोरम पार्टीसँग एकता गरे । र, त्यसपछि उक्त पार्टी पुनः महन्थ ठाकुर नेतृत्वको दलसँग पनि एकता भयो । 

पार्टीसँग एकता भएपछि नै जनता समाजावादी पार्टी बनेको थियो । तरपनि पछि जसपा पनि पालै पालो विभाजित भएपछि बाबुरामले  पुनः नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरे । तरपनि उनको राजनीतिक यात्रा अडिग र स्थायी भएन । 

नेसपा गठनपछि पनि महिन्द्रा राय यादवले पार्टी विभाजन गरेर माओवादीमै मिसाउन खोजेपछि बाबुराम भट्टराईले अहिले नेसपा (नयाँ शक्ति) पार्टी बनाएका छन् । यद्यपि यो पार्टीले खास रुपमा शक्ति र सामाथ्र्य बटुल्न सकेको छैन । 

यसकाराण बाबुराम अझै पनि नयाँ शक्ति निर्माणकै निरन्तर प्रयासमा देखिन्छन् । यो अवस्थामा बेला बखत उनको नयाँ दलहरुसँगको सहकार्य हुनेबारे पनि चर्चा चल्ने गरेको छ ।

रास्वपासँग कनेक्शन कस्तो ? 

डा. बाबुराम भट्टराई पछिल्लो समय नयाँ दल रास्वपासँग नजिकिँदै गएको चर्चा चल्ने गरेको छ । केही समयअघि बाबुरामलाई रास्वपा भित्र्याउने भन्दै बाहिरी चर्चासमेत चलेको थियो । यसपछि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न बाबुराम जिल्ला प्रहरी कार्यालय कास्कीसमेत पुगे । 

कास्की पुगेका बाबुरामले रास्वपाले नै सरकारमाथि लगाउँदै आएको आरोपको समर्थन गर्दै रविमाथि राजनीतिक प्रतिशोध साँधिएको र रवि निर्दोष रहेको दावी गरेका थिए । 

यसपछि पनि निरन्तर सम्पर्कमै रहेको भनिएका बाबुरामलाई सांसद रास्वपा सांसद सोविता गौतमले पनि भेट गरेकी छन् । केही दिन दुई दिन अघि मात्रै बाबुराम र सोविताबिच भेटवार्ता भएको तस्बीर सार्वजनिक भएको छ ।

baburam-sobita-1735869824.JPG
भेटपछिको तस्बीर सार्वजनिक गर्दै बाबुरामले देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायतको विषयमा छलफल भएको बताएका छन् ।

त्यस्तै रास्वपा सांसद गौतमले पनि भेटवर्ताको तस्बीर सार्वजनिक गर्दै राजनीतिक प्रणाली र अभ्यासका त्रुटीबारेमा केन्द्रित केन्द्रीत छलपल भएको बताएकी थिइन् । वर्तमान संसदीय अभ्यासको औचित्य र सुधारात्मक बाटोबारे साझा बुझाई रहेको भन्दै भेटवार्तामा अर्थपूर्ण विमर्श भएको उल्लेख गरेकी छन् । 

 हुनत रास्वपा अहिले राजनीतिक, सांगठानीक र विभिन्न मुद्धाका कारण अफ्ठ्यारो अवस्थामा छ । यो अवस्थामा नयाँ र वैकल्पिक शक्तिहरुको सहयोग खोजिरहेका छन् । 

यो आधारले पनि वैकल्पिक शक्तिको खोजीमै रहेका बाबुरामसँगको भेट वार्तालाई स्वभाविक मान्न सकिन्छ । र, बाबुरामले पनि रास्वपा सभापति रविको पक्राउ र सहकारी मुद्धाको विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । यद्यपि रास्वपा र बाबुराम एकै संगठनमा रहेर अघि बढ्ने वा बढ्नसक्ने भन्नेबारे भने अहिले नै यकिन यही हो भन्न सकिने अवस्था छैन । 

पटक पटक दल गठन र दलहरुसँग एकता गर्दा पनि ठोस राजनीतिक वैकल्पिक शक्ति निर्माण गर्न नसकेका बाबुरामको केही समयअघि पुनः माओवादीसँग जोडिने वातावरण बनेको थियो । तर बाबुराम माओवादीसँग एकताका लागि तयार भएनन् । 

त्यसपछि बाबुरामलाई रास्वपाले भिट्याउने बारे चर्चा पनि नचलेका भने होइनन् । यो अवस्थामा नयाँ उदेश्यसहित उदाएको रास्वपासँग एकता गरेर पार्टीलाई विसर्जन गर्छन वा अझै एकोहोरो रुपमा वैकल्पिक शक्ति निर्माणकै सिलसिलामा लाग्छन्, त्यो अहिले नै भन्न सकिने अवस्था  छैन । 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update