काठमाडौं । विश्वले जनवरी १ लाई नयाँ वर्षको पहिलो दिनको रुपमा स्वागत गर्दा नेपालमा भने विभिन्न दिवस मनाइन्छ । टोपी र धोती दिवसहरूले परम्परागत पोशाकको संरक्षण र प्रचारमा भूमिका खेल्ने भएपनि यी दिवसको आलोचना हुने गरेको छ । यी दिवसहरुले सांस्कृतिक विविधताको महत्व देखाए पनि सबै जातीय समूहहरूको प्रतिनिधित्व समावेश नभएकाले असन्तुष्टिसँगै यसको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ ।
‘राष्ट्रिय पोशाक तथा टोपी दिवस, धोती दिवस ! संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसंस्कृति स्विकारिसकेको देशमा एकल संस्कृतिका कुरा कति जायज ? हरेक वर्ष जनवरी १ तारिखमा यो प्रश्न उठ्ने गरेको छ ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै २०७० सालदेखि टोपी दिवस मनाउन थालियो । त्यसको ठ्याक्कै एक वर्षपछि अर्थात् २०७१ सालबाट धोती दिवस मनाउन शुरु भयो ।
राष्ट्रिय पोशाक तथा टोपी दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिलाउने अभियान सुरु हुनुको कारण बाबुराम भट्टराई प्रधानमन्त्री रहँदाको एउटा निर्णय हो– सयौँ वर्षदेखि प्रचलनमा रहेको दौरा, सुरुवाल, टोपी, गुन्यू चोलोलाई राष्ट्रिय पोसाकको सूचीबाट हटाउनु । शुरुवातका दुई वर्षसम्म अभियन्ताहरूले फेसबुकमा टोपी लगाएर फोटो पोस्ट गरे ।
उनीहरूले शुरु गरेको अभियानमा धेरैले समर्थन गरे र दिवसका रुपमा मनाउन थाले । टोपीले हिमालदेखि तराईसम्म, माटोको सुगन्धदेखि पुर्खाको मेहनतसम्मको प्रतिनिधित्व गर्ने भन्दै यसका अभियन्ताहरुले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न माग गर्दै आएका छन् ।
धोती परिधानलाई सम्मान गर्दै, नेपालको सांस्कृतिक पहिचान र विविधता झल्काउने भन्दै धोती दिवस मनाइदैं आइएको छ । एक दश्कदेखि धोती दिवस मनाइएको भइपनि त्यसबारे पक्ष र विपक्षमा बहस अझै जारी छ ।
कतिपयले पश्चिमा पर्वमा रमाउनुभन्दा सो अवसरलाई नेपाली शैलीमा रूपान्तरण गरेर मनाउने गरिएको पहलका रूपमा बुझेको पाइन्छ । तर कतिपयले दिवस मनाउनुको अर्थ नभएको तर्क गर्ने गरेका छन् । पहिचानका लागी धोती दिवस मनाएको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बताएका छन् । मधेशी संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याउने उद्देश्यले मनाइएको धोती दिवस मनाइदै आएको उनले बताए ।
पहिचान र राष्ट्रवादसँग जोडेर धोती र टोपीको जुहारी चलेको १२ वर्ष भैसक्यो । एकाथरीले टोपीलाई राष्ट्रियता र धोतीलाई विखण्डनको प्रतीक बुझिरहेका छन् भने, अर्कोथरी टोपीलाई निरंकुशता र सांस्कृतिक अतिक्रमणको प्रतीक ठान्छन् ।
धोती दिवस, टोपी दिवस र बख्खु दिवस मनाउन पाउनुपर्ने भएपनि यो दिवस राष्ट्रियतासँग भन्दा समुदायको संस्कृति र परम्परासँग जोड्नुपर्ने धरैको तर्क छ ।