काठमाडौं । प्रधानमन्त्री केपी ओली शासन सत्ता नेतृत्वका हिसाबले मात्रै नभई प्रवृत्तिगत हिसाबले समेत कमजोर बन्न थालेका छन् । केहि नेताहरुलाई कारबाही गरेपछि आलोचनाको शिकार बनिरहेका ओलीमाथि सत्तारुढ दलकै नेताहरुले निरंकुश बन्न खोजेको आरोपसहित व्यंग्यक कस्न थालेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका निर्णय लिदा एकमतले तालि बज्नुपर्छ भन्ने ठान्छन् । उनले पार्टीमा अनुशासनको विषयलाई चर्को रुपमा उठाउदै अध्यक्षको वरिपरि गोलबद्ध हुनुपर्ने भन्दै अघि सर्ने क्रममा चिनियाँ राष्ट्रपति सीन जिनपिङ र चिनियाँ कम्युनिष्ट पार्टीको शैलीबारे नेताहरुलाई स्मरण गराउदै चुप बस्न भनिरहेका छन् ।
ओलीले यस्तो दाबी गरेको केहिदिनपछि एमालेले भीम रावलसहित विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई कारबाही गर्ने निर्णय ग¥यो । त्यो कारबाहीपछि एमालेमाथिका प्रहार पार्टीभित्र र बाहिरबाटै हुन थालेका छन् । यस्तोमा एमाले छाडेर नेकपा एकीकृत समाजवादीको महासचिव बनेका घनश्याम भुसाल केपी ओलीबाट एमाले अघि बढ्न नसक्ने भनिरहेका छन् ।
नेकपा एसजस्तै कांग्रेसले पनि ओलीको कदममाथि प्रश्न गरिरहेको छ । आफ्नो दललाई प्रजातान्त्रिक सिद्ध गर्न कांग्रेस नेताहरुले एमालेले गरेको कारबाहीलाई उदाहरणको रुपमा पेश गर्न थालेका छन् । यस्तोमा कांग्रेस प्रवक्ताले पनि ओलीको कदममाथिको प्रहार गरिसकेका छन् ।
महतले एमालेमाथि यस्तो आरोप लगाएको केहिदिनपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि व्यङ्ग्य कसेका छन् । सात बुँदे सहमतिको विषय कोट्याउदै भीम रावलमाथिको कारबाहीलाई शर्माले कडा शब्दमा ओलीमाथि प्रहार गरेका छन् ।
सत्ताबाहिरबाट मात्रै नभएर ओलीमाथि सत्ता पक्षबाट समेत आवाज उठाउन थालिएको छ । ओलीले चालेको कदमले निरंकुशताको अभ्यास हुन थालेको भन्दै चिन्ता र चासो बढिरहेका छन भने एमालेले भने रावलको कारबाही स्वभाविक रहेको बताइरहेको छ । भीम रावलमाथि कारबाही नगरिएको र उनले पार्टी आफै छाडेको समेत एमाले नेताहरुले भनिरहेका छन् । तर, यो विषयमाथि ओलीको प्रवृत्तिबारे विमर्श भने शुरु भएको छ ।
ओली नेतृत्व र एमाले
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले पहिले लामो समय पार्टीमा विपक्षीको भूमिका निर्वाह गर्द आएका थिए । माधव नेपाल, झलनाथ खनालहरुले पार्टीको नेतृत्व गर्दा ओलीले समानान्तर गतिविधिदेखि भागबण्डामा समेत हिस्सेदारी लिने गरेको बताइन्छ । यता, भीम रावल पनि शक्तिमा हुँदा नेता कार्यकर्तामाथि निर्मम पेश हुने गरेको धेरैले भन्ने गर्छन् ।
यस्तोमा ओलीले लामो समय पार्टीभित्र विद्रोही सिपाहीको रुपमा काम गरेको र भीम रावलले शक्तिको दुरुपयोग पनि मजाले गरेको चर्चा एमालेवृत्तमा चल्ने गरेको छ । यस्तोमा ओली नेतृत्वमा आइसकेपछि भने विस्तारै उनले पार्टीलाई आफ्नो ढंगले अघि बढाउन खोजिरहेका छन् ।
महाधिवेशनमा सर्वसम्मतको निर्णयदेखि अनेक तहमा उनले आफूले भनेका मान्छेको व्यवस्थापन सकेसम्म गरेरै छाड्ने गरेका छन् । यस्तोमा रावलले अध्यक्षमा ओलीसँग प्रतिष्पर्धा गर्नु र त्यसपछि पनि निरन्तर एमालेको विरोध गर्नुले उनी किनाराकृत भएको चर्चा चल्ने गरेको छ । यद्यपी रावलले अब पार्टी घोषणा गर्ने र त्यो पार्टी गैरकम्युनिस्ट हुने बताउन थालिएको छ ।