News 24 Television
सिन्धुपाल्चोकको लप्सीको माग चीनदेखि भुटानसम्म 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका धेरै स्थानमा पाइने लप्सी केही समय अघिसम्म रुखमै कुहिने गथ्र्यो । तर लप्सीबाट विभिन्न परिकारहरु बनाउन थालेपछि अहिले यो सिन्धुपाल्चोकबासीको आम्दानीको श्रोत बन्दै गएको छ । 

लप्सीका परिकारहरुको यतिबेला काठमाडौँ सहितका देशका मुख्य सहरी क्षेत्रसँगै विदेशमा समेत ठूलो माग रहेको छ । 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरकी महिला उद्यमी सावित्री कार्की दंगाललाई यतिबेला भ्याइनभ्याइ छ । एस. डि लप्सी क्यान्डी उद्योगकी संचालक दंगाल गाउँमा लप्सीको अर्डर गर्नेदेखि सयौं क्विन्टल लप्सीको व्यवस्थापन, भण्डारण र प्रशोधन गर्छिन् । 

यो वर्ष चीनबाट दश हजार किलोग्राम लप्सीबाट बन्ने चाइनीज खट्टुको माग भएपछि उद्योगमा प्रशोधन, उत्पादित परिकार प्याकेजिङ लगायत काममा एक दर्जन हाराहारीमा स्थानीयले काम पनि पाएका छन् । भुटानबाट समेत लप्सीका परिकारको माग रहेको उनले बताइन् ।

२०७६ सालमा स्थापना भएको उनको उद्योगले सुरुका वर्षहरूमा लप्सीको अचार र माडा मात्रै उत्पादन गर्दै आएको थियो । पछिल्ला वर्षमा लप्सीको क्यान्डी, चक्लेट, तितौरा, अचार, बोक्राको पाउडर लगायत ८ प्रकारका परिकार उत्पादन गर्न थालिएको छ । 

नेपालका विभिन्न सहर र विदेशसम्म पनि लप्सीका परिकार निर्यात हुने गरेको छ । वनजंगल र पाखोबारीमा झरेर कुहिएर जाने लप्सीहरु उद्योगका कारण विक्री हुन थालेपछि किसानले समेत मनग्गे आम्दानी गर्न थालेका छन् ।

कच्चापदार्थको रुपमा रहेको लप्सीलाई उसिनेर बोक्रा, गुदी र गेडा छुट्याएर गुलियो, नुनिलो स्वादमा १५ भन्दा बढी परिकार बनाइन्छ । वोक्राको माडा, गुदीको पाउँ र च्याम्पाटीमा समेत लेपनबाट विभिन्न परिकार बन्छ । 

कुनै समय यत्तिकै कुहिएर झने लप्सीको तयारी उत्पादनको समेत बजार समस्या छैन । स्थानीय सरकार र गैरसरकारी संस्थाहरूले किसानहरूलाई लप्सी खेतीका लागि प्राविधिक सहयोग, तालिम र अनुदान प्रदान गरिरहेका छन् । यसले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको छ । 

सिन्धुपाल्चोक जिल्लामा वार्षिक रूपमा करिब २,१०० मेट्रिक टन लप्सी उत्पादन हुन्छ । उत्पादित लप्सी मध्ये करिब ६ लाख केजी जिल्लामा सञ्चालित उद्योगहरूले प्रशोधन गरी विभिन्न परिकारहरू उत्पादन गर्छन् । 

बाँकी लप्सी काभ्रेको साँगा भञ्ज्याङका साथै राजधानीका विभिन्न ठाउँमा बिक्री वितरण गरिन्छ । यस व्यवसायले हाल करिब ३ सय ३० जनालाई रोजगारी प्रदान गरेको छ । लप्सीजन्य परिकारहरूलाई ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सरकारले सहयोग गर्नुपर्ने उद्यमीहरुको माग छ । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update