मकवानपुर । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले स्थानीयलाई आयआर्जनमा जोड्न कृषि हाट बजार सञ्चालनमा ल्याएको छ ।
गाउँमै हाट बजार लागेपछि करेसाबारीमा फलेका साग, सिस्नो, गिठ्ठा र तरुलले भाउ पाउन थालेका छन् । योसंगै हाट बजार आम्दानीको स्रोत बनेपछि यहाँका स्थानीय दंग छन् ।
स्थानीय उत्पादनलाई गाउँमै बिक्रि गरेर आम्दानीको स्रोत बढाउने लक्ष्यसहित राक्सिराङ गाउँपालिकाले हाट बजार सञ्चालनमा ल्याएको छ ।
जसअनुसार पुस १५ गते अर्थात् सोमबारबाट यहाँ हाटबजार लाग्न सुरु भएको हो । अब हरेक १५\१५ दिनमा अर्थात् हरेक महिनाको १ र १५ गते हाट बजार लाग्नेछ । हाट बजारमा स्थानीय उत्पादन तरकारी, अन्नबाली र जंगलमा पाइने गिठ्ठा भ्याकुर समेत बिक्री हुन थालेपछि स्थानीय खुसी भएका हुन् ।
उसोतः घरमा खाएर नभ्याएको मोही, घ्यू, मास र तरुल समेत बिक्री गर्न थालिएको छ । भने विद्यार्थीले विद्यालमै फलाएका कृषि उपजको बजारीकरणमा समेत उस्तै भूमिका खेलेको छ ।
यस्तै स्थानीय संस्कृती र रैथाने बालीको संरक्षण र संवद्र्धनका लागि राक्सिराङ गाउँपालिकाले हाट बजार सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउँछन् ।
हाटमा स्थानीय उत्पादनहरु चिउरीको मह, तरुल, गहत, मास, मस्याङ, भटमास, गोलभेँडा, काउली, गुन्द्रुक, लोकल कुखुरा, लोकल खसीको मासु, लोकल बंगुरको मासु, आरनमा उत्पादित फलामे औजारहरु सहित स्थानीय उत्पादनहरुको बिक्री हुने गरेको छ ।