News 24 Television
विप्लवको कृषि क्रान्ति र माओवादी केन्द्रसँग एकताको हतारो

काठमाडौं । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रसँगको एकताबाट पछि नहटेको बताएको छ ।

केहिदिन पहिले कपिलवस्तुको शिवगढीमा आयोजित केन्द्रिय समिति बैठकबाट एकताको विषयमा पहल नगर्ने भन्दै आक्रामक देखिएका विप्लव किन एकताका लागि हतारिएका छन  त ? माओवादी युद्ध, शान्ति प्रक्रिया, पार्टी विभाजन, प्रतिबन्ध हुँदै कृषीकर्ममा पुगेका नेत्रविक्रम चन्द ’विप्लव’ पछिल्लो समय माओवादी केन्द्रसँग एकता गर्ने दाउमा छन् । 

पार्टी विभाजनपछि आकार घट्दै जाने स्थिति बन्नु र माओवादी आन्दोलनमाथि न्यायालयदेखि अन्य दलहरुले समेत प्रहार गर्नुले विप्लव तत्काल एकतामा जान चाहन्छन् । तर, प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले निर्णय नगर्दा एकताको सम्भावना लम्बिन पुगेको छ । यस्तोमा विप्लबले भनिरहेका छन्, माओवादी केन्द्रसँग एकता नगर्ने भन्दै चलाइएका हल्ला सहि होइनन्, हामी तयार छौं । 

विप्लवले जस्तै उनको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि क्रान्तिकारीहरुसँगको एकता र मोर्चाबाट पछि नहट्ने भनिरहेका छन् । 

विप्लवको कृषि कर्म

विप्लव नेतृत्वको नेकपाले देशका विभिन्न क्षेत्रमा उत्पादन गरेका कृषि सामाग्रीलाई काठमाडौंमा सी व्यापार केन्द्रको स्थापना गरेर बजारीकरण गर्ने भएको छ । 

विप्लव नेतृत्वको नेकपाले गरेको उत्पादनलाई बजारमा ल्याउन लागिएको जानकारी समेत उनीहरुले दिएका छन् । विप्लवले सी गार्मेन्टदेखि मानव जातिको उन्नयनका लागि सी संस्कृतिको विकास गर्ने बताइरहेका छन् । 

उसोतः हतियारदेखि प्रतिबन्धसम्म व्यहोरेका विप्लव पछिल्लो समय आर्थिक विकाससहितको पार्टी निर्माण गर्ने दाबी गर्न थालेका छन् । उनले धानदेखि विभिन्न नगदेबाली उत्पादनमा समेत जोड दिन थालेका छन भने हिमाली क्षेत्रमा भेडा, च्याङ्ग्रा समेत पाल्ने बताइरहेका छन् । 

एकताको हतारो

विप्लवको पार्टीमा नेता कार्यकर्ताको एकखाले खडेरी नै देखिन्छ । माओवादी केन्द्र सत्ता र शक्तिमा रहेकाले धेरै नेताहरु यतै फर्किने गरेका छन् भने केहिले धर्मेन्द्र बास्तोलादेखि मोहन वैद्य किरणको पार्टीमा रुची राख्दा कमजोर बनिरहेको पार्टीलाई विप्लवले प्रचण्डसँगको एकतापछि फेरि शक्ति आर्जनको सपना देखिरहेका छन् । 

तर, विप्लव नेतृत्वको नेकपामा समेत केहि नेताहरुले एमालेसँग एकता गर्ने गरि तयारी गरेको बताइन्छ । यो थाहा पाएपछि नै विप्लवले माओवादी केन्द्रसँगको एकताबाट पछि नफर्किएको सार्वजनिक अभिव्यक्ति दिन थालेको बताइन्छ । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update