News 24 Television
निगमका कर्मचारीको अदुरदर्शिताले थलियो नेपाल एयरलाइन्स 

काठमाडौं । नेपाल वायुसेवा निगम आन्तरिक उडानतर्फ जहाजविहीन भएको छ । इन्जिन व्यवस्थापनमा निगम नेतृत्वको चरम लापरबाहीका कारण दुवै ट्विनअटर विमान ग्राउन्डेड भएपछि आन्तरिक उडान ठप्प भएको हो । 

नयाँ इन्जिनको टेन्डर आह्वान भइसकेको भएपनि उडान नियमित हुन करिब दुई महिना लाग्ने देखिन्छ । यसले निगमको बजार हिस्सा खुम्चिने र आर्थिक अवस्था झनै खस्किँदै जाने चिन्ता बढाएको छ । 

करिब दुई सातादेखि नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प छ । निगमसँग रहेका दुई ट्विनअटर जहाजमध्ये एउटा गत जेठदेखि नै ग्राउन्डेड थियो र अर्को जहाजको इन्जिनको उडान अवधि सकिएपछि पुष ७ देखि सबै आन्तरिक उडानहरू ठप्प छन् । 

नयाँ इन्जिन अर्डर गरिएको भए पनि समयमै प्राप्त नभएकाले उडानहरू बन्द गर्नुपरेको नेपाल वायु सेवा निगमले जनाएको छ । नयाँ इन्जिनको टेन्डर आह्वान भइसकेको र ठेक्का लागेको ४५ दिनभित्र डेलिभरी दिने सम्झौता भएको निगमले जनाएको छ । निगमले दुईवटा ट्विनअटर जहाजबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडान गर्दै आएको थियो ।

विमान ग्राउण्डेड हुँदैछन् भनेर धेरै अगाडि नै थाहा हुँदाहुँदै पनि निगमका पदाधिकारीको निकम्मापनका कारण जहाज ग्राउण्डेड हुँदा हजारौँ यात्रुले सास्ती मात्रै पाएका छैनन् सयौँको संख्यामा रहेको कर्मचारीलाई विना काम राज्यले पाल्नु परिरहेको पनि छ ।

निगम सुधार्ने विषयमा केही समय अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले ठूलै गफ हाँकेका थिए । मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको शुरुवात कहाँबाट गर्नुपर्छ भन्नेकुरा बुझिसकेको फुर्ति मन्त्री पाण्डेले लगाएका थिए । 

उडान बन्द हुँदा निगमको घाटा

निगममा हाल ४३ जना पाइलट छन् । निगममा स्थायी पाइलटहरूले मासिक ६ लाखदेखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । त्यस्तै आन्तरिक तर्फको सिनियर पाइलटले प्रतिघण्टा ४ हजार ५ सय र को–पाइलटले प्रतिघण्टा १ हजार ५ सय कमाउँछन् । 

सिनियर पाइलटको मासिक तलब ४ लाख र को–पाइलटको १ लाख ९० हजार सम्म छ । विमान ग्राउन्डेड भएपनि तलब दिनुपर्ने भएको दैनिक निगमले करिब २ लाख १५ हजार घाटा व्यहोरिरहेको छ । सरदर वार्षिक दुई अर्ब सात करोड ६२ लाख रुपैयाँ घाटा बेहोर्दै आएको निगमले गत वर्ष ६५ करोड २९ लाख रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेको थियो । 

वायुसेवा निगमको अहिलेसम्मको नोक्सानी १६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । सरकारी र वित्तीय संस्थाहरूलाई ३५ अर्ब ८० करोड रुपैयाँ ऋण तिर्न बाँकी छ ।

शृंखलाबद्ध ग्राउण्डेड

निगमको आन्तरिक उडान अत्यन्तै कमजोर छ । निगमसँग आन्तरिक उडान गर्न दुईवटा ट्विनअटर विमान मात्रै छन्, जसमध्ये नियमित उडानमा एउटा मात्रै जहाज हुने गर्छ । त्यो पनि अहिले ग्राउन्डेड गरेर राखिएको छ  ।

वाइडबडी उडान र आन्तरिक उडानमा निगमले ठूलो घाटा व्यहोर्दै आइरहेको छ । तर, निगमलाई नाफा कमाइदिने दुईवटा न्यारोबडी जहाज नै अधिकांश समय ग्राउन्डेड हुने गरेका छन् । 

निगमका विमानहरू बारम्बार ग्राउण्डेड हुनुका पछाडि व्यवस्थापकीय र प्राविधिक कमजोरी रहेको हवाई क्षेत्रका जानकारहरूले औंल्याएका छन् । 

समयमै मर्मतसम्भार गर्न नसक्नु र आवश्यक पुर्जा तथा प्राविधिक स्रोतहरूको अभावले विमान सञ्चालनमा समस्या हुनुका साथै प्रशिक्षित प्राविधिक कर्मचारी र दक्ष जनशक्तिको अभावले समस्या झन् जटिल बनिरहेको छ । 

नीजि कम्पनी किन अब्बल

के नीजि विमान कम्पनीका जहाज ग्राउण्डेड हुँदैनन् त ? पक्कै हुन्छन् । तर, प्रतिस्पर्धी बजार भएकाले विमान मर्मत समयमा गर्छन् भने विमानको संख्या तुलनात्मक रुपमा धेरै हुने भएकाले उडान प्रभावित हुँदैन । तर यहीनिर सरकारी लगानी रहेको निगम भने विमन थप्नुको साटो अनेक लफडामा फस्दै गएको छ । 

अहिले निजी वायुसेवा कम्पनीहरूले आन्तरिकतर्फ आफ्नो बजार हिस्सा बढाउँदै लगिरहेका बेला निगम भने खुम्चिएको छ । जसका कारण आन्तरिक उडानको बजार हेर्दा ९७ प्रतिशत हिस्सा निजीको कम्पनीको पोल्टामा छ । यस्तोमा निगमको बजार हिस्सा खुम्चिने र आर्थिक अवस्था खस्किँदै जानेमा दुई मत छैन । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update