काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले मालदार र बदनाम अड्डाका रुपमा रहेको भन्सार प्रणालीलाई रुपान्तरण गर्नेगरी भन्सार ऐन ल्याउन आवश्यक रहेको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै उपसभापति वाग्लले उक्त आवश्यकता औल्याएका हुन् । उनले भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्नेमा जोड दिए । ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्न जरुरी देखिएको उनकाे भनाइ छ ।
यस्ता कार्यहरु भन्सार नीतिमार्फत निर्मुल बनाउन नसकिने भन्दै ऐनले नै व्यवस्था गर्नुपर्ने वाग्लेकाे जिकिर छ । उनले भन्सारमा आउने सामान रोक्न कागजात नमिल्ने भन्दै तजबिजीमा काम गर्ने प्रवृत्ति रोक्ने कानून बनाउन आवश्यक रहेको बताए । भन्सार प्रणालीलाई डिजिटलाइजेशन,अटोमेशन तथा भौतिक रुपमा उपस्थित हुनुपर्ने विधिमा जानुपर्ने बताए । भन्सार छली गरेर पक्राउ पर्दा उठ्नै नसक्ने खालको कारबाहीको व्यवस्था ऐनमा गरी भन्सारमा सुधार ल्याउनुपर्ने उनकाे भनाइ छ ।
बदनाम भन्सारको चुस्त रुपान्तरणका लागि प्रविधि र अन्तर्राष्ट्रिय राम्रा अभ्यासहरु ल्याउनुपर्नेमा समेत उनले जोड दिए । उनले भन्सार प्रविधिमा नेपालभन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक देखिएको भन्दै वाग्लेले भन्सार रुपान्तरणका लागि राजनीतिक प्रतिबद्धतासहित अब मालदार र बदनाम अड्डालाई रुपान्तरण गर्नुको विकल्प नभएको बताए ।
सांसद वाग्लेले भने, ‘भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्छ । ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्नेतिर जानुपर्छ । भन्सार नीतिमार्फत निर्मुल बनाउन सकिँदैन । तजबिजीमा काम गर्ने प्रवृत्ति छ । त्यसलाई रोक्ने कानून बनाउनुपर्छ । भन्सारमा तजबिजि लगाएर काम गर्ने प्रवृत्तिलाई निर्मुल बनाउनुपर्छ । भन्सार प्रणालीलाई डिजिटल,डिजिटलाइजेशन,अटोमेशन तथा भौतिक रुपमा उपस्थित हुनुपर्ने विधिमा जानुपर्छ । भन्सार छली गरेर पक्राउ प¥यो भने उठ्नै नसक्ने खालको कारबाही भयो भने भन्सारमा सुधार ल्याउँछ । बद्नाम भन्सारको चुस्त रुपान्तरणको लागि प्रविधि र राम्रा अभ्यासहरु आएका छन् । भन्सार प्रविधिमा नेपाल भन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक छ । सुधारको लागि राजनीतिक प्रतिवद्धता छ । मालदार र बदनाम अड्डालाई हामीले रुपान्तरण गर्नुपर्छ ।’
उनले श्रम, स्वच्छ ऊर्जा, निर्यात गर्ने वा नेपालमा आयात प्रतिस्थापन गर्ने वस्तुहरुमा भन्सार शुल्क कम हुनुपर्ने पनि बताए । उनले निर्यातजन्य वा पुँजी निर्माणमा काम लाग्ने वस्तुहरुमा कम भन्सार राख्नुपर्ने सुझाव दिए । अहिले सरकारले मनलाग्दी भन्सारदर अपनाउने गरेको भन्दै भन्सारदर राख्नुको आधार पुष्टि हुनेगरी मात्र राख्नुपर्ने उनकाे भनाइ छ ।