काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पाँच वर्ष संसदमात्रै स्थिर रहने नभएर प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने गरी संविधान संशोधन जरुरी रहेको उनकाे भनाइ छ । महामन्त्री शर्माले अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको हुनुपर्ने भन्दै उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा ठूलो नभएको र स्थिर सरकारको कुरामा जोड दिनुपर्ने बताए ।
महामन्त्री शर्माले सरकारका आगामी नीति तथा प्राथमिकता तीन चरणमा काम गर्नेगरी ल्याउनुपर्ने बताए । सबै विकास भइसकेको जसरी राति काम नै नहुने झैँ सूर्य अस्त, नेपाल मस्त हुनु नहुने उनको टिप्पणी थियाे ।
उनले भने, ‘दक्षिणको मित्रले लिएको हुलाकी मार्ग अलपत्रै छ । दक्षिणसँग दृढतापूर्वक कुरा गर्नुपर्यो । उत्तरले जिम्मा लिएको पोखरा-मुग्लिङको बाटो भन्नुस्, बुटवलदेखि नारायणगढसम्मको बाटो त्यस्तै छ । उनीहरुसँग दृढतापूर्वक कुरा गर्नुपर्यो । आफ्नो राष्ट्रलाई चीनले चमत्कारपूर्वक बनउनसक्ने अनि हाम्रोमा बनाउँदै गर्दा चीनको कम्पनीले लिएको बाटो ढिलो हुनुपर्ने । भारतले लिएको बाटोको जिम्मामा ढिलाइ हुने । राष्ट्रले राष्ट्रिय सम्मानलाई केन्द्रमा राखेर उत्तर र दक्षिणका राष्ट्रसँग गहन छलफल गर्नुपर्छ । यही पद्धतिभित्र काममा गति बढाउनुपर्छ । बजेट बन्ने बेला आउँदैछ, सम्माननीय प्रधानमन्त्रीज्युलाई आग्रह छ, बजेटको नीति ल्याउँदै गर्दा बजेटको नीति र प्राथमिकता चाँडै सरकारले ल्याउँदैछ । तीन सिफ्टमा काम गर्नेगरी सरकारले लिएर आओस् । कमरेड केपी ओलीले यसको श्रेय लिनुस् । धनी देश अमेरिका, बेलायत राति पनि बाटो बनाउँछ, गरिव देश नेपाल सूर्य अस्त नेपाल मस्त ? अलिकति पिएर होस् की नपिएर होस् सबै नेपालमा घुरिरहेका हुन्छौँ । हामीलाई हतार नै नभएको जस्तो । सरकारले नीतिमा काम गर्ने कुरा ल्याउनुप¥यो । अब समुन्नतिको सन्दर्भमा मेलमिलाप हुनुपर्छ । राजनीतिमा भइसक्यो । संसद ५ वर्षसम्म अब कुनै बहादुरले भंग गरेर हुँदैन । हामीलाई ५ वर्ष स्थिर रहने संसद मात्रै होइन, अब पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहियो । अबको मेलमिलापको बहस त्यहाँ हुनुपर्छ । संविधान संशोधनको ढोका खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ठूलो कुरा होइन ।’
महामन्त्री शर्माले छिमेकी राष्ट्रहरुले जिम्मा लिएका पूर्वाधार निर्माणका कामहरुलाई गति दिन दृढतापूर्वक छलफल गर्नुपर्ने पनि बताए ।