काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गिरिबन्धु टिस्टेट प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणका फाइल खोल्न थालेपछि राजनीतिक स्थिति फेरिएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाउदै प्रचण्डले नुवाकोटको शेरा दरबार विवादमा समेत सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई जाली, झुट र बेइमानको गम्भीर आरोप लगाएका छन् । प्रचण्डमाथि खनिन थालेका ओलीलाई प्रचण्डले उनकै गृहजिल्लामा पुगेर गिरिबन्धु टिस्टेट प्रकरणको पर्दाफाँस गरेरै छाड्ने भन्दै गिरिबन्धुको पर्दाफास गर्ने कुरा ओलीमाथि नै हुने पनि जिकिर गरे ।
प्रचण्डले यतिमात्रै नभई कांग्रेस नेतृत्वमाथि पनि प्रश्न गरेका छन् । नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सरकारको नेतृत्वबाट आफूलाई अलोकतान्त्रिक विधिबाट फालिएको पनि उनले बताए ।
यसरी प्रचण्डले बेचन झा प्रकरण जोडेर कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँग यो विषय लगातार जोडिरहेका छन् । यस्तै नुवाकोटको शेरा दरबारमा माओवादीलाई अनावश्यकरुपमा किन जोडेको भन्दै प्रचण्डले प्रश्न गरेका छन् । शेरा दरबार प्रकरणमा जोडिएका विकेश श्रेष्ठले धेरै वर्षदेखि पहिले नै पार्टी छाडिसकेको भन्दै सरकारको नाममा शेरा दरबारको जग्गा ल्याउन चुनौती समेत दिए ।
शेरा दरबार प्रकरणमा पछिल्लो समय माओवादी केन्द्रलाई जोड्न थालिएको छ । श्रेष्ठ कुनैबेला प्रचण्डको सचिवालयमै रहेकाले माओवादी केन्द्र नै जग्गा हिनामिना प्रकरणमा जोडिएको आरोप लागिरहेको छ । एमालेले प्रचण्डमाथि शेरा दरबारको जग्गा प्रकरणमा मुछिएपछि उनले अनेक आरोप लगाउन थालेको भनिरहेको छ ।
आरोप प्रत्यारोपमा नेताहरु
सत्ता सहकार्य टुटेपछि माओवादी केन्द्र र नेकपा एमालेबीच वाक युद्ध नै चल्न थालेको छ । एमाले नेताहरुले माओवादीमाथि अनेक आरोप लगाइरहेका छन भने माओवादी केन्द्रले पनि एमालेमाथि विभिन्न आरोप लगाइरहेको छ । गिरिबन्धु प्रकरणमा सर्वोच्चको आदेशपछि तत्कालीन केपी ओली सरकारले निर्माण गरेको कानून नै बदर भएको छ ।
कानून बनाउने विषयमै सर्वोच्चको अंकुशपछि माओवादी केन्द्रले यसमा ओलीलाई जोडिरहेको छ भने विवादित व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गा र भवन दानमा समेत प्रश्न उठिरहेको छ । यती, ओम्नी, वाइडबडी लगायतका विषयमा समेत एमालेमाथिका निशाना तीब्र बनिरहेकाले राजनीतिक दाउपेच झन पेचिलो बन्दै गएको छ । उसोतः ओली नेतृत्वको सरकारमा कांग्रेसले उकुसमुकुस भएको संकेत गरिरहेको बेला माओवादी एमालेबीचको द्वन्द्धले कस्तो स्थिति सिर्जना होला भन्ने प्रश्न समेत थप पेचिलो बन्न पुगेको छ ।