दोलखा । नेपालको कुल ग्राहस्थ उत्पादनको प्रमुख हिस्सा कृषिले ओगेटेको छ । तर पनि कृषकहरुले भोग्नु परेको समस्या र राज्यको उपेक्षाको कारण कृषि पेशाबाट पलायन हुनेको संख्या पनि बढ्दो क्रममा छ । तर दोलखा मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीका कृषकहरुले भने सुन्तला बिक्रिबाट बार्षिक १२ करोडसम्मको आम्दानी गरि उद्धाहरणीय बनेका छन ।
केहि बर्षअघिसम्म भारत र चीनबाट आयात भएका सुन्तला पाइने दोलखाका बजारमा स्थानीय सुन्तलाको माग बढेको छ ।
अहिले मेलुङ गाउँपालिकाको पवटीमा सुन्तलाको उत्पादनमा उल्लेख्य वृद्धि भएसँगै दोलखाका बजारहरुमा स्थानीय उत्पादनका सुन्तला पाइने गरेको छ । स्थानीय सुन्तलाको माग बढेपछि यहाँका कृषकहरु व्यवसायिक सुन्तला खेतीमा लागेका छन् ।
गाउँपालिकाले सुन्तला पकड क्षेत्र घोषणा गरेर अभियान नै चलाएको छ । अहिले यहाँका कृषकहरुले १ सयदेखि १५ सय बोटसम्म सुन्तला खेती गरिरहेका छन् । गाउँपलिकाको तथ्याङ्क अनुसार सुन्तला कृषकले सुन्तला बेचेर वार्षिक ३० हजार देखि ७ लाखसम्म पनि आम्दानी गरिरहेका छन् ।
यहाँको सुन्तलाको माग दोखलामा मात्र नभई सिन्धुली, रामेछाप, काठमाडौसम्म नै हुने गरेको छ । रातो माटो र पारिलो घाम लाग्ने भएकोले यहाँ फलेका सुन्तला अत्यन्तै स्वादिला हुने व्यापारी बताउँछन् ।
गाउँपालिकाका अनुसार गत बर्ष पवटीका कृषकहरुले सुन्तला बिक्रि गरेर १२ करोडसम्म आम्दानी गरेका थिए । यो वर्ष उत्पादनमा कमि आए पनि भाउ बढेकोले कृषकलाई घाटा नहुने व्यापारीहरु बताउँछन् ।
यहाँका उत्पादित सुन्तलाको बजारिकरणमा भने आजसम्म कुनै समस्या छैन । विभिन्न ठाउँका व्यापारीहरु किसानकै बोटमा आएर खरिद गर्ने गरेका छन् । व्यापारी मात्रै नभएर उपभोक्ताहरु सुन्तला किन्न पनि बोटमै पुग्ने गरेका छन् ।
पवटीको सुन्तलाको स्वाद अरुभन्दा विशेष भएकाले आफुहरुले बोटमै आएर किन्ने गरेको ग्राहकहरु बताउँछन् । किसानलाई व्यापारीहरुले बगानमै गएर ७० देखि ८० रुपैया प्रतिकिलो भाउ दिएर सुन्तला किन्ने गरेका छन् ।
दैनिक २ – ३ गाडीसम्म सुन्तला व्यापारीहरुले बगानबाट उठाउने गरेका किसानहरु बताउँछन् । हाल दोलखाका बजारहरुमा सुन्तता प्रतिकिलो १०० देखि १२० रुपैयाँ सम्म रहेको छ । धेरै मेहेनत गर्नु नपर्ने, ४÷५ बर्ष देखि राम्रो फल दिन सुरु गर्ने भएकोले आफुहरु यो खेतीमा लागेको कृषकहरुको भनाइ छ । तर एकै समयमा सुन्तला पाक्दा बाँदरले दुख दिने, कुहिएर झर्ने जस्ता समस्याहरु पनि किसानहरुले भोग्दै आएका छन् ।
मेलुङ गाउँपालिकाले पनि पवटीलाई सुन्तलाको पक्कड क्षेत्र बनाएर व्यवासाियक सुन्तला खेतीलाई प्रवद्धन गर्दै आइरहेको छ ।
सुन्तला कृषि व्यवसायबाट राम्रो आम्दानीको सम्भावना देखेसँगै उक्त भेगमा संघीय सरकारबाट १२ लाखसम्मको अनुदानका साथै पालिकाले पनि ५ लाख सम्मको अनुदान दिएको छ । यस भेगका सुन्तलालाई माघ फागुनमा निर्यात गर्ने गरि चाडै नै चिस्यान केन्द्र निर्माणको लागी पहल गरिरहेको पालिका प्रमुख हिरा थोकर बताउँछन् ।
कृषि प्रदान देश नेपाल कृषि उपजहरुमा पनि आयतकै भरमा छ । तीनै तहका सरकारहरुले कृषकमैत्री ठोस योजना नल्याउँदा कृषकहरु मार्काका परेका छन् ।
आफ्नो कृषि उपजको बजारिकरणको लागि बिचौलियाको भर पर्नुपर्दा पनि कृषकहरु घाटामै खेती गर्न वाध्य छन् । दोलखाको मेलुङ गाउँपालिकाले पालिकाका सुन्तला खेती गर्ने किसानहरुको हिताका लागि गरेका प्रयासलाई थप परिष्कृत गर्दै लैजानसके दोलखालाई सुन्तलामा आत्मनिर्भर बनाइ किसान अनि देशकै अर्थतन्त्रमा सकारात्मक पर्न सक्छ ।