News 24 Television
शेखर कोइरालाको देशदौडाहा, सभापति यात्रा कति सहज ? 

काठमाडौं । पार्टी नेतृत्व लिनका लागि कांग्रेस नेता डा. शेखर कोइरालाले देशदौडाहा शुरु गरेका छन् । इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले कांग्रेस नेतृत्व सहजै पाउलान् ? प्रश्नहरु पेचिला बनिरहेको बेला उनले चलाखीपूर्वक सन्तुलन मिलाउने गरि काम गर्न थालेका छन् । 

कांग्रेस नेता शेखर कोइराला आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार भएको सगौरव बताइरहेका छन् । पार्टी नेतृत्वको दौडमा आफु उभिने बताइरहेका शेखरलाई इतर पक्षबाटै समर्थन प्राप्त होला ? प्रश्नहरु धेरै छन् । तर उनको गुटका नेताहरु नै तितरबितरको अवस्थामा रहेकाले शेखर देशदौडाहामा पुगेर गरिरहेको दौडधुपले पनि कांग्रसको आन्तरिक राजनीति रोचक मोडमा पुगेको छ । 

शेखरले केहिदिन पहिले कांग्रेस महामन्त्री गगन थापाले के गर्छन् भन्ने विषय आफूलाई जानकारी नभएको र आफू सभापतिमा उठ्ने टर्रो जवाफ दिएका थिए । 

कोइरालाले यस्तो जवाफ दिएपनि कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा पुगेर केहि सम्हालिए । उनले देउवालाई दाई समानको मान्छे भन्दै उनीप्रति वैरभाव नरहेको सन्देश दिए । त्यसपछि उनको पक्षमा ठूलो नाराबाजी नै चलेको थियो । 

यसरी राजनीतिक दौडधुप बढाइरहेका कोइरालाले विभिन्न स्थानमा पुगेर पार्टी नेतृत्वका लागि प्रतिष्पर्धामा जाने बताइरहेका छन् । यस्तै, उनले फेरि अहिले शेरबहादुर देउवासँग राम्रो सम्बन्ध रहेको र गगन थापा आफ्नै टिममा रहेको भन्दै सन्तुलन मिलाउन थालिसकेका छन् । 

कांग्रेसको आगामी महाधिवेशनमा देउवा अब सभापतिको उम्मेदवार बन्न विधानले रोक्छ । तरपनि सभापति बन्न बने देउवाकै आशिरवाद चाहिने अवस्था छ । यसकारण पनि अबको सभापतिमा देउवाले अघि सार्ने पात्र र इतर पक्षबीचकै प्रतिष्पर्धा पेचिलो हुनेछ । 

यता, कोइराला क्याम्पमै रहेका महामन्त्री गगन थापा अहिले टाढिएजस्तो देखिएका छन् । महामन्त्री थापाले देउवालाई केन्द्र बनाएर राजनीतिक गतिवधि गरिरहेका छन् । उसोतः अब कांग्रेसको राजनीति नेतृत्व होडका कारण पनि थप रोचक हुनेछ । 

कोइराला विरासतका प्रश्न

शेखर कोइराला आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने निश्चित हुँदा के देउवाले कोइराला परिवारमा कांग्रेसको नेतृत्व आफ्नै पालामा सुम्पिने आँट गर्लान ? 

धेरैले शंकाले हेर्ने प्रश्न हो यो । देउवाको यहि मनोविज्ञान बुझेका गगनले क्याम्प परिवर्तन गर्ने र देउवाको उत्तराधिकारी बन्ने प्रयास गर्ने चर्चा चलिरहेको छ । तर, कोइराला परिवारमै आन्तरिक एकता बलियो हुन नसक्दाको फाइदा अन्य समूह र गुटले पनि लिनसक्ने स्थिति बनेको चर्चा पनि चल्ने गरेको छ । 

अहिले कांग्रेसको नेतृत्व कोइराला विरासतबा बाहिर आएकाले देउवाले चाल्ने कदम, इतर पक्षको आन्तरिक एकता र विभिन्न पक्षले नेतृत्व चयनलाई थप प्रष्ट पार्नेछन् । 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update