News 24 Television
आरुखर्क माविको स्वर्ण जयन्तीमा ६१ लाखभन्दा बढी आम्दानी

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १ स्थित श्री आरुखर्क माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती गत पुस ७ गते भव्य रूपमा मनाएको छ।  सो सामारोहमा भएको खर्च र आम्दानीको हिजो शनिबार विद्यालयमा एक कार्यक्रमकाबिच आर्थिक सङ्कलन उपसमितिले विवरण सार्वजनिक गरेको हो ।

विद्यालयले समारोहको दौरान खर्च र आम्दानीको विवरण सार्वजनिक गर्दै कुल ६१ लाख ६६ हजार ३९८।५९ रुपैयाँ आम्दानी भएको जनाएको छ। यसमा रसिद आय (आर्थिक सहयोग रसिद)र अक्षयकोषको योगदान पनि रहेको छ, भने ७ लाख ५९ हजार ४७४।४ खर्च भएको आर्थिक सङ्कलन उपसमितिका संयोजक विकास खतिवडाले जानकारी दिए । 

6eb26c81-99f7-4085-84a0-d1fab2215706-1735472094.jpg
 

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुर्दशन खतिवडाले विद्यालयको आर्थिक प्रगति र ६१ लाखको आम्दानीको बारेमा चर्चा गर्दै विद्यालयले हजारौं विद्यार्थीलाई देशका विभिन्न क्षेत्रमा योगदान पुर्याउन सक्षम बनाएको र सोही विद्यार्थीहरुले गरेको सहयोगप्रति गर्व व्यक्त गरे। उनले विद्यालयको आर्थिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गरि आगामी दुई वर्षभित्र विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य रहेको बताए।

आर्थिक सङ्कलन उपसमितिका संयोजक खतिवडाले आफूले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको बताए । उनले आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।  उनका अनुसार, यस उपलब्धिले विद्यालयको भौतिक र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।

आगामी दिनहरूमा पनि खतिवडाले विद्यालयको समग्र प्रगतिको लागि आफ्नो सक्रिय भूमिका निभाउने बताए। उनले विद्यालयलाई एक समृद्ध र सबल संस्थाको रूपमा स्थापित गर्न आफ्नो सम्पूर्ण प्रयास जारी राख्ने दृढ निश्चय व्यक्त गरे। नुवाकोट जिल्ला क्षेत्र नम्बर २ का सङ्घीय सांसद अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा र बागमती प्रदेशका सांसद राम प्रसाद ढुङ्गानाको विशेष आतिथ्यमा स्वर्ण जयन्ती सम्पन्र भएको थियो । 

5260c455-6fe1-461a-b56d-a6b3a1f89dfb-1735472111.jpg
 

समारोहमा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन, खेलकुद गतिविधिहरू र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । साथै, स्वर्ण महोत्सवको सफलताका लागि आर्थिक र भौतिक सहयोग पुर्याउने दाता, जग्गा दाता, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूलाई सम्मानित  कार्यक्रम पनि गरेको थियो ।

कार्यक्रमको समापन गर्दै वि व्य स अध्यक्ष नवराज खतिवडाले उक्त कार्यक्रम भव्य रुपमा सफल बनाउन योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिए।

आरुखर्क माध्यमिक विद्यालय विसं २०३१ सालको पौष ७ गते औपचारिक रूपमा स्थापना भएको थियो । विद्यालयले ५० वर्षको यात्रामा शिक्षा र समुदायका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update