News 24 Television
दीक्षित विद्यार्थी, अभिभावक र सरकार नै असन्तुष्टः त्रिविका चुनौति कस्ता ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोह विद्यार्थीहरूका लागि उत्साह र प्रेरणाको महत्वपूर्ण क्षण बनेको छ । 

दीक्षान्तले विश्वविद्यालयको शैक्षिक इतिहास र यसको भूमिकालाई उजागर गरे पनि त्रिविका चुनौतीहरू प्रस्ट देखिएका छन् । शैक्षिक गुणस्तरदेखि पाठ्यक्रमको अद्यावधिकता र अनुसन्धानमा लगानीको न्यूनताले विश्वविद्यालयको प्रभावकारितामा प्रश्न उटिरहेको छ । 

त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा १४ हजार ३ सय ८ बढी विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिवी विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा गोल्ड मेडलिस्ट विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरे । 

स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि(पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विभिन्न १७ वटा विधाका पुरस्कार वितरण गरिएको थियो । 

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति केपी ओलीले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमाअघि बढाउनुपर्ने र आदरणीय, प्राचनिय थलोको रुपमा विकास गर्नुपर्ने बताए । नेपाली समाज सभ्य समाज रहेको उल्लेख गर्दै त्रिविका कमी, कमजोरीहरुलाई सुधार गर्दै जाने प्रतिबद्धता पनि जनाए । 

विद्यार्थीई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिविको चुनौती हो । दीक्षित हुन आएका विद्यार्थीले त्रिविका कमी कमजोरी पनि औल्याएका छन् । सैद्धान्तिक ज्ञानले मात्रै विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै उनीहरूले व्यवहारीक सिकाइमा जोड दिन सुझाव दिएका छन् । 

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भौतिक पूर्वाधार, जनशक्तिको व्यवस्थापनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला, मागअनुसार पाठ्यक्रम र विषयहरुलाई प्राथमिकिकरण गर्न नसक्नु जस्ता विषयहरु विश्वविद्यालयको विकासका लागि बाधक बनेको स्वीकार गरेकी छन् । 

नेपालको शिक्षाको गुणस्तर, शैक्षिक अवस्थिति, शिक्षापछि रोजगारीको अवस्था लगायत कारण विद्यार्थीहरूको विदेशीने क्रम रोकिएको छैन । विद्यार्थी मात्रै होइन, अभिभावकले पनि आफ्नो छोराछोरीका लागि देशमा बस्ने वातावरण देख्दैनन् । 

नेपालकै जेठो विश्वविद्यालयलाई पाठ्यक्रमको सुधार, विश्वव्यापीकरणलाई अंगाल्ने र अध्यावधिक ढंगले प्रतिष्पर्धी जनशक्ति उत्पादनमा जोड दिदै रोजगारीको अवसरका ढोका खोल्न अग्रसर हुनुपर्ने स्थिति बनेको छ । तर, विश्वविद्यालयले यस्ता कुरामा ध्यान दिन नसक्दा विश्वसनीयता घट्दोक्रममा छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update