काठमाडौं । राजनीतिक खिचातानीकाबीच प्रमुख तीन दलले पुस २१ गतेलाई केन्द्रमा राखेर केन्द्रिय समिति बैठक बोलाएका छन् । एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले पुस २१ गते छुने गरि बैठक बोलाउनुका केहि कारण छन् ? धेरैले शंका गर्न थालेका छन् ।
राजनीतिक वातावरण खास बन्न सकेको छैन् । केपी ओली नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको गुनासो प्रतिपक्षमा मात्रै नभई सत्तारुढ दल नेपाली कांग्रेसले समेत गरिरहेको छ । कांग्रेस नेताहरुले नै यसरी सरकारको आलोचना गर्नु र परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाको भारत भ्रमण अर्थपूर्ण बन्न नसकेपछि यसबारेका विभिन्न आशंका चलिरहेका छन् ।
यस्तोमा तीन दलले पुस २१ लाई टेक्ने गरि बोलाएका केन्द्रिय समिति बैठकले फेरि राजनीतिक उथलपुथलको आशंका गर्न थालिएको छ ।
पुस २१ को राजनीतिक साइत
राजनीतिक तरलता स्पष्ट रुपमा देखिन थालेको छ । सत्ता र प्रतिपक्षबीचमात्रै नभई सत्तापक्षबीच नै मतभेदहरु बाहिरिन थालेका छन् ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार कहिलेसम्म भन्ने प्रश्न चलिरहेकै बेला कांग्रेसको एक पक्षले चीन भ्रमणमा भएको बीआरआई सम्झौतामा समेत चित्त दुखाएका छन भने भारतसँग अनेक हारगुहार गरेको आरोप पनि लाग्न थालेको छ ।
यस्तोमा ओली नेतृत्वको सरकार लामो समय नजाने र गठबन्धन फेरिने हल्ला व्याप्त छन भने पुस २१ को राजनीतिक साइतले भने थप शंका उब्जाएको छ । यस्तोमा हेरौं तीन दलको पुस २१ को साइतवाला बैठकको तिथिमिति ।
नेकपा एमाले
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पुस २१ र २२ गतेका लागि केन्द्रिय समिति बैठक डाकेको छ । एमालेले केन्द्रिय समिति बैठकको मिति पुस २१ र २२ तोकेको छ भने यसमा एमालेले भीम रावलसहितका नेताहरुमाथिको कारबाही अनुमोदनसहित अन्य राजनीतिक निर्णय गर्ने ठानिएको छ । तर, बैठक बोलाइएको समय भने शंकाको घेरामा रहेकाले चर्चा चल्न थालेको छ ।
नेकपा माओवादी केन्द्र
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि पुस २१ गतेका लागि केन्द्रिय समिति बैठक डाकेको छ । माओवादी केन्द्रले केन्द्रिय समिति बैठकअघि पदाधिकारी बैठक पनि डाकेको छ भने त्यहि बैठकले एजेण्डा तय गर्ने भनिएको छ ।
माओवादी केन्द्रले सरकार फेर्न विभिन्न प्रस्ताव ल्याएको आरोप कांग्रेस महामन्त्री गगन थापाले पहिले नै लगाइसकेका छन् । भने उनलाई प्रचण्डले जवाफ पनि फर्काएका छन् ।
तर, फेरि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले फेरि दुबै दलले सरकार फेर्ने प्रस्ताव ल्याउन थालेको आरोप रुकुम पूर्व पुगेर लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी
सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराध आरोपपछि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अनुपस्थितिमा केन्द्रिय समिति बैठक बस्न लागेको छ ।
रविको थुनछेक बहसपछिको स्थिति र पार्टीबारेका विभिन्न विषयमा केन्द्रिय समितिको विस्तारित बैठकमा छलफल गर्ने भनिएको छ । भने रास्वपाले पनि पुस १९ देखि २१ सम्मलाई नै केन्द्रिय समिति बैठक डाकेको जानकारी दिएको छ ।
रास्वपा सभापति रविको हिरासत यात्रापछि संकटमा छ । यस्तोमा राजनीतिक प्रतिशोधको विषयलाई केन्द्रमा राखेको रास्वपा पछिल्लो समय मौनप्रायः देखिन्छ ।
भने रास्वपा अदालतमा रविविरुद्धको सांसद पदबाट निलम्बनबारे अपिल गर्ने तयारीमा थियो । तर, अन्तिममा न्यायिक प्रक्रियालाई सघाउने भनिरहेको छ । यसले पनि शंकाका घेराहरु निर्माण हुँदै गएका छन् ।
केन्द्रिय समिति र महत्व
केन्द्रिय समिति कुनैपनि पार्टीको सर्वोच्च निकाय हो । केन्द्रिय समितिले गर्ने निर्णय अन्य तह र निकायले फेरबदल गर्न सक्दैनन् । यसको अपनत्व महाधिवेशनको हललेबाहेक फेरबदल गर्न सक्ने स्थिति हुन्न ।
यसकारण पनि केन्द्रिय समितिले गर्ने निर्णय नै सर्वोच्च हुने भएकाले अहिले तीन पार्टीले पुस २१ को साइत छोएर बोलाएको केन्द्रिय समितिको बैठकलाई महत्वका साथ हेरिएको छ ।