मकवानपुर । चितवनको सौराहामा १८ औं हात्ती तथा पर्यटन महोत्सव जारी छ । पाँच दिनसम्म चल्ने हात्ती महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने लक्ष्य राखिएको छ ।
चितवनको जैविक विविधतामा प्रत्यक्ष सहयोग गर्ने हात्ती संरक्षणमा जुटेका पर्यटन व्यवसायीहरु सौराहा चिनाउने हात्तीलाई विश्वमा चिनाउने जमर्कोमा लागेका हुन् ।
सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हात्ती तथा पर्यटन महोत्सवको रौनक छ । पर्यटन व्यवसायीहरुले पालेका हात्तीहरु महोत्सवमा उभ्याइएका छन् ।
हात्ती हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । महोत्सवमा निजी हात्तीमात्रै प्रयोग गरिएको होटल तथा पर्यटन व्यवसायीहरु बताउँछन् । सौराहालाई विश्वमा चिनाउन सफल हात्ती संरक्षणमा यहाँका पर्यटन व्यवसायीहरु लागि परेका छन् । यद्यपि, ठुलो ज्यान भएकै कारण हात्ती पाल्ने काम भने कठिन नै छ ।
पहिले÷पहिले सौराहा आसपासमै निजी हात्तीहरु करिब डेढ सयको हाराहारी थिए । तर पछिल्लो समय यसको पालन, पोषण र संरक्षणमै चुनौती थपिदै गएपछि नीजि हात्तीको संख्यामा कमी आएको छ ।
२०५८ सालमा हात्ती दौड कार्यक्रमबाट सुरु भएकोमा यसलाई परिमार्जन गर्दै हात्तीकै जिल्लाको रुपमा चिनाउन सफल भएको युनाइटेड हात्ती सञ्चालन संस्थाको अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी तथा हात्ती संरक्षक ऋषी तिवारी बताउँछन् ।
निकुञ्जमा पालिएका हात्तीलाई सरकारले खुवाउने र संरक्षण गर्ने गर्छ । निजी हात्तीको जिम्मेवारी भने स्वयंमको हुन्छ ।
सन् २००४ मा पहिलो पटक सुरु भएको यो महोत्सव अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिताका नाममा सुरु भएको थियो । त्यतिबेला हात्ती सँग सम्बन्धीत अन्य खेल जोडिएको थिएन ।
हाती दौडको परिकल्पना गरी सुरु गरिएको खेल अहिले चितवन हात्ती महोत्सव को १८ औं संस्करणसम्म आइपुगेको छ । हात्ती र मानवबीचको सम्बन्ध कस्तो छ र कस्तो हुन पर्छ भनेर देखाउनु पनि महोत्सवको उदेश्य रहेको आयोजकको दाबी छ ।