News 24 Television
राहुघाट जलविद्युत आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ । 

भारतीय आयात–निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माणको कामलाई तिब्रता दिएको छ । 

आगामी २०८२ को असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित भौतिक संरचना निर्माण र उपकरण जडानको कामलाई तिब्रता दिइएको आयोजनाका सिभिल महाशाखा प्रमुख रविन कट्टेलले जानकारी दिएका छन् । 

मुख्य सुरुङको चार वटा अडिटबाट दुई हजार दुई सय ४३ दशमलब आठ मिटर लाइनिङ (ढलान र पलास्टर) सकिएको छ । रघुगंगा गाउँपालिका–४ दग्नाम र –५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध र तिल्केनीचौरमा विद्युतगृह निर्माणाधिन छ । 

सिभिलतर्फ ७२ र इलेक्ट्रोमेकानिकल तर्फ ३० प्रतिशत प्रगति भएको आयोजनाको सिभिल ठेकेदारसँग वि.स. २०७४ मङसिर महिनामा ठेक्का सम्झौता भएको थियो । 

ठेक्काको ४५ महिनाको अवधीमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरि बिद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ । 

राहुघाटबाट उत्पादन हुने बिद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत दुई सय २० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो (लुप इन, लुप आउट) माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रशारण लाइन पनि बनिसकेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update