काठमाडौँ । नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (एनएमएसआरए) को काठमाडौँ कार्यसमितिका लागि २०२५–२०२६ कार्यकालको निर्वाचन सम्पन्न भएको छ।
कोश राज अवस्थीको नेतृत्वमा रहेको प्यानलले अत्यधिक मत ल्याएर विजयी हुँदै नयाँ कार्यसमिति गठन गरेको छ। संगठनलाई बलियो बनाउने, व्यावसायिकताको स्तर उकास्ने र सदस्यहरूबीच सहकार्य र एकता प्रवर्द्धन गर्ने उद्देश्यका साथ नयाँ नेतृत्व चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कोशराज अवस्थी, वरिष्ठ उपाध्यक्षमा राजीव कृष्ण कर्ण, उपाध्यक्षमा मनिष मल्लिक, महासचिवमा बिनय रोका, काषाध्यक्षमा सुदर्शन ढकाल, संयुक्त सचिवहरूमा राजकृष्ण ठाकुर र चक्र रिमाल, सयुक्त कोषाध्यक्षमा सम्झना कर्माचार्य र सदस्यहरू, समीर जयसवाल, अतिश तिवारी, रञ्जित कृष्ण प्रसाद, अर्जुन सिलवाल, र अशिष चौलागाईं निर्वाचित भएका छन् ।
संगठनलाई प्रगतिशील बनाउने प्रतिबद्धता
नवनिर्वाचित अध्यक्ष कोशराज अवस्थीले संगठनलाई अझ सुदृढ, पारदर्शी, र परिणाममुखी बनाउने प्रतिबद्धता जनाउँदै संगठनका सम्पूर्ण सदस्यहरूलाई सहकार्यका लागि धन्यवाद दिएका छन्।
उनका अनुसार संगठनले सदस्यहरूको पेशागत हकहितको संरक्षण गर्दै उनीहरूको सिप विकास र पेशागत तालिमका क्षेत्रमा प्राथमिकता दिनेछ।
उद्देश्य
यस कार्यकालको नारा, “सक्षम नेतृत्व, सुदृढ संगठन, प्रगतिशील पेशा र एकताको प्रवर्द्धन”, संगठनको स्पष्ट उद्देश्यलाई प्रतिनिधित्व गर्दछ। संगठनले पेशागत मर्यादा र सदस्यहरूको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गर्न आवश्यक नीति र कार्यक्रम लागू गर्ने लक्ष्य राखेको छ।
सदस्यहरूको अपेक्षा र समर्थन
सदस्यहरूले नवनिर्वाचित कार्यसमितिप्रति आफ्नो आशा र विश्वास व्यक्त गर्दै, संगठनको थप विकास र पेशागत हितको प्रवर्द्धनमा नयाँ टोलीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका छन्।
नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै, एनएमएसआरए परिवारका सम्पूर्ण सदस्यहरूको सहयोग र साथ रहने विश्वास गरिएको छ।