काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक संकटको संघारमा छ । कार्यबाहकको जिम्मामा रहेको रास्वपाले पार्टी पद्धतिलाई कसरी अघि बढाउला ? सांसद पद निलम्बनमा परेपछि रवि लामिछानेले पार्टी नेतृत्वबाट कसरी व्यवस्थापनको बाटो समात्लान ? यस्ता तमाम प्रश्नहरु छरपष्ट छन् । यस्तोमा रास्वपाभित्र के हुँदैछ त ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरणको अभियोग दायर भएसँगै उनको सांसद पद निलम्बनमा परिसकेको छ । रास्वपाले निलम्बनविरुद्ध सर्वोच्च जाने बताएपनि अन्योलतामै रहेर न्यायिक निरुपणलाई सहयोग गर्ने भनिरहेको छ । तर, रवि सम्पत्ति शुद्धिकरणमा सांसद पदबाटै निलम्बनमा परेपछि पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन, डोलप्रसाद अर्याल ’डीपी’ले । डीपीमाथि अब पार्टीलाई चलायान बनाउने र रास्वपाको साख जोगाउने गहन जिम्मेवारी आइपुगेको छ । तर, उनी रविलाई भेट्न जानैमै व्यस्त हुन्छन् ।
प्रायः हिरासतमै रविलाई भेट्न पुग्ने डीपीले पार्टी नेतृत्वलाई कुशलतापूर्वक सञ्चालन गर्नेमा धेरैले शंका गर्ने गरेका छन् । भने रास्वपाका महत्वपूर्ण पदहरु नै कार्यबाहकको जिम्मामा छ । ती पदहरु के–के छन त ?
१. कार्यबाहक सभापति
२. कार्यबाहक महामन्त्री
३. कार्यबाहक प्रवक्ता
पार्टीका मुख्य तीन पद नै कार्यबाहकको जिम्मामा कहिलेसम्म चल्ने हुन् ? यो विषय पेचिलो बनिरहेको छ । महामन्त्री मुकुल ढकाल कारबाहीमा परेदेखि रिक्त रहेको महामन्त्री पद किन र कसका लागि थाँति राखिएको छ भन्ने विषय नै रोचक देखिन्छ । पार्टीमा रहेका नेताहरु व्यवस्थापन र पदीय मिलान समस्याका कारण पनि रास्वपा अब कार्यबाहकको जिम्मामा हुर्किनेछ ।
मुख्य पदमा नै कार्यबाहकले लामो समयसम्म पार्टी हाँक्नुलाई धेरैले राजनीतिक असक्षमताको रुपमा ब्याख्या गर्ने गरेका छन् ।
संसदीय दलको नेतामा पनि तनाव
संसदीय दनको नेता पार्टी सभापति रवि लामिछाने नै थिए । तर, उनी निलम्बनमा परेपछि संसद चल्नुअघि नै नेता चयन गर्नुपर्ने बाध्यता छ । यस्तोमा दलको नेता कसलाई बनाउने भन्ने विषय पनि रविले निर्णय गर्ने स्थितिमा कसलाई जिम्मा देलान चासो छ ।
उपसभापति डा. स्वर्णिम वाग्लेदेखि सुमना श्रेष्ठसम्म दल नेताको आकांक्षीको रुपमा देखिएका कारण पनि डीपीले नै बाजी मार्ने त होइनन भन्ने प्रश्न पनि छ । तर, दलको नेता चयनमै सकस पर्ने र पार्टीको समस्या थप चर्किने सम्भावना पनि उत्तिकै देखिन थालेको छ ।
रविको निलम्बनपछिको प्रश्न
सांसद पदबाट निलम्बनमा परेपछि रास्वपाले कार्यबाहक सभापति तोकेको छ । तर, अहिलेका सभापति नेपालमै रहेको र गम्भीर आरोपमा हिरासतमा रहेको स्थितिमा उनलाई भने निलम्बन गरिएको छैन् ।
सामान्यतया विदेश जाँदा, गम्भीर विरामी परेर कार्यसम्पादन गर्ने स्थिति नहुँदा र भवितव्यबाहेकमा पदमा रहेको व्यक्ति हुँदाहुँदै कार्यबाहकको व्यवस्था गरिदैन् । यस्तोमा रविमाथिको आरोपबारे अदालतले अन्तिम निर्णय नदिएसम्म निलम्बन गर्नुपर्ने राजनीतिक परम्परा पनि छ । तर, रास्वपाले सभापति रविको हकमा यस्ता प्रावधान आकर्षित नगर्दा प्रश्न गर्न थालिएको छ ।
उसोतः डीपीलाई रविले नै कार्यबाहक तोकेर पठाएका छन् । यसले राजनीतिक वृत्तमा प्रश्नहरु समेत देखिन्छन् । हुनतः दलहरुले आफ्नो अनुकुलतामा यो विधि लागू गर्ने गरेका छन् । कांग्रेसले बालकृष्ण खाँणलाई निलम्बन नगरि लामो समय पर्खियो र उनी हिरासतमुक्त बनेपछि अहिले राजनीतिक रुपमा सक्रिय नै छन् ।
भने एमालेले तत्कालीन सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको थियो । यद्यपी उनी अहिले पूर्पक्षका लागि थुनामा छन् ।
यसरी हेर्दा राजनीतिक दृश्य र अनुकुलता पनि हेर्ने गरेिन्छ । तर, सामान्यतया अदालतमा मुद्दा चलेपछि अन्तिम निर्णय नआएसम्म यस्तो अभ्यास अपनाउनुपर्नेमा दलहरुले सचेतता देखाउन भने जरुरी देखिन्छ ।