News 24 Television
शंकर पोखरेल प्रचण्ड केन्द्रित आरोपमा मस्तः किन भने अराजक ?

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले प्रचण्डमाथि निरन्तर प्रहार गरिरहेका छन् । प्रचण्डले राजनीतिक अराजकता निम्त्याउने प्रयास थालेपछि कांग्रेस एमाले मिलेर सरकार गठन गरेको गठबन्धनले तर्क दिन थालेको छ । तर, पोखरेल भने प्रचण्ड केन्द्रित रहेरै विरोध गरिरहेका देखिन्छन् । 

कांग्रेस एमालेको सत्ता गठबन्धनलाई धेरैले अप्राकृतिक भनिरहेका छन् । संसदीय अभ्यास भएका मुलुकहरुमा पहिलो र दोश्रो दल मिलेर सरकार निर्माण गर्ने विषय नहुने भन्दै सार्वजनिक आलोचना चलिरहेको बेला यो तथ्यलाई पुष्टी गर्ने आधार बनेका छन, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड । यस्तोमा प्रचण्डले गठबन्धन फेर्ने र पटक–पटक विश्वासको मत लिदै माओवादी केन्द्रको ३२ दिटलाई म्याजिक नम्बर भन्ने गर्थे । 

प्रचण्डले यतिमात्रै नभई जतिपटक विश्वासको मत लिनुपरेपनि आफु सफल हुने दाबी समेत गर्ने गरेका थिए । यस्तै दाबी र सकसका कारण पनि प्रचण्ड नेतृत्वको सरकार कहिलेसम्म भन्ने प्रश्नहरु थप पेचिला बनिरहेका थिए । यसमा प्रचण्डले दम्भका साथ चुनौति दिदै विश्वासको मत जति पटक लिएपनि पाउने बताइरहन्थे । 

यतिमात्रै नभई प्रचण्डले संसदमै कांग्रेस एमालेलाई मिल्न चुनौति समेत दिन्थे । संसदीय अभ्यासलाई पछ्याउने कांग्रेस एमाले सकेसम्म मिल्दैनन भन्ने ठानेका प्रचण्डले प्रश्न उठाउने गरेपनि उनले संसदमै दुई दललाई पेचिलो जवाफ दिने गरेका पाइन्थे ।

सरकारबाट बाहिरिएपछि पनि प्रचण्डले यसरी विरोध र प्रतिवाद गर्न थालेपछि एमाले महासचिव शंकर पोखरेल पनि विरोधमा समय खर्चिने गरेका छन् । उनले जनमत गुमाएकाहरुले तलमाथि गर्न खोजेपछि सवक सिकाएको भनिरहेका देखिन्छन् । 

पोखरेलले नेपालको राजनीतिक प्रणालीमा समस्या पैदा गर्ने पात्रको रुपमा प्रचण्डलाई उभ्याउने कोसिस समेत गरिरहेका छन् । प्रचण्डले अराजकता निम्त्याउन खोजेपछि कांग्रेस एमाले मिलेको पोखरेलको दाबी छ । 

सत्ता गठबन्धनमा पछिल्लो समय भएको सहमतिपछि एमाले र माओवादी केन्द्रबीच चर्को मतभेद र घोचपेच चलिरहेको छ । 

यस्तोमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीमाथि अनेक आरोप लगाइरहेको छ भने माओवादी केन्द्रमाथि एमालेले पनि यसैगरि आरोपित गर्ने गरेको छ । तर, राजनीतिक स्थिरताको जगमा बन्ने सरकार र नेताहरुले देखाउने व्यवहार भने लोकतन्त्रविरुद्धका नै देखिन्छन् । यसरी हेर्दा नेताहरु आरोप–प्रत्यारोपमा उत्रिएपनि जस्तोसुकै स्थिति सिर्जना गर्दै मिल्न सक्छन र छुट्टिन पनि तयार हुन्छन भन्ने भाष्य स्थापित भने भइसकेको छ ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update