News 24 Television
१८औँ हात्ती तथा पर्यटन महोत्सवमा छुट्टै चहलपहल

चितवन । चितवनमा जारी १८ औँ हात्ती तथा पर्यटन महोत्सवमा मह महोत्सवले पनि छुट्टै चहलपहल दिइरहेको छ । चितवनमा उत्पादित महलाई ब्राण्डिङ गर्न जारी हात्ती महोत्सवकै अवसरमा पहिलोपटक मह महोत्सवको पनि आयोजना गरिएको हो । 

बिहिवारदेखि शुरु भएको महोत्सवमा स्थानीय अर्गानिक महको प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्वादमा मिठास, स्वदेशी महमा विश्वास मूल नाराका साथ मह महोत्सव पनि गरिएको हो । महोत्सव प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना एकाई समितिले गरेको हो ।

मह महोत्सवका लागि कृषि मन्त्रालयले ४ लाख २५ हजार रुपैयाँ बजेट समेत उपलव्ध गराएको छ ।

मह महोत्सवमा १० वटा स्टल राखिएका छन् । जसमध्ये एउटा स्टलबाट परियोजना एकाई समितिले महको महत्व बढाउन मह चखाउने लगायतका जानकारीहरु दिइरहेको छ भने बाँकी ९ वटा स्टलहरुमा मौरी पालक किसानहरुले आफुले उत्पादन गरेका मह विक्रिवितरणका लागि राखेका छन् । 

महोत्सवका सहभागिहरु निकै स्वाद लिएर मह चाखिरहेको दृश्य देख्न सकिन्छ । थोरै लगानीमा राम्रै आम्दानी हुने मौरी पालन मानिन्छ । तर पछिल्लो समय वनजंगल मासिदै जाँदा र खेतीपाती कम गर्न थालिएपछि भने पहिलाजस्तो मौरीपालन अहिले सहज छैन ।

हात्ती महोत्सवको उद्घाटन गर्न आएका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सवका कारण स्वदेशी उत्पादनले बजार पाएको हुँदा यसले मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउने बताए ।

नेपालमा विशेषगरी ५ प्रकारमा मौरी पाइन्छन् । तीमध्ये अहिले चितवनमा मेलीफेरा र सेरेना प्रजातीको मौरीहरुबाट बढि मात्रामा मह उत्पादन हुँदै आएको छ । जिल्लामा प्रत्येक वर्षमा करिब ८ सय मेट्रिक टन मह उत्पादन हुने गरेको अनुमानित तथ्यांक छ । 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update