काठमाडौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली आएदेखि नै पार्टीका प्रभावशाली नेताहरु क्रमशः तितरबितर हुँदै आएका छन् । ओलीले सुनियोजित ढंगले आफ्ना विरोधी एवं प्रतिस्पर्धी नेताहरुलाई हराएर, दबाएर या कारबाही गरेर पार्टीबाट निस्कन बाध्य पार्दै आएको आरोप पछिल्लो घटनाले थप पुष्टि गरिदिएको छ । एमालेमा ओलीको एकाधिकार, निरंकुशता, स्वेच्छाचारी निर्णयहरुको विरोध गर्दै आएका माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्रीहरु अघिल्लो आम निर्वाचनअघि नै निस्कन बाध्य पारिएका थिए । अहिले आएर मिसन ०८४ को नारा लगाइरहेको एमालेबाट अर्का प्रभावशाली नेता, पूर्व उपाध्यक्ष भीम रावललाई पनि निष्काशन गरिएपछि एमालेभित्र थप खैलाबैला चलेको छ । भीम रावलसँगै पार्टीमा सुशासनको कुरा उठाएका विन्दा पाण्डे र उषाकिरण तिम्सेना पनि ६ महिना निलम्बनमा पारिएका छन् ।
बुधबार बसेको एमाले सचिवालय बैठकमा करिब आधा दर्जन पदाधिकारीको असहमतिका बाबजुद अध्यक्ष ओली र उनको गुटले भीम रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । ओली पक्षधर नै मानिएका पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतले कारबाहीको विपक्षमा बोल्दा पनि ओलीले उनीहरुका कुरा नसुनेको बताइएको छ । बुधवार पार्टी निर्णय सुनाउँदै उपमहासचिव ज्ञवालीले भीम रावललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको र स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रिय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी खोसिएको बताए । पार्टीको भवन निर्माणको सन्दर्भमा विवादित व्यवसायी मिनबहादुरबाट जग्गा दान लिन नहुने पक्षमा उनीहरुले अभिव्यक्ति दिएकै कारण जिम्मेवारी खोस्दै ६ महिनाका लागि निलम्बित गरिएको ज्ञवालीले बताए ।
आगामी निर्वाचनको तयारीमा रहेको यो बेला नेताहरुमाथि फरक विचार राखेकै आधारमा यसरी निरकुंश÷निर्मम कारबाही गर्दा नराम्रो सन्देश जाने भन्दै ७ जना पदाधिकारीले विरोध जनाउँदा पनि ओली पक्षधर नेताहरु कारबाही गर्ने निर्णयमा पुगे । ओलीको इच्छाविपरीत बोल्दा पद नै गुमाउनुपर्ने त्रास सृजना भएको एमालेमा अन्य पदाधिकारीहरु थप बोल्न समेत नसकेको बताइएको छ । बुधबारको सचिवालय बैठकमा लामै छलफल चलेको थियो, जहाँ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र सचिव रघुबीर महासेठले भीम रावल लगायत नेताहरुमाथि कारबाही गर्ने ओलीको चाहनामा समर्थन जनाएका थिए । तर उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले चाहिँ रावलमाथि तत्काल निष्काशनको कारबाही गर्न नहुने र यसमा पुनर्विचार गर्नुपर्ने धारणा राखेको बताइन्छ ।
सबैका कुरा सुनिसकेपछि अध्यक्ष ओलीले पार्टीमा अनुशासन कायम गराउनका लागि कारबाही गर्नैपर्ने निर्णय लिएको बैठकमा सहभागी नेताहरुको प्रतिक्रिया आइरहेको छ । पछिल्लो समय एमालेभित्र अध्यक्ष ओली सर्वेसर्वा देखिन्छन्, उनले गरेको निर्णयमाथि प्रश्न उठाउने नेताहरु कि पद नै गुमाउनु पर्ने नभए अन्य अवसरबाट वञ्चित हुनुपर्ने अवस्थामा पुगेको देखिन्छ । पार्टीभित्र आन्तरिक लोकतन्त्र, सुशासन, विधि र पद्धति ओली एवं उनी पक्षधर सीमित नेताहरुको गुटका कारण धरापमा परेको एकथरी नेताहरुको विश्लेषण छ ।
आफूमाथि ओलीले निर्मम, निरंकुश, स्वेच्छारी र तानाशाही निर्णय गरेको प्रतिक्रिया दिँदै भीम रावलले यस घटनापछि एमालेमा पहिरो जाने दाबी गरेका छन् । उनले करिब ५ दशकसम्म पार्टीका लागि दिएको योगदानको अवमूल्यन गरेको भन्दै ओलीको तानाशाही कदमले एमालेभित्र सुशासन र विधिका लागि आवाज उठाउने अन्य नेताहरु समेत त्रासमा बस्नुपर्ने खतरा बढेको बताएका छन् । अब रावलसहितका नेताहरु माधव नेतृत्वको एकीकृत समाजवादीमा जान्छन् या अगल्लै नयाँ पार्टी खोल्छन्, अहिले नै भन्न सकिने अवस्था छैन । तर भीम रावल सुदूरपश्चिममा प्रभावशाली नेता रहेकाले उनी पक्षधर एमालेहरु बाहिरिँदा पार्टीलाई केही धक्का भने अवश्य लाग्ने देखिएको छ ।