काठमाडौं । पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने यतिबेला प्रहरी हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविविरुद्ध सम्पत्ति सुद्धिकरण र संगठित अपराधको कसुरमा मुद्धासमेत दायर भइसकेको छ । यस्तोमा रास्वपा पङ्तिले भने रविको पक्राउ र मुद्धाको विषयमा सत्ता पक्षले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाइलरहेको छ । त्यस्तै अर्कोतर्फ रविको पक्राउ र अदालतमा दर्ता भएको मुद्धाकै विषयप्रति रास्वपा र अन्य प्रतिपक्षी दलहरुले सहकारी ठगी प्रकरणमै नाम जोडिएका सत्तारुढ दलहरुका नेताहरुमाथि भने कारवाही अघि नबढाइ उन्मुक्ति दिएको आरोप लगाउने गरेका छन् ।
नयाँ शक्तिहरुसामु रविको याचना
२ महिनाअघि देखि कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई विभिन्न दलका नेताहरुले भेट्नेक्रम जारी छ । एक साताअघि राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले रविलाई भेटेका थिए । त्यसअघि पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि पोखरा पुगेर रविलाई भेटेका थिए ।
उनीहरुले रविमा आत्मविश्वास उत्तिकै रहेको र शारीरीक तथा मानिसिक रुपमा पनि रवि स्वच्छ रहेको प्रतिकृया दिएका थिए । यतिमात्रै होइन, कमल थापाले त रवि निर्दोष रहेको समेत दावी गरे । त्यस्तै पूर्वप्रधानमन्त्री भट्टराईले पनि रविमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै सरकारमाथि नै प्रश्नसमेत उठाएका थिए ।
पछिल्लो समय रविविरुद्धको मुद्धा औपचारिक रुपमै अदालत प्रवेश गरेको र अब फैसला कस्तो आउँला ? भन्ने प्रश्नसँगै रविको राजनीतिक भविष्य कस्तो हुन्छ ? भन्ने विषयमा आम प्रश्नहरु पनि उठिरहेका छन् । यो अवस्थामा अन्य नयाँ र वैकल्पिक शक्ति बन्ने प्रयत्नमा रहेका दलका नेताहरुले पनि रविलाई तारान्तार भेट गरिरहेका छन् ।
गत बुधबार मात्रै विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डेले रविलाई भेटेको बुझिएको छ । भेटमा रविले राज्यबाट वैकल्पिक शक्तिको उदयलाई निश्तेज पार्न आफूमाथि षड्यन्त्र गर्न खोजिएको भाव व्यक्त गरेकोसमेत बताइएको छ । यहीबीच रविले नयाँ र वैकिल्पिक शक्तिहरुको सहयोग माग गरेको बताइन्छ ।
यदी हालको अवस्थालाई वैकल्पिक शक्तिहरु एक भएर चिर्न सके सबै नयाँ र वैकल्पिक शक्तिहरुको हित हुने रविको आशाय देखिन्छ । यस्तोमा रास्वपाले स्वतन्त्रबाट निर्वाचित काठमाडौं महानगरका मेयर बालेन शाहको साथ पनि खोजेको चर्चा चलिरहेका छन् ।
रास्वपाले बालेनको साथ खोजेको चर्चा
०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयर बालेन स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित भए । यो समय राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना नै भएको थिएन । बालेन स्वतन्त्र उम्मेदवारी दिएर भारी मतले विजयी भएपछि नै रवि रास्वपा गठन गर्ने मुड पुगेको बताइन्छ । यद्यपि दल स्थापना गरेपछि पनि रवि र बालेनबीच कुनै पनि समय राजनीतिक र सांगठानिक विषयमा छलफल भएको भने पाइँदैन । तर स्वतन्त्र र वैकल्पिक शक्ति भएकै कारण बालेन र रविबीचको सम्बन्ध सँधै चर्चाको शिखरमा रहने गर्दछ । हाल अदालती मुद्धाका कारण अफ्ठ्यारोमा रहेको बखत रास्वपाले बालेनको साथ पनि खोजेको दावी गरिएको छ ।
यो अवस्थामा रास्वपाका नेताहरुले विभिन्न सुत्रबाट रविको पक्षमा आवाज उठाइदिन बालेनलाई आग्रह गर्ने गरिएको पनि चर्चा भइरहेका छन् । यद्यपि बालेनले भने हालसम्म रविबारे कुनै खास अभिव्यक्ति दिएको पाइएको छैन ।
रवि–बालेन सम्बन्ध
रविले पुराना दलहरुको विकल्प बन्ने हेतुले रास्वपा गठन गरेका हुन् । त्यस्तै पुरानाहरुकै रजगजलाई चिरेरर बालेन पनि मुलुककै सबैभन्दा ठूलो महानगर काठमाडौंमा उदाए । तर पनि रवि बालेनको सम्बन्धमा सुमुधुरता भने देखिँदैन । यद्यपि रास्वपाले बेला बखत बालेनसँग सहकार्यको संकेत भने दिने गरेको । तर यसप्रति बोलेनले कुनै जवाफी संकेत दिने गरेका छैनन । रास्वपाले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग गरेर बालेनलाई प्रभावित गर्न खोजेको थियो । यद्यपि बालेनले कुनै संकेत गरेनन् । हुनत यसअघि काठमाडौंको सुकुम्बासी बस्ती हटाउनका लागि बालेनले तत्कालीन गृहमन्त्री रविसँग सहयोगको याचना गरेका थिए ।
साथै बालेनले गृहमन्त्री रविलाई नै पनि भेटे । तर रविले महानगरलाई उचित सहयोग नगरेको बताइन्छ । सुकुम्बासी बस्ती हटाउन केन्द्र सरकारकै सहयोग नपाएको निश्कर्ष निकालेका बालेनले नयाँ र पुराना दलहरु सबै चोर भएको भन्दै विवादित स्टाटस समेत लेखेका थिए । हाल नेतृत्व अफ्ठ्यारोमा रहँदा बालेनले रविको पक्षमा बोले केही राहत महसुश हुने रास्वपाले अपेक्षा राखेको छ । तर यो विषयमा बालेनले भने कुनै धारणा सार्वजनिक गरेका छैनन् । उता रवि भने वर्तमान मुद्धाबाट बच्न सके सबै वैकल्पित र नयाँ शक्तिहरुलाई थप बल मिल्ने तर्क गर्ने गरेको बताइन्छ ।