काठमाडौं । सरकारी अस्पतालमा विग्रिएर वर्षौदेखि गोदाममा थन्काइएका उपकरणहरु प्रयोगमा ल्याउन थालिएको छ । बिग्रिएर थन्किएका उपकरणहरु मर्मतको जिम्मा राष्ट्रिय आविश्कार केन्द्रलाई दिएपछि अहिले ती उपकरणहरु प्रयोगमा आउन थालेका हुन् । सामान्य रुपमा विग्रिएका उपकरणसमेत मर्मत नगरिँ थन्क्याउने गरिएको थियो ।
स्वास्थ्य उपचारका क्रममा चिकित्सकको जति महत्व हुन्छ रोग पहिचान तथा उपचारका लागि स्वास्थ्य उपकरणको त्यति नै महत्वपूर्ण भूमिका हुने गर्दछ । तर रोग पहिचान र निदानका लागि उपयोगी यस्ता उपकरण बिग्रिएपछि मर्मतमा ध्यान पुगेन ।
तर अहिले भने सरकारी अस्पतालका विग्रीएका उपकरण कतिपय मर्मत भएका छन् भने कति मर्मत हुने क्रममा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौ ५ गते सरकारी अस्पतालमा बिग्रिएर सबै उपकारण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको थियो ।
मन्त्रालय र आविष्कार केन्द्रबीचको सम्झौता बमोजिम विभिन्न २४ वटा सरकारी अस्पतालमा बिग्रिएका उपकरण मर्मत सम्भार भइरहेका छन् ।
केही अस्पतालले भने मन्त्रालयसँगको सम्झौताअघि नै मर्मत सम्भार गरी उपकरणहरु प्रयोगमा ल्याइएको बताएका छन् । शहीद गंगालाल हृदय रोग केन्द्रमा करिब आठ महिनाको अवधिमा ४ सय ३२ उपकरण मध्ये ३ सय ५२ वटा उपकरण प्रयोगमा आइसकेको छ । अन्य उपकरणहरु मर्मतको काम चलिरहेको छ ।
त्यस्तै, वीर अस्पतालमा बिग्रिएका २ सय ८४ वटा मध्ये १६ वटा उपकारणको प्रयोगमा ल्याइएको छ । कान्ति बाल अस्पतालको पहिलो चरणको मर्मत सकिएको तर रिपोर्ट बुझाउँन बाँकी रहेको केन्द्रले जनाएको छ ।
कतिपय उपकरणहरु अस्पतालले प्रयोग नै नगरी विग्रिएको केन्द्रले जनाएको छ । कतिपय कम्पनीले नै बन्दैन भनेर छाडिएको र कतिपय सामान्य बिग्रिएको मेशिनसमेत रहेको केन्द्रले जनाएको छ ।
केहि महिनाअघि स्वास्थ्य सेवा विभागले एसियाली विकास बैंक र लाइफलाइन इन्टरप्राइजेजको सहयोगमा देशभरका स्वास्थ्य उपकरणको अवस्थाबारे गरेको सर्वेक्षणमा जडान नगरेर र प्रयोग नगरेर २९ प्रतिशत थन्किएको सर्वेक्षणले देखाएको थियो ।
त्यस्तै, एक हजार ८ सय २३ वटा सामग्री मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिने भए पनि मर्मत अभावमा त्यसै मिल्काएका थिए ।
कतिपय अस्पतालमा उपकरण जडानका लागि स्थान अभाव तथा कतिपय जनशक्ति अभावका कारण प्रयोगमै नल्याएर विग्रिएका हुन् । सरकारी अस्पतालको लापरवाहीका कारण पनि करोडौं मूल्यका मेसिन यतिकै थन्काएका थिए ।
बेवारिसे बनाइएका यस्ता सरकारी उपकरणहरु एकै पटक मर्मत सम्भारका लागि सरकार सहमति गरेर प्रयोगमा आए पनि त्यसपछिका दिनमा भने अस्पताल प्रशासन स्वयम् गम्भीर बन्न जरुरी छ । करोडौंमा किनेर ल्याएका स्वास्थ्य उपकरणको हेरविचार र समय समयमा मर्मत सम्भारमा अस्पताल प्रशासनले नै ध्यान दिन आवश्यक छ ।