काठमाडौं । नेकपा एमाले विधि, विधान र पद्धती भन्दा पनि ओली राजमा चलिरहेको छ भन्ने आरोप पार्टीभित्रैबाट चर्चा हुने गर्छ । त्यसैको पछिल्लो उदाहरण हो, भीम रावल लगायतका नेता कार्यकर्तामाथिको डण्डा ।
पार्टीमा ओली भन्दा फरक बिचार राखेकै आधारमा रावल पार्टीबाट निश्कासित भएका छन् भने अन्य दुई नेतालाई ६ महिनाका लागि निलम्बन गरिएको छ । यसले जबजको खिल्ली उडाएको नेताहरुको आरोप छ ।
नेकपा एमालेले भन्छ–जनताको बहुदलीय जनवाद भित्र हरेक व्यक्तिको विचारको स्वतन्त्रता हुन्छ । पार्टीको विधानअनुसार नै पार्टी चल्नुपर्छ । तर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा पार्टीका हस्तीहरु पनि बाहिरिए । पार्टी नेतृत्वको गलत कदमको विरोध गर्ने नेताहरु बाहिरिएपछि एमाले अध्यक्ष ओली झनै पार्टीभित्र क्रुर बन्न थालेका छन् । त्यसैले ओलीले गरेको निर्णयको विरोध गर्ने नेताहरुमाथि कारबाहीको डण्डा चलाउन थालिएको छ ।
जसको उदाहरणको रुपमा विवादीत व्यवसायी मिनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन अबौंको जग्गा दान लिने निर्णयको बिरुद्धमा बोल्ने एमाले नेताहरुमाथिको कारबाही ।
एमालेको सधैं प्रतिपक्षी जस्तोदेखि सुदूरपश्चिमका हस्ती भिम रावलले ब्यवसायी गुरुङले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउने निर्णयको खुलेर विरोध गरे । एमाले स्थायी समिति सदस्य रहेकी डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले सामाजिक सञ्जालमै यस्तो निर्णयको विरोध गरेका थिए ।
यहि विरोधका कारण रावल पार्टीबाटै निकालिए भने पाण्डे र तिमल्सिना निलम्बनमा परेका छन् । २०३६ सालमा निर्दल र बहुदलको जनमत संग्रह हुँदा निर्वाचन बहिष्कार गर्ने तत्कालिन मालेको निर्णय कार्यकर्ताको विरोधका कारण उल्टिएको थियो । तर अहिले त्यस्तो पद्धति एमाले भित्र सुन्य रहेको भन्दै एमाले केपी ओलिको क्लब जस्तो देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
पार्टीको नेतृत्वमा आउनुअघि ओली स्वयम्ले पार्टीलाई बहुपदीय प्रणालीमा लैजान र लोकतान्त्रिक विधिबाट नेतृत्व चयन दबाब दिएका थिए । तर दशौं महाधिवेशनमा ओलिसँगै प्रतिष्पर्धा गरेकै कारण रावललाई पार्टीबाट किनारा लगाइएको छ ।
एमालेबाट निश्कासन गरिएका रावलले आफुलाई कार्वाही गर्ने निर्णय ओलीको सत्ताको उन्मादमा भएको बताएका छन् । एमालेमा ओलीसंग फरक मत राख्नेहरु पार्टी भित्र अट्न सक्ने अवस्था नै छैन । जसले गर्दा एमालेमा पार्टी अध्यक्ष भइसकेका माधवकुमार नेपाल, झलनाथ खनालहरु पनि एमाले छाडेर नयाँ पार्टी स्थापना गर्ने तहसम्म नै पुगे ।
१० बुँदे सम्झौतासंगै पार्टीमा फर्किएका घनश्याम भुषाल पनि एमालेमा अटाउन सकेनन् । अन्ततः पार्टीभित्रै रहेर संघर्ष गर्दै आएका भीम रावलहरु पाखा लगाइएका छन् ।
यसले एमालेमा टिक्न ओलीका एस म्यान बन्नुपर्ने चर्चा सतहमा आउन थालेका छन् ।