News 24 Television
विप्लव आउन चाहन्छन, प्रचण्डको आनाकानीः जनार्दन मख्ख

काठमाडौं । विभिन्न चिरामा विभक्त माओवादी घटक दलहरु फेरि एकतामा आउने विषयमा बहस गर्न थालेका छन् । तर, प्रचण्डले क्रान्तिबाट धोका दिएको भन्दै पार्टी फुटाएका विप्लवले ८ महिनाअघि नै पार्टी एकताको प्रस्ताव पारित गरेपनि माओवादी केन्द्रले चासो नदिएको गुनासो गरेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामपन्थीबीचको एकता आवश्यकता भन्दै आएका छन् । वामपन्थी एकता नेपालको आवश्यकता भन्ने प्रचण्ड एकताबारे विभिन्न टिप्पणी गरिरहन्छन् । 

प्रचण्डले यस्तो जिकिर गर्ने मात्रै गर्दैनन्, केहि समय पहिले मात्रै पनि उनले तीन वामपन्थी पार्टीसँग पार्टी एकताको विषय धेरै अघि बढेको दाबी गरेका थिए । 

यसरी वामपन्थी एकता भनिरहेका प्रचण्डले कुनैबेला नेकपा एमालेसँग पार्टी एकता गर्दै अध्यक्ष नै बनेका थिए । तर, शक्ति संघर्षका कारण त्यो लामो समय टिक्न सकेन् । यस्तोमा प्रचण्डले दाबी गर्ने गरेजस्तो स्थिति एकताका लागि तयार हुन लागेको हो ? भन्ने प्रश्नमा पार्टी एकताको प्रस्ताव नै पारित गरिसकेका विप्लव भने दिक्दारी पोखिरहेका छन् । 

विप्लवले पार्टी एकताका लागि माओवादी केन्द्र र नेतृत्वले पहल नगरेको सार्वजनिक गुनासो गरेपनि एकता किन हुन सकेन भन्ने विषय पनि उत्तिकै चर्चामा छ । यस्तोमा एकताको बाधक बन्ने गरेको आरोप खेपेका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एकताको बाधक भनेर आफुलाई चित्रित गर्न खोजिएपनि भ्रम चिरिएको दाबी गरेका छन् । 

यसरी पार्टी एकताका निम्ति हतारिएका विप्लवलाई किन माओवादी केन्द्रले भित्र्याउन चाहेको छैन भन्ने चासो र प्रश्न पनि उत्तिकै पेचिलो देखिन्छ । तर, प्रचण्डले एकताका निम्ति विप्लवसहित महिन्द्र राय यादवलाई समेत यसैगरि अल्झाइदिएका छन् । 

शक्ति आर्जन गर्न मोर्चा

सरकारको नेतृत्व गरिरहेको बेला शक्ति आर्जन गर्न प्रचण्डले समाजवादी मोर्चाको गठन गरे । समाजवादी मोर्चामा माओवादी केन्द्रसहित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, उपेन्द्र यादव नेतृत्वको जसपा लगायत थिए । तर, मोर्चा लामो समय जानै सकेन् ।

मोर्चा औपचारिक रुपमा जिवित भएपनि चलायमान छैन् । प्रचण्डले समाजवादी मोर्चालाई शक्ति देखाउन उपयोग गरेको आरोप पनि लाग्ने गरेको छ । तर, मोर्चाबाट उपेन्द्र यादव बाहिरिसकेका छन् । अहिले यो मोर्चा सक्रिय नभएपनि विप्लव भने एकता हुन नसके मोर्चा बनाएर भएपनि जानुपर्ने ठान्छन् । 

विप्लवले माओवादी नामका पार्टी फुटबाट अहिले २०\२१ पुग्ने स्थिति बनेको भन्दै अब एकतामा आउनुपर्ने र फेरि एकजुट भएर देशलाई निकास दिनुपर्नेमा जोड दिन थालेका छन् । माओवादी केन्द्रले यहि पुस २१ गते केन्द्रिय समिति बैठक डाकेको छ । यो बैठकले कस्तो निर्णय गर्छ त्यसपछि एकताको विषयमा थप प्रष्ट हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update