कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको पनि दुई वर्ष बितिसकेको छ तर अन्तर्राष्ट्रिय उडानको वातावरण निर्माणको गर्न दबाब दिनुको सट्टा रनवे होचो भएका कारण ठूला विमान पुरा लोड लिएर उड्न सक्दैन जस्ता भ्रम छरिएको थियो ।
यही भ्रमलाई चिर्दै चिनिया सिचुवान एयरलाइन्सले पुरा लोड लिएर पोखरा विमानस्थलबाट उडान भरेको छ ।
बिहिबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य निकै हेर्न लायक थियो । विमानस्थलको शुभारम्भ भए यता सधैँजसो बन्द रहने अन्तर्राष्ट्रिय उडानतर्फका आवागमन र प्रस्थान कक्ष यात्रुले भरिभराउ थियो ।
बिहान ९ः३० बजेतिर १२६ जना यात्रु लिएर चिनिया सिचुवान एयरलाइन्सको न्यारोबडी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । त्यस्तै सोही विमानले नै विमानको पूर्णक्षमता अर्थात् १ सय २६ जना यात्रु लिएर पोखराबाट उडान भ¥यो । त्यसो त सिचुवान एयरलाइन्सको यो उडान नियमित उडान भने होइन ।
पोखरामा सुरु हुन लागेको चिनियाँ ड्रागन बोट्रेस प्रतियोगिताका खेलाडीलाई लिएर पोखरा आएको चार्टर विमानले पोखराका पत्रकार, पर्यटन व्यवसायी लगायतका टोलीलाई लिएर काठमाडौँ फर्किएको हो । पूर्णक्षमताका यात्रु लिएर पोखराबाट काठमाडौँ उडान बन्नुको प्रमुख उद्देश्य थियो पोखरा विमानस्थलबारे छरिएको भ्रमलाई गलत साबित गर्नु ।
विमानस्थल सञ्चालन भएयता केही मानिस र समूहले विमानस्थलको रनवे गहिरो भएको र जसका कारण न्यारोबडी विमानले पूर्णक्षमताको यात्रु लिएर उडान भर्न नसक्ने भन्दै हल्ला फिजाइएको थियो । तर अहिले सिचुवान एयरलाइन्सले भरेको सफल उडानले पोखरा विमानस्थलबारे छरिएको भ्रमलाई गलत साबित गरेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हरेक हिसाबले उत्कृष्ट रहेको सन्देश दिएको पर्यटन व्यवसायीहरूको बुझाइ छ ।
परीक्षण उडानको नेतृत्व गरेका थिए गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालले । यो सफल उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गराउन राज्यका माथिल्ला निकायहरूलाई दबाब सिर्जना गरेको गण्डकी मन्त्री मित्रलाल बस्यालको तर्क छ ।
सिचुवान एयरलाइन्सको पोखरा–काठमाडौँको पूर्ण लोड क्षमताको परीक्षण उडानपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा कुनै पनि त्रुटि नभएको बताए ।
विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकार सँगसँगै व्यवसायीहरूले पनि हातेमालो गर्दै अगाडि बढ्नुपर्ने अधिकारीको जोड थियो ।
छिटपुट मात्रामा चार्टर्ड विमान पोखरा आए पनि अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले पोखराबाट औपचारिक अन्तर्राष्ट्रिय उडान भरेका छैनन् । तर आगामी मार्च महिनादेखि हिमालय एयरलाइन्सले पोखराबाट चीनको लासासम्म नियमित उडान भर्ने घोषणा गरिसकेको छ ।
बढीमा ७ घण्टा उडान भर्ने न्यारोबडी विमानका लागि भनेर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छिमेकी राष्ट्र, दक्षिण एसियाली मुलुक र नजिकै रहेका विश्वका ठूला बजारहरूसम्म नियमित उडान गर्न सक्ने हो भने पोखराको पर्यटन र समग्र गण्डकीको आर्थिक विकासमा निकै ठूलो टेवा पुग्ने विश्वास गरिन्छ ।