News 24 Television
हात्ती महोत्सवले सौराहा गुल्जार, विदेशी पर्यटक भने न्यून 

चितवन । मुलुककै चर्चित पर्यटकीय स्थल चितवनको सौराहामा पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । सांस्कृतिक तथा पर्यावरणीय महत्व बोकेको सौराहामा १८ औँँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएदेखि सौराहाका होटलहरु भरिभराउ छन् । 

महोत्सवमा स्वदेशी पर्यटकहरुको सहभागिता रहेपनि विदेशी पर्यटकहरुको उपस्थिति भने न्यून छ । सुगम पर्यटनका हिसाबले चितवनको सौराह चर्चित गन्तव्य हो । अहिले सौराहामा १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको चलिरहेको छ । 

पुष ११ गतेदेखी ५ गतेसम्म आयोजित महोत्सवको महोत्सवमा आन्तरिकसँगै बाह्य पर्यटकको समेत उपस्थिति हुने गरेकोमा यो पटक विदेशी पर्यटकको उपस्थिति भने न्युन देखिएको स्थानीयहरुको भनाई छ ।

उसोतः सौराहामा जारी हात्ती महोत्सवको अवलोकन गर्न आइपुगेका केही विदेशी पर्यटकहरु महोत्सवले रमाइरहेका छन् । 

अमेरिका, ब्राजिल, नेदलरल्याण्ड, इंग्याल्ड लगाएत देशबाट नेपाल घुम्न आएका बाह्य पर्यटकहरु पहिलो पटक यति रमाइलो दृश्यको अवलोकन गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।   

यता, आयोजक संस्था होटल संघ नेपाल, चितवन भने यो महोत्सव विदेशी पर्यटकको लागि भन्दा पनि आन्तरिक पर्यटकलाई नै केन्द्रित गरेर आयोजना गरिएको दाबी गर्छ । गत बर्षहरुमा  विदेशी पर्यटकलाई लक्षित गरेर हात्ती महोत्सव आयोजना गरिदैं आएपनि यो बर्ष नितान्त आन्तरिक पर्यटक भित्र्याउने उदेश्य रहेको क्षेत्रिय होटल संघ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरे बताउँछन् । 

विभिन्न जातजाति र सांस्कृतिको धनी सौराहामा वर्षेनी हजारौँको संख्यामा आन्तरिक तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । विश्वकै चर्चित चितवन राष्ट्रिय निकुञ्जमा बाघ, हात्ती र अन्य जंगली जनावर अवलोकनका लागी विशेष गरी पर्यटकहरु सौराहा आउने गरेका छन् । आन्तरिक तथा विदेशी पर्यटन प्र्रबद्धन गर्ने उद्देश्य सहित सौराहाका होटल व्यवसायीहरुले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update